ad ad

समाज


टीयूले समकक्षता नदिँदा मर्कामा भारतबाट सीए पढेर आएका विद्यार्थी

टीयूले समकक्षता नदिँदा मर्कामा भारतबाट सीए पढेर आएका विद्यार्थी

मीना खड्का
माघ २६, २०७८ बुधबार १९:१४, काठमाडौँ

दोलखाका कुमार गिरी २०१६ डिसेम्बरमा भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नु)बाट सीए इन्टरमिडियट र तीन वर्षे ट्रेनिङ सकेर २०१९ मा नेपाल फर्किए।

अघिल्ला वर्षका विद्यार्थीले झैँ आफूले पनि नेपालमा समकक्षता पाउने उनको आशा थियो। यसपछि एकवर्षे बीकम (लेखा र वित्त) को परीक्षा दिएर स्नातकोत्तर डिग्री हासिल गर्ने र पीएचडी गर्ने उनको सपना थियो।

तर, यता त्रिभुवन विश्वविद्यालयले भने सीए र इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट पढेर आएकालाई समकक्षता दिन बन्द गरेको छ। 

यसरी एकाएक त्रिभुवन विश्वविद्यालयले समकक्षता दिन बन्द गरेपछि भारतमा सीए पढेर आउनेहरु जागिरबाट बञ्चित हुने अवस्था सिर्जना भएको छ। त्यसैले उनीहरु आन्दोलनमा उत्रिएका छन्।

समकक्षता नहुँदा आफूहरुको शैक्षिक स्तर प्लस टु बराबर भएको र रोजगारीको अवसरबाट वञ्चित भएको कुमार बताउँछन्। 

‘त्रिविले कुनै समयावधि र मापदण्ड नतोकिदिँदा सन् २०१९ अघिदेखिका विद्यार्थीले समकक्षताको लागि निवेदन दिए पनि समकक्षता पाएका छैनन्,’ उनले भने।

पहिले भारतमा सीए पास गरेर नेपालको सीए पढाउने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) को दुई वटा विषय तथा एक वर्षे इन्टर्नसिप सकेपछि नेपालमा लेखा परीक्षक बन्न पाइन्थ्यो।

पोखराकी अस्मिता त्रिपाठीको पनि समस्या उस्तै छ।

अस्मिताले २०१८ डिसेम्बरमा इग्नुबाटै एमकम (फाइइनान्स र ट्याक्सेसन) उत्तीर्ण गरिन्। 

२०२१ मा उनले इग्नुबाट कागजात पनि मगाइन्। तर, आफूहरुले समकक्षता नपाउँदा एक वर्षदेखि बेकार बसिरहनुपरेको उनको भनाइ छ।

‘यति लामो समयसम्म देशबाहिर बसेर सिकेको सिकाइ र गरेको मेहनतको मूल्यांकन आफ्नै देशमा भइदियोस् भन्ने छ,’ उनले भनिन्।

२०१९ अघिका विद्यार्थीले बीकम (अकाउन्ट्स र फाइनान्स) र एमकम (फाइनान्स र ट्याक्सेसन) को परीक्षा दिएर स्नातक स्तर र स्नातकोत्तर डिग्री हासिल गर्थे र सहजै समकक्षता पनि पाउँथे।

अस्मिताले पढ्नुअघि कहिल्यै सोचेकी थिइनन्, यसरी त्रिभुवन विश्वविद्यालयले सीए र इन्दिरा गान्धी विश्वविद्यालयबाट पढेर आएकालाई बिना पूर्वसूचना समकक्षता दिन बन्द गर्नेछ। र ,यसरी आन्दोलनमा उत्रिनुपर्नेछ। 

त्रिविले अहिले पनि आश्वासन मात्र दिइरहेको उनको भनाइ छ।

‘विद्यार्थीहरू निरन्तर आन्दोलनमा उत्रिएपछि त्रिविले इग्नुबाट अध्ययन गरेर फर्किएकालाई समकक्षता दिनुपर्ने निर्णय गर्यो,’ उनले भनिन्, ‘विद्यार्थीले आवेदन दिन पाउने भन्दै सूचना पनि दसैँअघि निकालेको थियो।’

त्रिविको उक्त सूचनापछि अनलाइनमार्फत उनीहरुले आवेदन फारम पनि भरेका थिए। 

तर, विद्यार्थीहरूले फारम भरे पनि समकक्षता पाउन सकेनन्। आवेदन दिँदा अन्य कागजातसँगै त्रिविले ‘क्यारेक्टर सर्टिफिकेट’ पनि बुझाउन विद्यार्थीलाई भन्यो। 

अस्मिताका अनुसार खुल्ला विश्वविद्यालयमा ‘क्यारेक्टर सर्टिफिकेट’ दिने प्रचलन छैन।

उनले भनिन्, ‘हुँदै नभएको क्यारेक्टर सर्टिफिकेट मागेर त्रिविले हैरानी मात्र दिएको छ।’ 

उनका अनुसार सीए भएकाले एक वर्षे एमकम (फाइनान्स र ट्याक्सेसन) को परीक्षा दिएर स्नातकोत्तर डिग्री हासिल गर्छन्। अनि सीए इन्टर भएकाले बीकम (अकाउन्ट्स र फाइनान्स) को परीक्षा दिएर स्नातक तह डिग्री हासिल गर्छन्। 

त्रिभुवन विश्वविद्यालयले किन बन्द गर्यो त समकक्षता दिन? अस्मितासँग मात्रै होइन, धेरैसँग स्पस्ट जवाफ छैन।

‘हाम्रो पनि सूचना पाउने हक हुन्छ होला नि? अघिल्लो ब्याचसम्मकालाई समकक्षता दिइरहेको त्रिविले किन एकाएक दिन बन्द गरेको हो?’ उनले प्रश्न गरिन्, ‘बन्द गर्नुको कारण जान्ने अधिकारबाट हामी किन बञ्चित भयौँ?’ 

उनी सँगै सन् २०१९ अघि समकक्षताको लागि निवेद​न दिएका र सँगै परीक्षा दिएर पास भएका मात्रै होइन, समकक्षता पाएर अहिले स्नातकोत्तर (पढ्दै÷उत्तीर्ण) गरिसकेकाहरु र त्योभन्दा अघि निवेदन दिन नपाएका विद्यार्थीले समेत अहिलेसम्म त्रिविको स्नातक वा सो सरहको समकक्षता पाएका छैनन्। 

यति लामो समय (३ वर्ष) सम्म समकक्षता नपाउनुको मुख्य कारण त्रिविले कुनै समयावधि र मापदण्ड नतोक्नु नै हो। 

सीए पढेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परिसरमै प्रदर्शन र तालाबन्दी गर्दै आएका छन्। समकक्षता संघर्ष समितिका संयोजक सुधन महतका अनुसार विगत ६ महिनादेखि आन्दोलन र प्रदर्शन भइरहेका छन्। 

यसअघि त्रिवि परिसरमा आन्दोलनरत विद्यार्थीको जमात मंगलबार माइतीघरमा देखियो। 

त्रिविविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरे। महतका अनुसार उनीहरुले प्रदर्शनपछि प्रधानमन्त्री कार्यलयमा गएर ज्ञापनपत्र समेत बुझाएका छन्।

‘माथिल्लो निकायलाई नै झक्झक्याउन हामिले माइतीघरमा प्रदर्शन गरेका हौँ,’ महतले भने, ‘प्रधानमन्त्रीलाई नै भेटेर ज्ञापनपत्र बुझाएका छौँ। वार्ता पनि भएको छ।’

स्नातक र सीए दुवै पास भएका विद्यार्थीलाई स्नातकोत्तर (मास्टर/पोस्ट ग्र्याजुएट) र सीए स्नातक सरह वा सो सरह मान्यता दिइँदै आएकोमा त्रिविले गत साउनमा सीएलाई ‘प्रोफेसनल कोर्स’ भन्दै मान्यता दिन बन्द गरिदियो।

‘त्रिविबाटै मिलाउनुपर्छ भनेर त्यहीँ संघर्ष गरिरह्यौँ तर त्यहाँ सम्बोधन भएन र बाध्य भएर  माइतीघरमा आयौँ, प्रदर्शन पछि प्रधानमन्त्री कार्यलयमा गएर ज्ञापनपत्र पनि बुझाइसकेका छौँ,’ महतले भने, ‘अब माग पुरा हुन्छ कि भन्ने आशा छ।’

बिनासूचना समकक्षता दिन छाडेपछि सीए पढेका विद्यार्थीले रोजगारबाट पनि विमुख हुन परेको सुधन बताउँछन्। माग पुरा नभए पुनः आन्दोलन गर्ने उनको भनाइ छ। 

‘समकक्षता नदिनु शैक्षिक अपराध हो,’ महतले भने, ‘वार्ता र ज्ञापन पत्रले मात्रै आन्दोलन रोकिने छैन। अब केही दिन प्रतिक्रिया र प्रभावको प्रतीक्षा गर्ने छौँ। माग पुरा नभए शुक्रबारदेखि पुनः आन्दोलनका थप कार्यक्रमको घोषणा गर्नेछौँ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .