ad ad

समाज


रुपन्देहीको मोतीपुरमा तनाव : प्रहरीसँगको झडपमा गोली लागेका तीनजनाको मृत्यु

रुपन्देहीको मोतीपुरमा तनाव : प्रहरीसँगको झडपमा गोली लागेका तीनजनाको मृत्यु

सुदीप भण्डारी
असोज २४, २०७८ आइतबार १९:८, काठमाडौँ

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार दिउँसो भएको झडपमा तीनजनाको मृत्यु भएको छ। मृतकहरुको नाम, ठेगाना भने खुलिसकेको छैन।

भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणमध्ये तीनजनाको ज्यान गएको रुपन्देहीस्थित एकजना सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। 

सुकुम्बासीका नाममा सरकारी जग्गा कब्जा गरी बसेकाहरु र प्रहरीबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गएको हो। 

अस्तपालमा उपचार गर्न आएका १३ जनामध्ये ३ जनाको मृत्यु भएको अस्पतालले स्रोतले बताएको छ। 

उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाइसकेको छ। मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयमा प्रहरी र सर्वसाधारणबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यु लगाएको हो।

स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूहसँगको झडपका क्रममा प्रहरीले गोली चलाएको थियो।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। गोली लागेर कम्तीमा ५ जना घाइते भएको स्थानीयले बताएका थिए।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाव भएको हो।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा झडप सुरु भएको थियो। बुटवल उपमहानगरपालिका-१७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि टहरा भत्काउँदै आएको थियो। अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। उक्त जग्गामा औद्योगिक क्षेत्र शिलान्यास गर्दा पनि तनाव भएको थियो। ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .