ad ad

समाज


सय रुपैयाँ तिरेर स्कुल पढेका आयुषको यसरी पुरा हुँदैछ पाइलट बन्ने सपना

सय रुपैयाँ तिरेर स्कुल पढेका आयुषको यसरी पुरा हुँदैछ पाइलट बन्ने सपना

१९ वर्ष पुगेका आयुष लुइँटेल पाइलट बन्ने सपनाको नजिकै पुगेका छन् (तस्बिरः विजय सिंह)


मीना खड्का
माघ २१, २०७८ शुक्रबार ९:४६, काठमाडौँ

आफन्त र अभिभावकले दसैँमा टीका लगाएर आशीर्वाद दिँदा उनलाई लाग्थ्यो– कसैले ‘पाइलट बन्नू’ भनिदिऊन्।

तर, उनका लागि यो सपना पुरा गर्नु असम्भवप्रायः थियो। किनकि उनको परिवार साँझ खाए बिहान के खाने भन्ने पीरमा निदाउँथ्यो।

अहिले आयुष लुइँटेल १९ वर्ष पुगे र उनी यतिबेला पाइलट बन्ने सपनाको नजिकै पुगेका छन्। 

कपनमा कोठा भाडामा बस्ने आयुषको जन्मथलो सिन्धुपाल्चोकको मेलम्ची हो। उनी सानैदेखि बुबाआमासँग काठमाडौंमा हुर्किए। 

‘बुबाले म नजन्मिँदै घरहरूमा रङ लगाउने काम गर्नुहुन्थ्यो रे। त्यसपछि ग्यास चुलो बनाउने र बेच्ने काम गर्नुभएको थियो रे,’ उनले भने, ‘मैले थाहा पाउँदा बुबाले बत्ती बनाउने काम गर्नुहुन्थ्यो।’

उनका बुबा सिन्धुपाल्चोकबाट १० वर्षको उमेरमा भागेर काठमाडौँ आएका थिए र एक धनी व्यक्तिको घरमा घरेलु कामदार बसेका थिए।

‘खोजेर ल्याएर हजुरबुबाले बिहे गर्दिनु भएको थियो रे,’ उनले भने, ‘त्यसपछि पनि बुबा गाउँमा बस्न मान्नु भएन। हामीलाई लिएर काठमाडौं आउनुभयो।’​

आयुषलाई लाग्छ, बुबा काठमाडौँ आएर ठिकै भयो। कम बोल्ने र धेरै मेहनत गर्ने बुबाको स्वभावले पनि उनलाई पढ्न र परिश्रम गर्न प्रोत्साहित गर्छ। 

काठमाडौँमा उनकी आमा कयौँ रात भोकै निदाइन्। बुबा कामको खोजीमा कयौँ दिन भौतारिए। बाँच्न र सन्तानलाई हुर्काउन उनको परिवारले निकै ठूलो संघर्ष गर्नुपरेको थियो। 

आर्थिक अवस्था कमजोर भएकैले उनी समता शिक्षा निकेतन भर्ना भए। जहाँ उनी र उनीजस्तै गरिब विद्यार्थी पढ्न आउँथे। तर, समता उनको जीवनको त्यो खुट्किलो बन्यो, जसले आयुषलाई आफ्नो सपनाको नजिक पुर्यायो। 

पाइलट बन्ने र हवाईजहाज उडाउने रहर एकातिर। गुजारा कसरी गर्ने भन्ने पीर अर्कोतिर। त्यही बीचमा पनि उनले हार मानेनन्।

उनी गुगल र युट्युबतिर खोजिरहन्थे– पाइलट बन्न कति खर्च लाग्छ? पाइलट पढ्न छात्रवृत्ति पाइन्छ कि पाइन्न।

नौ कक्षा उत्तीर्ण गरेर १० कक्षा पढ्दै गर्दा आयुषलाई थाहा भयो, ‘पूर्ण छात्रवृत्तिमा एरोस्पेस इन्जिनियरिङ पढ्न पाइने रहेछ।’ 

‘यो पढेपछि एअरलाइन्स र विमान कम्पनीमा काम गर्ने अवसर पाइने रहेछ,’ उनले भने, ‘हवाईजहाज, उपग्रह, रकेट, अन्तरिक्ष यानको विकास तथा अध्ययन नै यस विषयका प्राथमिक क्षेत्र रहेछन्।’

विमानसँगै सम्बन्धित काम भएकोले यसमा कोसिस गर्छु भनेर उनले सोचे। किनभने यो उनकै सपनासँग नजिकको बाटो थियो।

यसको विषयमा जानकारी पाउन पनि लामो समय लाग्यो। जब बुझे, त्यसपछि त ध्यान जति सबै एरोस्पेस इन्जिनियरिङको प्रवेशिका परीक्षाको तयारीमा लगाए।

नेपालमा एरोस्पेस पढेका थोरै छन्। पढेका पनि प्रायः धेरै विदेशतिर नै बस्ने रहेछन्। 

अघिल्लो वर्षको मंसिरमा १२ कक्षा सकियो। त्यसपछि १० महिना उनले यसैको तयारी गरे। खासगरी लकडाउनका बेला उनले तयारी गरे।

‘कोरोनाले अधिकांश विद्यार्थीको भविष्य अनिश्चित बन्दै थियो,’ उनी भन्छन्, ‘तर मेरो जीवनमा यसले नयाँ अवसर थपिदियो।’

भदौमा प्रवेशिका परीक्षा भयो। 

नाम निस्किएन भने? उनलाई ठूलो डर थियो।

अघिल्लो वर्ष परीक्षा दिएका थिए आयुषले। तर, मेहनत पुगेन। त्यतिबेला ६ हजार जनामा शीर्ष ३ सयभित्र परेको थियो उनको नाम।  

यसपटक काठमाडौँस्थित भारतीय दूतावासले गराएको प्रवेशिका परीक्षामा पनि ६ हजार जना सहभागी थिए। जसमध्ये १६० विद्यार्थी छनोट भएका थिए। जसमा उनको नाम पनि थियो। 

घरको आर्थिक अवस्था हेरेर उनले कहिल्यै बुबाआमालाई म पाइलट बन्छु भन्न सकेनन्। पुस १४ मा नाम निस्किएपछि भने उनले बुबाआमालाई आफ्नो सपना सुनाएका छन्।

समता स्कुलमै नर्सरीदेखि १२ कक्षासम्म विज्ञान अध्ययन गरेका आयुष अब एरोस्पेस इन्जिनियरिङ पढ्न भारत जाने तयारीमा छन्। 

मासिक सय रुपैयाँ तिरेर पढेका उनको अघिल्तिर अनगिन्ती सम्भावनाका बाटा खुलेका छन्। एसआरएम इन्स्टिच्युट भारतको राम्रो कलेज हो भन्ने थाहा छ उनलाई। जहाँ उनी पढ्न जाँदै छन्। यो कोर्स पुरा गर्न उनलाई चार वर्ष लाग्नेछ। त्यसपछि भने काम गर्दै पढ्ने र अझ बढी मेहनत गरेर पाइलट बन्ने उनको योजना छ।

‘नेपालमा यो विषय पढ्न ६ लाखदेखि ७ लाखसम्म लाग्छ,’ उनले भने, ‘भारतमा अझै महंगो छ। उता कलेजहरु पनि राम्रा छन्। विषय त राम्रो छँदैछ।’

समतामा विज्ञान पढेका विद्यार्थीमध्येबाट उच्च शिक्षाका लागि छात्रवृत्ति पाउने उनी नै पहिलो विद्यार्थी भएको शिक्षक अजय अधिकारी बताउँछन्।

‘नर्सरी देखि कक्षा १२ सम्म समतामा पढेर विज्ञान विषयमा पूर्ण छात्रवृत्ति पाउने आयुष नै पहिलो विद्यार्थी हो,’ उनले भने, ‘बच्चादेखि नै राम्रो विद्यार्थी थिए। यो सफलताले हाम्रो हौसला पनि बढेको छ।’

यतिखेर उनी आफ्ना हजुरबुबालाई सम्झिरहेका छन्। जसको गत वैशाखमा देहान्त भयो।

‘हजुरबुबा थप एक वर्ष मात्रै बाँचेको भए भन्ने लागिरहेको छ,’ उनी भन्छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .