ad ad

समाज


सांसदका छोराको सवारी ज्यान मुद्दा : जिल्लाले भनेको ‘मापसे दुर्घटना’लाई उच्चले टायर पड्किएको बनायो

सांसदका छोराको सवारी ज्यान मुद्दा : जिल्लाले भनेको ‘मापसे दुर्घटना’लाई उच्चले टायर पड्किएको बनायो

सवारी ज्यान मुद्दामा पक्राउ परेका रोविन कार्की। तस्बिर : नेपाल प्रहरी


कृष्ण बहाब
पुस २२, २०७८ बिहिबार १९:२४, इटहरी

यो घटना २०७८ जेठ २० गतेको हो। प्रदेश १ की सदस्य बिन्दिया कार्कीको नाममा रहेको कारले ठक्कर दिएर विराटनगरको एयरपोर्ट मोडमा एकजनाको ज्यान गयो। 

विराटनगर विमानस्थल मोडमा कार्कीका छोरा रोविन भनिने रविनजंग कार्कीले हाँकेको कारको ठक्करबाट मुकेश दास नामका व्यक्तिको मृत्यु भएको थियो। यो घटनामा भने अर्का एक जना घाइते भएका थिए। 

कार्कीले मादक पदार्थ पिएर गाडी चलाउँदा भएको घटनामा दासको ज्यान गएको प्रहरीको अनुसन्धान थियो। 

विराटनगर-५ मा रहेको एड्मायार क्याफेमा बियर पिएका कार्कीले एयरपोर्ट मोडमा पुगेर दासलाई ठक्कर दिएको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको थियो।

ठक्कर दिनेबित्तिकै रविन भागेका कारण उनको स्वास्थ्य परीक्षण प्रहरीले गर्न पाएन। दुर्घटनाको ३ दिनपछि मात्रै रविन प्रहरीसमक्ष आत्मसमर्पण गर्न आएका थिए।  

तीन दिनपछि मापासे गरे नगरेको थाहा नपाउने हुनाले उनको स्वास्थ्य परीक्षण भएको थिएन।  तर, कारमा रविनसँगै रहेका अन्य व्यक्तिसँग प्रहरीले गरेको अनुसन्धानको आधारमा रक्सी पिएको प्रतिवेदनसहित जिल्ला अदालतमा मुद्दा दायर भयो।

एड्मायर क्याफेका सञ्चालक पङ्कज शाहले सरकारी वकिल कार्यालयमा दिएको बयानअनुसार क्याफेमा आएका ५ जनाको टोलीले १६ वटा मुस्ताङ बियर पिएका थिए। 

जिल्ला अदालतमा कार्कीले आफूले बियर नपिएको बताए पनि गाडीमा भएका अन्यले भने बियरबारे स्वीकारेका थिए।

२०७८ साल जेठ २० गते दुर्घटनाको मुद्दा २०७८ असार १५ गते जिल्ला अदालत दर्ता भएको थियो। 

दर्ता भएको भोलिपल्टै अर्थात् असार १६ गते जिल्ला अदालतले कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दियो। 
 
पुर्पक्षमा पठाएको तीन महिनापछि असोज १३ गते जिल्लाले आफ्नो फैसला सुनायो। सवारी ऐन २०४९ को दफा १६१(२) बमोजिम मादक पदार्थ पिएर सवारी चलाई ज्यान लिएको भन्दै ३ वर्ष कैद र ३५ हजार क्षतिपूर्तिको फैसला सुनायो।

दफा १६१(२) अनुसारको न्यूनतम सजाय मात्रै जिल्ला अदालतले निर्धारण गरेको थियो। सामाजिक अभियन्ता रहेको बताउँदै जिल्ला अदालतले कार्कीलाई ऐनले तोकेको न्यूनतम सजाय मात्रै तोकेको थियो।

उच्चले बियर पिएको दुर्घटनालाई टायर पञ्चर भनेर कैद सजाय घटायो। फैसलाको पूर्णपाठमा मादक पदार्थ पिएको जिल्ला अदालत मोरङले ठहर गरेको थियो। 

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मादक पदार्थ पिएर सवारी चलाएको देखिएकाले तीन वर्ष कैद र ३५ हजार हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

फैसलाको बुँदा नम्बर ४५ मा भनिएको छ ‘तथ्य तथा प्रमाणहरूबाट प्रतिवादी रविनसिंह कार्कीले मादक पदार्थ सेवन गरी तीव्र गतिमा कार चलाएको कारण उक्त कार अनियन्त्रित भई सडक किनारमा हिँडिरहेका मुकेश शर्मा दास र राजकुमार राजवंशीलाई ठक्कर दिई दुर्घटना हुँदा त्यही चोट पिरबाट मुकेश शर्मा दासको मृत्यु भएको र अर्का रामकुमार राजवंशीको बायाँ हातको कुम भाँचिई अङ्गभङ्ग भएको भन्ने निर्विवाद रूपमा पुष्टि हुन आएकाले अभियोग मागदावी बमोजिम निज प्रतिवादी रविनसिंह कार्कीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा २ र सोही ऐनको १६२ को उपदफा १ बमोजिम कसुर गरेको ठहर्छ।’

मादक पदार्थ सेवन गरेर दुर्घटना गराउँदा समेत 'लोयल' न्यूनतम सजाय तोकेको जिल्ला अदालतको फैसलाविरुद्ध कार्की पक्षले पुनरावेदन गर्‍यो। टायर पड्किएर दुर्घटना भएको पुष्टि गर्न कार्की पक्षले उच्च अदालत विराटनगरमा २०७८ कात्तिक २२ मा पुनरावेदन गरेको थियो।

कार्की पक्षले गरेको पुनरावेदनलाई उच्चले सहजै स्वीकार गर्‍यो। जिल्लाले मादक पदार्थ सेवन गरेर दुर्घटनाको गरेको विषयलाई उच्च अदालतले भने टायर पड्किएर दुर्घटना भएको फैसला गर्‍यो।

खासमा टायर पड्किएर भएको दुर्घटना भएको पुष्टि गर्न सके सवारी ऐनको दफा १६१ उपदफा ३ प्रयोग गर्नु पर्छ। अर्थात् कुनै लापरबाही नभई नै सवारी चलाउँदा ज्यान गएमा अधिकतम १ वर्ष सजाय हुने प्रावधान उपदफा ३ मा छ।

त्यसैलाई टेक्दै उच्च अदालतका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र जगतनारायण प्रधानको इजलासले टायर पड्किएर दुर्घटना भएको भन्दै जिल्लाको फैसलालाई आंशिक उल्टी गरिदिएको हो। 

जिल्लाले फैसला गरेको तीन महिनापछि २० पुस २०७८ मा जिल्लाको ३ वर्षे कैदको फैसलालाई ‘केही उल्ट्याउँदै’ ६ महिना १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुने उच्चले फैसला सुनाएको हो।

अधिकारी र प्रधानको इजलासले फैसलाको राय किताबमा लेखेका छन् ‘यसमा मादक पदार्थ सेवन गरेकोमा इन्कार रही प्रतिवादीले अनुसन्धान अधिकारी एवं अदालतमा गरेको बयान, मौकाका मानिसहरूले गरेको बकपत्र, टायर पड्किन गएकाले घट्न गएको वारदातको प्रकृति समेतका आधारमा प्रतिवादीले अभियोग दाबी बमोजिमको कसुर गरेको नभई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६१(३) बमोजिमको कसुर गरेको देखिदा निजलाई दाबी बमोजिम मिति २०७८-६-१३ मा कसुर कायम गरी मिति २०७८-६-१९ मा सजाय निर्धारण गरी सुरु मोरङ जिल्लाबाट भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई निज प्रतिवादी रविनसिंह कार्कीलाई ऐनको दफा १६१(३) बमोजिम ६ महिना १५ दिन कैद र दुई हजार जरिवाना हुने ठहर्छ।’

हिरासत कम, अस्पतालमै कटाए कैद सजाय!

जिल्ला अदालतले ३ वर्ष सजाय तोकेकोमा उच्चले कार्कीको सजाय छ महिना १५ दिन मात्र बनायो। सजाय घटेपछि कार्कीले कैद बस्नु पर्ने समय ६ महिना १५ दिन थियो। 
तर, कार्कीले त्यो समय पनि कारागारमा बिताएनन्। उनले कारागारको नाममा अधिकांश समय अस्पतालमा कटाएका थिए।

दोषी ठहर भएका कार्की कैद भुक्तानको अधिकांश समय नोबेल मेडिकल कलेजको सेमी डिलक्स रुममै बसेका थिए। जिल्ला अदालत मोरङको फैसला आउनुभन्दा एक महिनाअघि नोबेल मेडिकल कलेजको सेमी डिलक्स रुममा बसेका कार्की उच्चको फैसला आउँदा पनि अस्पतालबाटै मङ्गलबारको फैसलापछि रिहा भएका हुन्।

असार २६ गते जिल्लाको आदेशपछि पुर्पक्षको लागि कारागार चलान भएका कार्की भदौ २९ गतेदेखि नोबेलमा भर्ना भएका थिए। भदौ २८ गते छाती दुख्ने समस्या भएको निवेदन दिएपछि उनी फेरि कारागार फर्किनुपरेन।

पहुँचका भरमा चार महिना नोबेल मेडिकल कलेजमा बिताएका कार्कीको सुरक्षाका लागि तीन सिफ्ट मिलाएर तीनजना सुरक्षाकर्मी खटिएका थिए। 

भदौ २९ गते नोबेल मेडिकल कलेज भर्ना भएका कार्कीलाई कारागारले एक पटक ताकेता गरे पनि उच्च पहुँच भएकै कारण उनी अस्पतालको सेमी डिलक्स रुममा बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .