समाज


छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय-खाय’

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय-खाय’

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ४:०,

आस्थाको महापर्व छठअन्तर्गत आज (बिहीबार) पहिलो दिन नहाय-खाय विधि गरिँदै छ। चार दिनसम्म मनाइने छठअन्तर्गत पहिलो दिन यो (नहाय–खाय) विधि गरिन्छ।

आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ। व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।

यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन्। यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ। गम्हरीलाई साठी पनि भनिन्छ।

छठ पर्वमा ६० प्रकारका वस्तु चाहिने भनिन्छ, त्यसमा केही कम भए गम्हरी कुटेर राखिएमा त्यसको पूर्ति भइहाल्ने लोकविश्वास छ। चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ।

आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवका रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याका रूपमा लिइन्छ। चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास छ।

छठ पर्वको पूजन एवं तयारी क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने मानिएको छ।

छठ पर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो। सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ। झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो।

देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र, पत्नीहीनलाई पत्नी, धनहीनलाई धन प्रदान तथा कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ। यसै कारण यो पर्व साझा समानताका पर्वका रूपमा लोककरण भएको पाइन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad