महोत्तरीमा एउटा परिवारैलाई घाइते बनाएर लुटपाट गरी फरार समूहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको ४ महिनापछि प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्वास निवासी कारी भनिने विश्वनाथ पासवानलाई पक्राउ गरको हो।
उनलाई बुधबार अपराह्न ४ बजे महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुरबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।
गत असार ३ गते मध्यराति महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजारमा ५७ वर्षीय वीरेन्द्र साहले घरमै सञ्चालन गरेको राजीव ज्वेलर्स सुनचाँदी पसलमा लुटपाट गरिएको थियो।
९/१० जनाको संख्यामा आएका हतियारधारी डाँकाहरूले घरको पछाडीबाट पर्खाल नाघी भित्र पसेर वीरेन्द्र साहका श्रीमती सुशीला देवी, उनको छोराहरू शम्भु साह, राजीव साह र छोरी कञ्चन कुमारीलाई रडसमेतले हानेर घाइते बनाएका थिए।
कटुवा पेस्तोलले वीरेन्द्र साहको ढाडमा गोली हानी नगदसहित सुनचाँदी अनुमानित ८ लाख ९७ हजार २ सय मूल्य बराबरका धनमाल लुटपाट गरिएको थियो।
पक्राउ गरिएका पासवान अन्य आधा दर्जनभन्दा बढी डकैती घटनामा संलग्न रहेको प्रमाणसमेत फेला परेको जिल्ला प्रहरी कर्यालय (महोत्तरी) ले जनाएको छ।
Shares
प्रतिक्रिया