समाज


नेपाल भित्रियो मनसुन, यस वर्ष कहाँ-कति पर्छ पानी?

नेपाल भित्रियो मनसुन, यस वर्ष कहाँ-कति पर्छ पानी?

नेपालखबर
असार ६, २०७६ शुक्रबार ३:१२,

वर्षा गराउने मौसमी प्रणाली मनसुन नेपाल भित्रिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार असार ५ अर्थात् जुन २० तारिखका दिन (बिहीबार) पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको हो।

यो क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा छ र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार नेपालमा मनसुन सामान्यतया जुन १० तारिखमा भित्रिने गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो गरी प्रवेश गरेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ।

आकलनअनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र प्रदेश ५ को केहि पश्चिमी भूभागहरूमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकी गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको औसत वर्षालाई बुझिन्छ।

सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमश: न्यून वा अधिक वर्षा भएको मानिने मौसमविद् बताउँछन्।

हेराैँ तलकाे चित्रमा:

download 1 1

स्राेत: माैसम पूर्वानुमान महाशाखा

यस्तो छ आजको मौसम
मौसमविद् गंगा नगरेकोटीका अनुसार अहिले पूर्वी क्षेत्रका पूरै भूभागमा मौसम बदली भएको छ भने मध्य र पश्चिमका धेरैजसो स्थानमा मौसम सफा छ, केही स्थानमा मात्र आंशिक बदली छ।
अपराह्नपछि देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने अनुमान रहेको मौसमविद् नगरकोटीले बताइन्।

‘मध्य र पूर्वका केही स्थान र पश्चिमका थोरै स्थानमा वर्षा हुने सम्भावना छ,’ नेपालखबरसँग कुरा गर्दै नगरकोटीले भनिन्, ‘काठमाडौंमा पनि साँझपख वर्षा हुने संकेत देखिएको छ।’

उनका अनुसार पूर्वमा भएको बदली मनसुनका कारण हो भने मध्य र पश्चिम क्षेत्रमा भएको बदली पश्चिमी वायुको प्रभाव हो।

पूर्वबाट मनसुन क्रमशः सर्दै देशभर फैलिन सामान्यतया एक हप्ता लाग्छ। ‘तर ८/१० दिन पनि लाग्न सक्छ,’ मौसमविद् नगरकोटीले भनिन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad