समाज


पशुपतिको धर्मशालामा एउटै कोठाको भाडा प्रतिदिन ११ हजार!

पशुपतिको धर्मशालामा एउटै कोठाको भाडा प्रतिदिन ११ हजार!

फाइल तस्बिर


नेपालखबर
माघ २, २०७८ आइतबार १२:५१, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत सरकारद्वारा निर्मित पशुपति धर्मशालाको अवस्था बुझ्न तिलगंगा पुगेका छन्। 

मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पुगेका उनले त्यहाँ भित्र निर्मित पूर्वाधार र कोठाहरूको पनि निरीक्षण गरेका छन्। 

पशुपति क्षेत्रभित्र बतास समूहले भाडामा लिएर उक्त धर्मशालालाई होटलका रुपमा प्रयोग गरिरहेको छ। 

'हामी आज यहाँ धर्मशाला अवलोकनमा आएका छौँ। यसलाई भाडामा दिएको छानबिनका लागि बनाइएको समितिको म्याद भोलि सात दिन पूरा हुन्छ', उनले भने, 'उक्त प्रतिवेदनमा यहाँ भएका सबै कुरा हरु छर्लंग हुने गरी ल्याउनेछौँ।'

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन दिइसकेपछि कारबाही अघि बढाउने पनि उनले बताएका छन्। 

'भारतले बनाइदिएको धर्मशाला त फाइभ स्टार होटल होइन, सेभेनस्टार होटलकै रुपमा रहेछ', उनले भने, 'हामी धर्मशाला बेच्नेलाई कारबाही गर्छौँ। कसरी टेण्डर गरिएको छ? साँठगाँठ भएको छ? घम जस्तै छर्लङ्ग हुने गरी ल्याउँछौँ।'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओली दुवैले संयुक्त उद्घाटन गरेको यो धर्मशाला निर्माणमा भारतले २५ करोड भारु लगानी गरेको थियो। 

'यो त धार्मिक पर्यटकीयस्थल पनि हो। सस्तो सुलभ मूल्यमा भक्तजनले बस्न पाउनुपर्ने भनेर बनाएको हो', आलेले भने, 'तर यहाँ त ५५ सयको पनि कोठा देखे। एउटा कोठामा दुई बेड राख्दा त प्रतिदिन भाडा नै ११ हजार लिँदा रहेछन्।'

धर्मशाला पनि होटल जस्तो बनाइएको भन्दै यसमा संलग्न कसैलाई नछाड्ने पनि आलेले चेतावनी दिए। 

'धर्मशाला हुनुपर्नेमा सेभेनस्टार होटल जस्तो रहेछ। प्रतिवेदन आएपछि कारबाही अघि बढ्छ', उनले, 'बाहिरको निजी कम्पनीलाई भाडामा दिइएको रहेछ। बाहिरका मान्छेलाई पनि बिजनेसका लागि दिइरहेको छ। हामीलाई पनि सबै कोठा देखाएनन्। तर यहाँ ठीक भएको देखिनँ मैले।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad