ad ad

समाज


दसैँमा घर जानेको बुटवल बसपार्कमा चहलपहल (फोटो)

दसैँमा घर जानेको बुटवल बसपार्कमा चहलपहल  (फोटो)

सुदीप भण्डारी
असोज २६, २०७८ मंगलबार १५:२५, काठमाडौँ

बडादसैँको फूलपातीका दिन बुटवलबाट दसैँ मान्न पहाडी जिल्लामा जानेहरुको घुइँचो लागेको छ। केही दिन अघिदेखि बुटवलको लुम्बिनी बस टर्मिनलमा चहलपहल देखिएको थियो। फूलपातिको दिन विहान भिड अझ बढ्यो। 

अध्ययन, जागिर र व्यवसायका लागि बाहिरी जिल्लाका मानिसहरु बुटवलमा रहेका छन्। गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बाग्लुङ, प्युठान लगायतका जिल्लाका मानिसहरु अस्थायी रुपमा बुटवलमा बसोबास गर्दछन्। 

दसैँ मान्न घर जानको लागि बसपार्कका टिकट काउन्टरमा भिड लागेको छ। बसका छतमा सामान खाँदिएका छन्। सिट नपाएर कतिपय गाडीमा उभिएर पनि मान्छे यात्रा गरेका छन्।

बस व्यवसायी संस्थाहरुले दसैँको बेलामा नियमित भन्दा अतिरिक्त गाडीहरु थप गरेका छन्। बुटवलबाट तम्घास रुटमा सामान्य समयमा पश्चिम नेपाल बस व्यवसायी प्रालिबाट दैनिक ४५ गाडी जाने गर्दथे। तर सोमबार र मंगलबार १५ देखि २० वटा गाडी थप गरेर पठाइएको प्रालीका गुल्मी रुट संयोजक केयरसिंह रानाले बताए। त्यसै गरी अन्य रुटहरुमा पनि अतिरिक्त गाडी थप गरिएको छ। 

बुटवलको बसपार्कमा गतवर्षको तुलामा यो दसैँमा चहलपहल बढेको छ। तर त्यस भन्दा अघिल्लो वर्ष जस्तो भिडभाड भने नभएको पश्चिम नेपाल बस व्यवसायी प्रालीका सञ्चालक सदस्य चेतनारायण बेलबासेले बताए।  ‘गत वर्ष त बसपार्कको माहोल हेर्दा दसैँ आएको जस्तो लागेकै थिएन। कोभिडका कारण मान्छेहरु यात्रा गर्न खोेजेका थिएनन्’ उनले भने, ‘तर दुई तीन वर्ष अघिको जस्तो भिडभाड चाँही छैन।’ 

अहिले पनि कोभिडको केही प्रभाव रहेको र धेरै जनासँग निजी सवारी साधन भएकाले भिड कम भएको हुन सक्ने बेलबासेले बताए। 

यात्रुको साहयताको लागि बुटवल बसपार्कमा यात्रु सहायता कक्ष राखिएको छ। सहायता कक्ष मार्फत यात्रुबाट बढी भाडा लिइएको, सिट नपाएको, चोरी भएको, सामान हराएका गुनासा सुनुवाइ गर्ने गरेको सहायता कक्षमा रहेका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले बताए। खनालले पनि दुई तीन वर्ष अघि दसैँमा बसपार्कमा थामी नसक्नुको भिड भएपनि अहिले त्यस्तो नभएको बताए। 

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा सार्वजनिक सवारीसँगै निजी सवारी साधनको पनि दसैँको बेलामा बाक्लो लस्कर छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले राजमार्गमा साना निजी सवारी साधनको संख्या धेरै नै रहेको बताए। 

‘सिट फूल भएर सार्वजनिक गाडीहरु गुडेका छन्। निजी सवारी साधनमा गत वर्ष बढी मोटरसाइकल हुन्थे’ उनले भने ‘अहिले कार भ्यानको संख्या पनि धेरै नै देखिन्छ।’ 

कार हुनेहरु आफ्नै कारमा यात्रा गरेका छन्। त्यस्तै साथमा गाडी नभएका उच्च तथा मध्यम वर्गका परिवारले पनि सानो गाडी रिजर्व गरेर गाउँ गएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .