नेपाली पर्वतारोही निर्मल पुर्जाले ७ महिनामा १४ ओटा हिमाल आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन्।
पूर्व बेलायती जलसेना समेत रहेका पुर्जाले सोमबार चीनको शिशिपाङ्मा हिमालको सफल आरोहण सम्पन्न गरेपछि रेकर्ड बनेको हो।
सन् २००३ मा बेलायती सेनामा भर्ती भएका निर्मल पुर्जाले जलसेनामा आबद्ध भएर काम गरेका थिए।
संसारभर आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मात्रै छन्, जुन पुर्जाले १८९ दिनमै आरोहण गरेका हुन्।
म्याग्दीका ३५ वर्षीय निर्मल पुर्जाले २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर अप्रिलबाट हिमाल आरोहण अभियान थालेका थिए।

पुर्जाले अप्रिल २३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण, मे १२ मा ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी, मे १५ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा आरोहण गरेका थिए।
उनले मे २२ मा ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै मे २४ मा ८ हजार ४ सय ८१ मिटरको मकालु हिमाल, ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु सेप्टेम्बर २७ मा आरोहण गरेका थिए।
सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार गरेका थिए।

पुर्जाले पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु जुलाई २४, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत जुलाई ३, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक जुलाई २६, ८ हजार १० मिटर अग्लो जी वान जुलाई १५ र ८ हजार ३५ मिटर अग्लो जी टु जुलाई १८ मा आरोहण गरेका थिए।
तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु सेप्टेम्बर २३ मा चढेका थिए। तर तिब्बतमा रहेको अर्को शीशापाङ्मा हिमाल चढ्न चीन सरकारले अनुमति नदिँदा रोकिएको थियो। नेपाल सरकारले चीन सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए। उनले ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग अक्टोबर २९ मा सफल आरोहण गरेका छन्।
यसअघि पोल्यान्डका पर्वतारोही जर्जी कुकुजाले सन् १९८७ मा १४ हिमाल ८ वर्ष लगाएर आरोहण गरेका थिए।

प्रतिक्रिया