ad ad

समाज


भ्यानमा अपहरण गरेर रातभर सामूहिक बलात्कार, पीडितको अवस्था गम्भीर

भ्यानमा अपहरण गरेर रातभर सामूहिक  बलात्कार, पीडितको अवस्था गम्भीर

महिलालाई लिफ्ट दिएको गाडी। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
माघ १०, २०७८ सोमबार १०:३२, इटहरी

गत शुक्रवार मोरङको सुन्दरहरैँचा नगरपालिका-४ बलियामा सामूहिक बलात्कारमा परेकी ३१ वर्षीया महिला अहिले कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा छिन्। 

बलात्कारका क्रममा यौनाङ्ग क्षतविक्षत भएकाले उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

उपचारका क्रममा पनि उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन्। अस्पतालमा रहेका पीडित महिलाका आफन्तका अनुसार बेला बेला उनी कराउने र छट्पटाउने गर्छिन्।

अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीका अनुसार अवस्था गम्भीर छ। तर उपचारमा कुनै कमी हुन दिइएको छैन।

अत्यधिक रक्तश्राव भएर ब्लड प्रेसर पनि कम भएको डाक्टर रिभाले जानकारी दिइन्।

उनका अनुसार पीडित महिलाको यौनाङ्ग क्षतविक्षत छ। शरीरका विभिन्न भागमा पनि चोट छ। यौनाङ्गमा ठूलो असर पुगेकाले सिलाउपर्ने अवस्था छ।

के थियो घटना?
पीडित महिलाकी बहिनीले प्रहरीमा दिएको जाहेरी अनुसार खोटाङको दिक्तेल घर भई मोरङको सुन्दर हरैँचाका गछियास्थित बहिनीको घरमा बस्दै आएकी महिला गत शुक्रबार राति सामूहिक बलात्कारमा परेकी हुन्।

एक साताअघि मात्रै इटहरीमा काम सुरु गरेकी महिला शुक्रवार दिउँसो गछियास्थित घर जाँदै थिइन। घर जाँदै गर्दा लिफ्ट दिने भन्दै एउटा मारूती भ्यानमा तीनजना पुरुष आइपुग्छन्। 

लिफ्ट दिने भन्दै चढाए पनि उनीहरुले महिलालाई सिधै बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पुर्‍याउँछन्।

पीडित महिलाको बयान अनुसार ती युवाहरूले साँझ करिब ७ बजे होटलमा पुर्‍याएका थिए। एकछिनमा बहिनीको घर पुर्याइदिन्छु भन्दै उनलाई केही खाना दिए। 

यो खाना खाएपछि आफू बेहोस भएको उनले सुनाएकी छन्। होटलको एउटा कोठामा थुनेर महिलालाई तीन जनाले रातभर पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।

पटक पटकको बलात्कारको कारण पीडाले असह्य भएपछि उनी मध्यराति १२ बजेतिर चिच्याएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

त्यो बेला एक जनाले यौनाङ्गमा हात हालेको पीडितले बताइन्। त्यसपछि के भयो भन्ने थाहा नभएको ती महिलाको भनाइ छ।

सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सुन्दरहरैचा नगरपालिका– ४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटनामा संलग्न एक जना भने फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .