समाज


सिरहामा छुरा प्रहार गरी युवकको हत्या अभियोगमा ५ जना पक्राउ

सिरहामा छुरा प्रहार गरी युवकको हत्या अभियोगमा ५ जना पक्राउ

युवक हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका युवकहरु


शैलेन्द्र महतो
पुस ७, २०७८ बुधबार १५:२, जनकपुरधाम

सिरहाको गोलबजारमा रामकुमार सदाको छुरा प्रहार गरी हत्या गर्ने समूहका ५ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका वडा  नं. ६ बस्ने वर्ष १९ का श्रवण कुमार मण्डल, वर्ष २० का कालु भन्ने रोहन विश्वकर्मा वर्ष १८ का सौकात खान, वर्ष  १९ का धर्मेन्द्र यादव र २ का २२ वर्षीय भवन प्रसाद महतो छन्। 

उनीहरुलाई घटनाको चारदिनपछि पक्रउ गरेर सिरहा प्रहरीले बुधबार सार्वजनिक गरेको हो। 

गएको  ​शनिबार साँझ छुरा प्रहारबाट  गोलबजार नगरपालिका ६ हटियाका २६ वर्षीय राम कुमार सदाको मृत्यु भएको थियो भने स्थानीय २६ वर्षीय रिकेश सदा गम्भीर घाइते छन्। 

सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार शनिबार राति ८ : २५ बजेको समयमा गोलबजार नगरपालिका वडा नं. ६ स्थित लक्ष्मी मन्दिरदेखि पश्चिम जाने सार्वजनिक बाटोमा हल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेका रामकुमार सदासहितको समूहलाई दीपक साहसहितको समूहले हल्ला नगर्नु भनेपछि दुवै पक्षबीच विवाद भएको थियो। 

झगडा हुँदा दीपक साह लगायतको समुहले छुरा प्रहार गर्दा राम कुमार सदा र रिकेश सदा गम्भीर घाइते भएका थिए। 

उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढी पुर्‍याएपछि रामकुमारको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी बुढाथोकीले बताए। त्यही अस्पतालमा घाइते रिकेशको उपचार भइरहेको छ। 

घटनापछि फरार उनीहरुलाई प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद गरी थप अनुसन्धान गरिरहेको र अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको डिएसपी बुढाथोकबीले बताए। 

घटनाविरुद्ध आइतबार र सोमबार हटियाका स्थानीय बासिन्दाले गोलबजारमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए। त्यस क्रममा ९ जना प्रहरीसहित १० जना घाइते भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .