कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएका नौ जनाको पुत्ला बनाएर दाहसंस्कार गरिएको हो।
कर्णाली नदीमा बेपत्ता खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ११ जना बेपत्ता भएका थिए।
बेपत्ता नौ जनाका आफन्तले बिहीबार पुत्ला बनाएर दाहसंस्कार गरेका हुन्।
गत मंगलबार खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ बेपत्ता भएका थिए।
बुधबारदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि शव नभेटिएपछि हिन्दू धर्मअनुसार आफन्तले बेपत्ता भएका नौ जनाको छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन्।
बेपत्ता जिप र शवको खोजीकार्यमा कुनै प्रगति नभएपछि बिहीबार स्थानीयवासीको मागअनुसार नौ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए।
अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष शाहीको पुत्लामा उनका पति धीरेन्द्र शाही र छोराले दागबत्ती दिएका छन्।
आफन्त र स्थानीयवासीको उपस्थितिमा भएको अन्त्यस्टि कार्यक्रममा अध्यक्ष रावलले राष्ट्रिय झण्डा ओडाएर उपाध्यक्ष शाहीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
काङ्ग्रेसका जिल्ला सचिव महनविक्रम सिंहले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए।
जिप दुर्घटनामा बेपत्ता भएका काठमाडौँका राजु श्रेष्ठ र अर्का एक जना नाम नखुलेका कुकको काम गर्ने व्यक्तिको भने दाहसंस्कार गरिएको छैन।

प्रतिक्रिया