ad ad

समाज


नौसय छात्रा पढ्ने स्कुल हाँकिरहेकी रिता भन्छिन्– शिक्षामा सुधार ल्याउन महिला प्रअ बन्नुपर्छ

नौसय छात्रा पढ्ने स्कुल हाँकिरहेकी रिता भन्छिन्– शिक्षामा सुधार ल्याउन महिला प्रअ बन्नुपर्छ

नौ वर्षदेखि प्रधानाध्यापक भएर डिल्लिबजारस्थित पद्मकन्या​ विद्याश्रम हाँकिरहेकी छन् रिता तिवारी (तस्बिरः विजय सिंह)


मीना खड्का
माघ १८, २०७८ मंगलबार १३:४५, काठमाडौँ

शान्त स्वभाव। आँखामा स्पष्ट उत्साह। फरक र राम्रो काम गर्नुपर्छ भन्ने हुटहुटी। कोरोनाले अस्तव्यस्त बनेको दैनिकीमाझ पनि सिकाइलाई निरन्तरता दिनैपर्छ र शिक्षा क्षेत्रलाई चलायमान बनाउनैपर्छ भन्ने दृढता।

यस्तै उत्साहसहित गएको बिहीवार आफ्नै कार्यकक्षमा भेटिइन् काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रमकी प्रधानाध्यापक रिता तिवारी। गत १७ वर्षदेखि उनी यो स्कुलमा छन्। नौ वर्षयता प्रधानाध्यापकका रुपमा स्कुल हाँकिरहेकी छन्। 

काठमाडौँको कमलपोखरीमा जन्मिएकी रितालाई बाल्यकालमा राम्रो शिक्षादीक्षाको अवसर जुर्यो। निजी स्कुलमा उनले माध्यमिक शिक्षा हासिल गरिन्। पारिवारिक अवस्था राम्रो थियो। १ दाइ र ४ दिदिकी कान्छी बहिनी थिइन् उनी।

२०४६ सालमा राम्रो नतिजा ल्याएर एसएलसी उत्तीर्ण भइन्। साइन्स विषय लिएर ब्याचलर र मास्टर्स पढिन्।

पढाइमा अब्बल रिताले शिक्षण पेसा रोज्लिन् भन्ने कमैले सोचेका थिए। तर, शिक्षकप्रतिको सम्मानको भावले उनलाई यो पेसाप्रति आकर्षित गर्यो।

‘विज्ञान विषय पढेकाहरु डाक्टर, इन्जिनियर र साइन्टिस्ट बन्थे। तर मलाई डाक्टर, इन्जिनियर र साइन्टिस्ट बनाउने असल शिक्षक बन्न मन लाग्थ्यो,’ उनी भन्छिन्।

‘विगतमा सफल र असल शिक्षक बनेर मर्यादा बचाइरहनु नै सफलता थियो। सारा लगाव त्यसैमा लाग्थ्यो,’ उनी भन्छिन्, ‘अहिले पनि लगाव त छ तर त्यसको स्वरुप बदलिएको छ, दायरा फराकिलो छ, कसरी समग्र रुपमा सबै राम्रो गर्ने विशेषगरी शैक्षिक गुणस्तर सुधार्नेतिर ध्यान छ।’

२०६२ सालदेखि उनले डिल्लिबजारस्थित पद्मकन्या विद्याश्रममा पढाउन सुरु गरेकी थिइन्। आठ वर्ष उनले पढाउने काम मात्र गरिन्। त्यतिबेला कक्षा कोठाभित्रको सिकाइलाई कसरी व्यवस्थापन गर्ने, विद्यार्थीको शैक्षिक उपलब्धि कसरी बढाउनेजस्ता विषयमा मात्रै उनको ध्यान हुन्थ्यो। 

तर, त्यतिबेला त्यही पनि सजिलो थिएन। उनी निजी स्कुल पढेर आएकी थिइन्। छात्राहरू मात्र पढ्ने पद्मकन्या विद्याश्रम​का उनका विद्यार्थीहरु गाउँगाउँबाट आएका थिए। करिब १० प्रतिशत छात्राहरु मात्र आर्थिक रुपले सक्षम थिए। ४० प्रतिशत मध्यमस्तरका र ५० प्रतिशत निम्नवर्गका थिए। 

गरिब विद्यार्थीहरु अरुको आश्रयमा रही आफ्नो श्रमद्वारा मुस्किलले जीविकोपार्जन गर्थे। उनीहरुलाई समयानुकूल शिक्षा प्रदान गरी योग्य र दक्ष बनाउन भनेजस्तो सहज थिएन।

नौ वर्षपहिले उनी पद्मकन्या​ विद्याश्रमको प्रधानाध्यापक नियुक्त भइन्। 

‘एकातिर महिला मात्रै पढ्ने विद्यालयको प्रअ हुँदा गर्व महसुस भएको थियो। धेरै गर्ने अवसर पाएँ भनेर खुसी थिएँ,’ उनले भनिन्, ‘अर्कातिर आफूभन्दा सिनियर शिक्षकहरुको नेतृत्व गर्नुपर्ने थियो।’ 

‘कुनै काममा सल्लाह गर्दा यसो गर्नुस् भन्नुपर्ने हुन्थ्यो, आफूभन्दा ठूलालाई काम अह्राउन आफैँलाई अप्ठ्यारो लाग्थ्यो। त्यतिबेला सहकर्मी शिक्षकले पनि आफूभन्दा सानोले काम अह्राएको भन्थे। कहिलेकाहीँ शिक्षकले नटेरेका महसुस हुन्थ्यो,’ उनले थपिन्।

त्यस्ता चुनौती पार गरेर करिब नौसय छात्राहरु अध्ययनरत पद्मकन्या विद्याश्रम स्कुल उनले हाँकिरहेकी छन्। आफ्ना अगाडि आइपरेका सबै समस्या डटेर समाधान गरेँ भन्ने उनलाई लाग्छ।

‘अप्ठ्यारो अवस्था नआउने होइन, त्यस्तो अवस्थामा म सक्दिनँ भनेर पछाडि हटेकी भए अहिले यो अवस्थामा आउने थिइनँ। विविध मान्छे र विविध विषयमा छलफल गर्नुपर्ने, ट्याकल गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘जसले त्यो क्षणलाई चिर्न सक्छन् उनीहरु सफल हुन्छन्, जो पछि हट्छन् उनीहरु असफल हुन्छन्।’

क्षमता नै सफलताको बलियो आधार भएको उनको बुझाइ छ। 

‘शिक्षकको क्षमता पहिचान गर्दै सोही बमोजिम सहकार्य गरेँ। यसो गर्दा शिक्षक आफ्नो सम्पूर्ण मन विद्यार्थीमा लगाउँछन्,’ उनले भनिन्, ‘जसले शिक्षकसँग सहकार्य गर्न सहज त हुन्छ नै, विद्यार्थीले पनि बुझ्छन्, शिक्षक पनि थप रचनात्मक हुन्छन्।’

प्रधानाध्यापकको व्यवहार पनि उदाहरणीय हुनुपर्ने उनको अनुभव छ।

‘मालिक बन्ने होइन,’ उनले भनिन्, ‘सही बाटो पत्ता लगाउने, सुरुमा आफू हिँड्ने र अरुलाई पनि यो बाटो सही छ है, यसरी हिँडौँ भनेर सिकाउन सके काम गर्न झन् सहज हुन्छ।’​​​‘महिला शिक्षक प्रअ बन्नुपर्छ’
शिक्षा क्षेत्रको विकासका लागि महिला शिक्षक प्रअको जिम्मेवारीमा आउनुपर्ने रिता तिवारीको भनाइ छ।

‘शिक्षाको विकास भए मात्रै समग्र क्षेत्रको विकास सम्भव छ। महिलाको मनपर्ने पेसा बनाउनकै लागि भए पनि प्रअको भूमिकामा आउनुपर्छ,’ उनले भनिन्, ‘शिक्षक भएर पनि धेरै गर्न सकिन्छ तर जति प्रअले गर्छ त्यति शिक्षकले गर्न सक्दैन, त्यसैले पनि प्रअको भूमिकामा आउन प्रोत्साहन गर्दछु।’

धेरै महिला प्राथमिक तहमा नै सीमित हुन्छन्। कतिलाई प्रअको जिम्मेवारी बोझिलो लाग्छ। तर, ती मान्यतालाई तोड्नुपर्ने उनको भनाइ छ।

‘यो सत्य हो, पुरुषको तुलनामा महिलामाथि बढी भार हुन्छ, तर असम्भव नै छैन,’ उनले भनिन्, ‘परिवारलाई बुझाउन सके र आफ्नो अडानमा बलियो भएर लागे कसैले रोक्न सक्दैन।’

महिलाहरुले आफूलाई प्रतिस्पर्धाका लागि तयार पार्नुपर्ने रिता बताउँछिन्।

‘प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ। म महिला हुँ, सक्दिनँ कि भन्ने होइन। महिला भनेर घरगृहस्थी सम्हाल्दै, बालबच्चा हुर्काउँदैमा मात्रै सीमित हुनुहुँदैन। कतिपय महिलाले प्रतिस्पर्धा गर्न आँटै नगरेको पाइन्छ,’ उनले भनिन्, ‘महिलाले आफूलाई अपग्रेड गर्न नसक्नु नै महिलाको मुख्य समस्या हो।’

जिम्मेवारीबाट पन्छिन खोज्ने महिला शिक्षकको संख्या पनि कम छैन। यो देख्दा भने उनलाई दुःख लाग्छ। 

‘यसै पनि महिलालाई तिमी कमजोर छौ भनेर सामान्यीकरण गरिन्छ। त्यसलाई स्वीकार्नु जस्तो अपरिपक्वता केही होइन। घर परिवारसँगै विद्यालयको यति ठूलो जिम्मेवारी कसरी बहन गर्नु, सकिँदैन पनि भन्छन् कतिपयले,’ रिता भन्छिन्, ‘चुनौती त छन्। तर, तिनको सामना गर्ने हिम्मत गर्नुपर्छ।’

नेतृत्व लिन महिला आफैँ अघि नसरी नहुने उनी बताउँछिन्।

भन्छिन्, ‘दिगोपनाका लागि चाहिने गुण बोकेका महिला नेतृत्व हाँक्न आउनुपर्छ। समस्या कसलाई पो हुदैन र? सफल भएपछि मात्रै मेहनतको मूल्याकंन हुन्छ। नभए त गरेको मेहनत र संघर्ष पनि सधैं गौण रहन्छ। त्यसैले पनि घुँडा टेकेर लाग्नुपर्छ।’

महिला प्रअ हुँदा विद्यालयलाई पनि उत्तिकै फाइदा हुने उनको अनुभव छ।  

‘स्वाभावैले महिलामा इमान्दारी हुन्छ,’ उनले भनिन्, ‘नरम स्वभावका कारण विद्यालयमा द्वन्द्व त कम हुन्छ नै महिला प्रअ भएको विद्यालयमा पारदर्शिता पनि हुन्छ।’​

बन्यो ४४ कोठे आधुनिक छात्रावास  
आफ्नो अहिलेसम्मको कार्यकालको सबैभन्दा महत्वपूर्ण काम छात्रावास निर्माण भएको रिताको भनाइ छ।

‘अर्थिक रुपमा विपन्न र अरुको आश्रयमा बस्दा विभिन्न खाले हिंसाको सिकार हुन सक्ने छात्राहरुको सुविधाको लागि विद्यालय हातामा नेत्री मंगलादेवी सिंहका नाममा साढे तीन तल्लाको ४४ कोठे आधुनिक छात्रावास निर्माण भएको छ। यो ठूलो उपलब्धि हो,’ उनले भनिन्, ‘यसमा करिब सय जना छात्रा अट्छन्। उनीहरु सबै सुरक्षित रहने विश्वास छ।’ 

उनका अनुसार शिक्षा, मानविकी र व्यवस्थापन विषयमा कक्षा ११–१२ सञ्चालन भइरहेको छ।

‘विद्यालयको स्तरोन्नतिका लागि २०६४ सालदेखि कक्षा ११–१२ सञ्चालनमा आयो,’ रिता तिवारीले भनिन्, ‘विद्यार्थीको क्षमता विकासका लागि स्काउट, जुनियर रेड्क्रस, इको क्लब र बाल क्लब जस्ता सामाजिक संस्थाहरु समेत सञ्चालित छन्।’

सिकाइलाई प्रभावकारी बनाउन आफू लागिपरेको उनले बताइन्।

‘विद्यार्थी अनुपस्थित भए ऊ किन आएन भनेर अभिभावकलाई फोन गर्ने गरेका छौँ। प्राइभेटमा त विद्यार्थीको चासो हुन्छ, हामीले किन त्यसो नगर्ने?,’ उनले भनिन्, ‘कक्षा ६ देखि १० सम्म नेपाली अंग्रेजी दुवै भाषाको माध्यममा पढाइ भइरहेको छ।’ 

उनका अनुसार शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले १५ जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ।

विद्यालयलयको स्तरवृद्धि गर्न अल्पकालीन, मध्यकालीन अनि दीर्घकालीन योजना छन्।

‘महिला क्रिकेट प्रशिक्षण केन्द्र निर्माण र संगीतमा रुचि भएका विद्यार्थीका लागि संगीत कक्षा सञ्चालन गर्ने योजना छ,’ उनले भनिन्, ‘मन्टेश्वरी कक्षा सञ्चालन र व्यवस्थापनको योजना छ।’

‘सूचना तथा प्रविधिलाई नै विशेष ध्यान दिइरहेका छौँ। कक्षाहरुलाई प्रविधिमैत्री बनाउने सोचेका छौँ,’ उनले भनिन्, ‘त्यहीअनुसार योजना बनाएका छौँ। बाँकी शिक्षकलाई तत्कालै ल्यापटप प्रदान गर्ने योजना छ।’  

उनको योजना शैक्षिक उपलब्धि बिस्तार र गुणस्तर वृद्धिमा नै केन्द्रित देखिन्छ। 

‘पुस्तकालयको व्यवस्थापन र सुदृढीकरण गरी ई–लाइब्रेरी बनाउने र नयाँ विज्ञान भवन बनाउन पहल गर्ने साथै कक्षा ११ मा विज्ञान संकाय थप्ने विद्यालयको तत्कालको योजना छ,’ रिताले भनिन्, ‘रोजगारमूलक शिक्षाका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी हामी काम गरिरहेका छौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .