ad ad

समाज


सबैका प्रिय गजेन्द्र सरः जसले सरकारी स्कुलको स्वरुप बदले

सबैका प्रिय गजेन्द्र सरः जसले सरकारी स्कुलको स्वरुप बदले

नौ वर्षदेखि बिना तलब पढाइरहेका गजेन्द्र राना मगरसँग शिक्षक लाइसेन्स समेत छैन


मीना खड्का
फागुन ८, २०७८ आइतबार २१:५२, काठमाडौँ

२०७१ सालमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको जहरेस्थित तत्कालीन जनसंयुक्त प्राथमिक विद्यालय बन्द हुने अवस्थामा थियो।

विद्यालयको अभिलेखमा त्यतिबेला ४० जना विद्यार्थी थिए। तर, करिब २० जना मात्र स्कुल जान्थे। ती सबै विद्यार्थीको शैक्षिकस्तर समान थियो। १ कक्षाकाले पढ्ने विषयवस्तु ४ कक्षाका विद्यार्थीले पढ्थे। जाडो याममा एउटा कमिजको भरमा आएका अधिकांश विद्यार्थी खाली खुट्टा हुन्थे। 

शिक्षकहरु पनि आलोपालो गर्दै १ बजे नै निस्कन्थे। कपिकलमबिनाका विद्यार्थी धुलोमा खेलिरहेका हुन्थे। अभिभावक निराश थिए। उचित व्यवस्थापनको अभावका कारण लगभग मर्ज हुने अवस्थामा पुगेको थियो विद्यालय।

यस्तो अस्तव्यस्त अवस्थामा स्वयंसेवक शिक्षकका रुपमा २०७१ सालमा गजेन्द्र राना मगर​ त्यो विद्यालय पुगे। विद्यालयको हालत देखेपछि त्यसलाई सुधार्न ३ महिना विद्यालयमा बस्ने निर्णय उनले गरे।

‘३ महिना यी बालबालिकाको लागि स्वंयसेवक शिक्षकका रुपमा काम गर्छु र त्यसपछि काठमाडौँ फर्कन्छु,’ उनको सोच थियो।

त्यसपछि उनी विद्यालय सुधार्न लागिपरे।

उनी आएपछि हालको जनसंयुक्त आधारभूत विद्यालय मर्ज हुनबाट जोगियो। बरु उल्टै सामुदायिक विद्यालयहरू यस विद्यालयमा गाभिने अवस्थामा पुगे। अहिले गुर्भाकोट नगरपालिका भित्रका ५३ वटा आधारभूत विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट विद्यालय बनेको छ। 

उनको सक्रियताले विद्यालय भौतिक पूर्वाधारले सम्पन्न बन्दै गएको छ। विद्यालयमा हाल आठ कक्षासम्म पढाइ हुन्छ। निजी स्कुलमा पढ्ने विद्यार्थी पनि यो स्कुलमा आउन थालेका छन्। विद्यार्थी संख्या बढेर ३ सय ४० पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर सुनार बताउँछन्। अभिभावक र विद्यार्थी दुवैको रोजाइ बनेको छ यो विद्यालय। अभिभावकको आँखामा खुसी प्रस्ट देखिन्छ। 

र, काठमाडौँ फर्किने गजेन्द्रको योजना भने रद्ध भएको छ। आजभोलि उनी बिहानै स्कुल पुग्छन्। हरेक कक्षामा पस्छन्। नआएका विद्यार्थीका विषयमा चासो राख्छन्। विद्यार्थीको ड्रेस मिलाइदिने, विद्यार्थीसँगै खेल्ने उनको स्वभाव छ। त्यसैले त शिक्षकभन्दा बढी साथी सम्झन्छन् र सोही अनुसारको व्यवहार गर्छन् विद्यार्थीले। गजेन्द्र सर भनेपछि विद्यार्थी हुरुक्कै हुन्छन्। भन्छन्, ‘गजेन्द्र सर नआएको दिन नरमाइलो लाग्छ।’ 

‘सुधारिएको विद्यालय बिग्रिन्छ भन्ने चिन्ताले रोकेको छ’, बाल्यकालमै बाआमा गुमाएका सुर्खेतका ३६ वर्षीय गजेन्द्र राना मगरलाई आमाबुबाको माया कस्तो हुन्छ, अनुभव छैन।

५ वर्षको उमेरदेखि परिवारविहीन बनेका उनले मैलो तस्बिरमा मात्रै देखेका छन् बा आमाको अनुहार। 

आमाबुबाको मृत्युपछि निकै दुखदायी बाल्यकाल बित्यो। ठूलोबुवाले उनलाई र बहिनीलाई सुर्खेतको एसओएस बालग्राममा लगेर भर्ना गरिदिए। त्यसपछि जीवनमा नयाँ आयाम थपियो। सुखद् यात्रा सुरु भयो। गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्यो।

एसओएसबाट कक्षा १० उत्तीर्ण गरेका उनले काठमाडौँ आएर राम्रा स्कुल पढ्ने मौका पाए। ग्रामीण विकास अर्थशास्त्रमा उच्च शिक्षा हासिल (स्नातकोत्तर) गरेपछि केही समय समाजमा घुलमिल हुने सोचेर गाउँ फर्किएका थिए। 

मात्र तीन महिना स्वयंसेवक शिक्षक भएर बस्ने योजनामा सुर्खेतको गुर्भाकोटको सो विद्यालय प्रवेश गरेका थिए उनी। तर, ९ वर्ष बित्यो। निरन्तर विद्यालय सुधार्ने अभियानमा छन्। आफू जाँदा विद्यालयको अवस्था फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्ताले उनलाई बाँधेको छ।

‘आफ्ना गाउँका नानीबाबुको भविष्य अन्धकार देखेपछि केही महिनाका लागि सेवा गरौँ भन्ने उदेश्यले आएको थिएँ,’ उनले भने, ‘नौ वर्ष पुगिसक्यो, विद्यार्थीको भविष्य र अभिभावकको मायाले छाड्न सकेको छैन।’

जिन्दगीमा धेरै कुरा नसोचेको हुने रहेछ। 

पढाइ सकेर गजेन्द्र छात्रवृत्ति पाए अध्ययन गर्न नर्वे जाने सोचमा थिए। छात्रवृत्ति पाउन नसके कुनै गैरसरकारी संस्थामा आबद्ध भएर काम गर्ने सोचेका थिए। तर उनको सपना र योजना स्कुलमै अल्झिएको छ।

‘पढाइ सकेपछि जसको पनि लक्ष्य हुन्छ, मेरा थुप्रै साथीहरू पढाइ सकेर बाहिर छन्,’ उनले भने, ‘मेरै सोच थियो, छात्रवृत्ति पाए नर्वे जाऊँला भन्ने, त्यति नभए कुनै एनजीओमा काम गर्ने। बीचमा धेरै अफर पनि आए तर जान सकिएन।’ 

समाज विकासका विषयमा लेखेर उनले स्नातकोत्तर गरे। तर समाज बुझ्ने अवसर मिलेको थिएन। समाज कस्तो हुन्छ, गाउँ कस्तो हुन्छ, सम्बन्ध कस्तो हुन्छ महसुस गरे। भोग्दै सिके। 

आफन्तहरुसँग केही समय बिताउने सोचेर सुर्खेत पसेका उनी फेरी राजधानी फर्कन सकेनन्। उतै बसेर विद्यालयको मुहार फेरे। विद्यालयको मात्र होइन, अभिभावक र बालबालिकाको पनि मुहार फेरियो।

अहिलेसम्म उनले तलब नलिई काम गरिरहेका छन्। कतिञ्जेल बस्ने, उनलाई थाहा छैन। तर, विद्यालयलाई एउटा उचाइमा पु¥याउने योजना छ। जुन पुरा नहुँदासम्म उनी फर्किने छैनन्।

‘बन्दै गरेको विद्यार्थीको भविष्य बीचमा चटक्कै छाडेर कसरी जानु?’ उनी भन्छन्।

वर्षौँ लगाएर उज्यालो बनाएको विद्यार्थी र अभिभावकको अनुहारमा फेरि निराशा हेर्ने चाहना छैन उनलाई। 

‘यसरी पनि चल्छ जिन्दगी?’ आफन्तहरु उनलाई प्रश्न गर्छन्।

साथी र शुभचिन्तक भन्छन्, ‘यसरी चल्दैन। आफ्नो विषयमा सोच। धेरै अड्किनु हुँदैन।’

नेपालमै मात्र होइन जुनसुकै देशमा पनि काम गर्न सक्ने योग्यता र क्षमता छ उनीसँग। तर बिनातलब गाउँमा गएर सरकारी विद्यालयको गुणस्तर सुधारको लागि स्वयंसेवी शिक्षकको रुपमा पढाइरहेको कुरा धेरैलाई अविश्वसनीय लाग्छ,

कहिलेकाहीँ आफन्त–साथीभाइले ठिक भने भन्ने लाग्छ उनलाई तर, विद्यालय पुगेपछि सबै बिर्सिन्छन्। कहिलेकाहीँ विद्यालय छोडेर जाने कुरा गर्दा मात्रै पनि एकाएक निराशा छाउँछ। विद्यार्थी पनि दुःखी हुन्छन्। अभिभावक चिन्ता गर्न थाल्छन्।

एउटा राम्रो विद्यालय बनाएर समुदायलाई हस्तान्तरण गर्ने सपना थियो उनको। जुन पूरा हुँदै गएको छ।​

एक्लो प्रयासमा पनि सम्भव छ परिवर्तन
गजेन्द्रलाई शिक्षक पेसासँग कुनै चासो छैन। केवल सिकाउनु र सुधार्नु छ।

‘पेसागत रुपमा शिक्षक नै बन्न जरुरी छ जस्तो लाग्दैन,’ उनले भने।

बितेका नौ वर्ष कुनै तलब लिएका छैनन् गजेन्द्रले। उनीसँग त शिक्षक लाइसेन्स समेत छैन।

‘नेपालको शिक्षा आयोगअनुसार शिक्षक लाइसेन्छ चाहिन्छ। तर, यो केही छैन म सँग,’ उनले भने। 

कतिपय शिक्षकलाई लाग्छ, म एक्लैले गरेर के हुन्छ र? तर, एक्लो प्रयासबाट पनि परिवर्तन सम्भव छ भन्ने गतिलो प्रमाण हुन् गजेन्द्र। 

धैर्यसहित निस्वार्थ भएर निरन्तर लाग्न सके असम्भव केही छैनजस्तो लाग्छ उनलाई। 

‘शिक्षकले आफ्नो अवस्थाअनुसार होइन, बच्चाको मनोभावना र अवस्था बुझेर व्यवहार परिर्वतन गर्नुपर्छ,’ उनी भन्छन्, ‘विद्यार्थीको चाहना अनुसार पढाउनुपर्छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .