ad ad

समाज


लकडाउनमा आत्तिएका नेपाली कोरोना फैलिएसँगै भारतबाट फर्किन थाले

लकडाउनमा आत्तिएका नेपाली कोरोना फैलिएसँगै भारतबाट फर्किन थाले

गोकुल जोशी
माघ २, २०७८ आइतबार १५:३०, काठमाडौँ

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि नेपालको पश्चिमी सिमानाकाबाट स्वदेश फर्किनेको लर्को लाग्न थालेको छ।

भारतमा कोरोना भाइरसको तेस्रो लहर तीब्र बन्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका हुन्।

भारतमा कोरोना संक्रमण फेरि तीब्र बनेपछि लकडाउन भएर बिचल्लीमा परिने हो कि भन्ने त्रासले आफूहरु फर्किन बाध्य भएको दार्चुलाको मालिकार्जुनका सुरेन्द्र सिंह सामन्तले बताए।

‘कामको खोजीमा दिल्ली गएको थिएँ’, सामन्तले नेपालखबरसँग भने, ‘अहिले फेरि त्यता कोरोना संक्रमण बढिरहेको छ। त्यसैको त्रासका कारण घर फर्किएको हुँ।’

बाजुराका हरि रोकायाले कोरोनाका कारण काम बन्द हुने स्थिती सिर्जना भएकोले स्वदेश फर्किएको बताए।

‘कोरोना बढ्न लाग्यो भनेर फेरि काम बन्द हुने, लकडाउन हुने हल्ला छ’, उनले भने, ‘कोरोनाकै कारण यसअघि घर आउनै धेरै दुःख गर्नु परेको थियो। अझै पनि त्यस्तै हुन्छ कि भन्ने डरले घर फर्किएको हुँ।’

जीविकोपार्जन गर्न कामको खोजीमा भारतको दिल्ली, पञ्जाब, महाराष्ट्र, गुजरात र देहरादून लगायत सहर गएका नेपालीहरु धमाधम स्वदेश फिर्ता हुन थालेका हुन्। अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक १५ सयदेखि २ हजारको हाराहारीमा नेपालीहरु स्वदेश फिर्ता भइरहेका छन्।

 

‘पछिल्लो समय भारतबाट घर फर्किनेको संख्या बढेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले भने, ‘दैनिक १५÷२ हजार मानिस स्वदेश भित्रिरहेका छन्।’

यसरी फर्किनेहरुमा अधिकांश सुदूरपश्चिम र कर्णाली प्रदेशका रहेका छन्। भारतमा संक्रमण तीब्र देखिएकै ठाउँबाट ठूलो संख्यामा नेपाली फर्किरहेकाले सुदूरपश्चिममा जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन्।

भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण गर्दै अभिलेख राखेर घर पठाउने काम भइरहेको स्वास्थ्य कार्यालय (कञ्चनपुर) का कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए। 

‘नाकामा कोरोना परीक्षण गर्ने गरेका छौँ। रिपोर्ट नेगेटिभ आयो भने घर पठाउँछौँ,’ उनले भने, ‘पोजिटिभ आएमा आइसोलेसनमा राख्ने गरेका छौँ।’

उनका अनुसार भारतबाट आउने मानिसहरुमध्ये दैनिक ६०/७० जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ। कञ्चनपुरमा अहिले ६२० जना कोरोनाका सक्रिय बिरामी छन्। तीमध्ये अधिकांश गड्डाचौकी नाका भएर भारतबाट घर फर्किरहेका मानिस हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .