ad ad

समाज


भूमिकाको यात्राः लैंगिक पहिचान बदलिन्, अमेरिकाबाट साहसी महिला पुरस्कार पाइन्

भूमिकाको यात्राः लैंगिक पहिचान बदलिन्, अमेरिकाबाट साहसी महिला पुरस्कार पाइन्

मीना खड्का
चैत २, २०७८ बुधबार ९:२०, काठमाडौँ

करिब तीन दशकअघि नैकापको श्रेष्ठ परिवारमा तेस्रो सन्तानको रुपमा उनको जन्म भएको थियो। छोरा जन्मिएकोमा परिवार खुसी थियो। परिवारले उनको नाम कैलाश राखिदियो। 

तर, सानैदेखि उनको स्वभाव छोरीको जस्तो थियो। परिवार चाहन्थ्यो– छोराले केटाको कपडा लगाओस्। कपाल छोट्याओस्, फुटबल खेलोस्। 

तर, उनी केटीहरूसँग भाँडाकुटी र पुतली खेल्थिन्। केटीकै जस्तो पहिरन गरेर, लामो कपाल पालेर बस्न चाहन्थिन्। 

उनलाई आमाका गुन्युचोली खोजेर लगाउन मन लाग्थ्यो। आँखामा गाजल र ओठमा लिपस्टिक लाएर चिटिक्क बन्न मन लाग्थ्यो। त्यसै गर्थिन्। 

पाँच वर्षको उमेर हुँदासम्म बच्चा भएकाले यस्तो व्यवहार देखाएको होला भन्ने सोच्थिन् उनकी आमा। तर, त्यसपछि पनि उमेरसँगै छोरीजस्तै बन्ने चाहना दिनप्रतिदिन बढ्दै गयो।

आमाले आफूले बुझ्ने भएकाले घरमा सहज वातावरण बनेको लैंगिक अल्पसंख्यक अभियन्ता तथा अभिनेत्री भूमिका श्रेष्ठ बताउँछिन्। 

‘मेरो आनीबानी र मनोभाव देख्दा सुरुसुरुमा त आमालाई पनि अचम्म लाग्थ्यो होला,’ उनी भन्छिन्, ‘तर आमा अल्झिनु भएन, मलाई बुझ्नुभयो र घरमा सहज वातावरण बनाउने प्रयास गर्नुभयो।’

उनी आठ वर्षको छँदै बुबाको मृत्यु भयो। त्यसैले पनि बुबाले उनलाई बुझ्ने अवसर पाएनन्। बुबाको मृत्युपछि घरमा आर्थिक अभाव देखिन थाल्यो। निजी स्कुलमा पढेकी उनलाई सरकारी स्कुलमा भर्ना गरियो। कक्षा ६ बाट उनको पढाइ नैकापकै विद्यामन्दिर माविमा सुरु भयो। त्यससँगै सुरु भयो, लामो मानसिक यातना। 

‘घरको वातावरण त सहज थियो, तर घरबाट निस्किएपछि बाटोमा मलाई छक्का, हिजडा भनेर उपहास गर्थे,’ उनी भन्छिन्, ‘ती शब्दका अर्थ त थाहा थिएन तर मलाई नै भनेका हुन् भन्ने थाहा पाउँथेँ।’

धेरैले उनलाई आफ्नो कहालीलाग्दो अतीतको कथा सोध्छन्। उनी भन्न पनि खोज्छिन्, तर शब्द भेट्दिनन्। भनिएका कुरा निकै कम, अपुरो, अधुरो लाग्छन्। उनको भोगाइ, आवेग र चाहनाका अघिल्तिर शब्द र वाक्यहरु फिक्का लाग्छन्, अर्थ हराएजस्ता लाग्छन्।  

स्कुले जीवन उनका लागि नर्कतुल्य रह्यो। एकातर्फ सहपाठीको नीच व्यवहार अनि अर्कातर्फ शिक्षकबाटै अपहेलित हुनुपर्ने अवस्था।

आफूलाई कसैले बुझ्न नसकेपछि बाँच्नु किन? यो प्रश्नले बारम्बार उनलाई हिर्काउँथ्यो। तनावका कारण उनी हरेस खान्थिन्। 

‘त्यसबेला आफैँलाई सिध्याउनेसम्मको सोच नआएको होइन,’ उनी भन्छिन्, ‘त्यो बेला हतोत्साहित भएर मरेको भए सायद आज म जे छु, त्यो हुने थिइनँ। खै के कुराले रोक्यो। मर्नु हुँदैन, केही गर्नुपर्छ भन्ने लाग्यो।’

बढिरहेको उमेरले हिंसा भएको सहजै बुझ्थ्यो। छोरा नभएर छोरी हुँ भन्ने थाहा पाएपछि विद्रोह गरेकी थिइन्, आफैँसँग। परिवार, समाज अनि संस्कारसँग। केटीसँग मन मिल्ने भएपछि उनी स्कुलमा केटीहरूसँग बस्न थालेकी थिइन्। 

‘नेपाली समाजले महिला र पुरुष मात्रै हुन्छन् भन्ने बुझेको छ। त्यसबाहेक लैंगिक अल्पसंख्यकहरुलाई स्वीकार्ने संस्कारको विकास अझै भइसकेको छैन,’ उनी भन्छिन्।

कतिले उनलाई हाँसोको पात्र बनाए। पुरुष शौचालय जान आफ्नो मनले दिँदैनथ्यो। महिला शौचालय जाँदा केटाहरुले जिस्काउँथे। 

केटाहरु उनको पछि लागेर आउँथे र भन्थे, ‘केटा भएर पनि केटीको शौचालयमा जान्छ!’ 

कतिपटक त उनी दिसापिसाब रोकेर बस्थिन्। बाटोघाटोमा हिँड्नेहरुबाट पनि उस्तै दुर्व्यवहार खप्नुपर्थ्यो। 

‘मन, दिमाग र व्यवहार सबै केटीको जस्तै भएकाले होला, त्यहाँ केटी साथीसँग नै नजिक भएँ,’ उनी भन्छिन्, ‘केटा साथी बनाउँदा यो मभन्दा फरक छ भन्ने विचार मनमा आउँथ्यो। केटी साथीहरूसँग सजिलै मन मिल्थ्यो। कुनै पनि समस्या निर्धक्क भएर खुलेर भन्न सक्थेँ।’

स्कुलमा शिक्षकहरुले समेत केटासँगै संगत गर्न र केटासँगै बस्न दबाब दिन्थे। 

‘सरहरुले केटाको संगत गर, केटाको जस्तो व्यवहार गर भन्थे, तर मेरो मन मान्थेन,’ उनी भन्छिन्। 

उनी मान्दिनथिन्। तर, शिक्षकहरुले यस्तो आग्रह दोहोर्याइरहँदा उनलाई थप यातना महसुस हुन्थ्यो। 

स्वाभिमानपूर्वक बाँच्न नपाएका ती नमिठा पलले अहिले पनि उनलाई कोतर्छन्। 

एकातिर नयाँ परिवेश अर्कोतिर साथी र शिक्षकको दुर्व्यवहार। निकै कष्टकर तीन वर्ष बिताइन्। मुस्किलले नौ कक्षा टेकेपछि उनी स्कुल छाड्न बाध्य भइन्।

‘एकातिर शिक्षकले यो गर, त्यो नगर भन्दै इच्छाविपरीत आदेश दिने, अर्कोतिर जिस्क्याउने केटा साथीहरू,’ भूमिका भन्छिन्, ‘केही सीप नलागेपछि पढ्ने मन हुँदाहुँदै पनि स्कुल छाड्न बाध्य भएँ।’

स्कुल छाडेपछि उनी अन्योलग्रस्त थिइन्।  भविष्य के होला, के गर्ने, केही थाहा थिएन। तर मनमा इख थियो। हेप्ने समाज र साथीका अघि बलियो बन्छु भन्ने अठोट थियो।  

विकल्पहीन अवस्थापछि उनी एकदिन नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) की अध्यक्ष पिंकी गुरुङसँग भेट्न पुगिन्।

समाज र घरपरिवारले नस्वीकारेका र घृणाको पात्र ठहर गरेका साथीहरुसँगै भएपछि उनलाई लाग्यो, ‘यो संसारमा म एक्लै होइन रहेछु, आत्मबल बढ्यो, जिउने आशा थपियो।’ 

उस्तै पीडा खप्दै आएका, उस्तै सोच भएका मानिसहरुसँग भएको भेट र साटेको अनुभवले उनलाई बलियो बनायो। भावना र अनुभव साट्न सहज भयो। 

आफ्नो आत्मबल कमजोर बनाउने समाजलाई सम्झेर यही समुदायका लागि काम गर्ने इच्छा जाग्यो। 

पहिचानका लागि संघर्ष
नीलहिरा समाजसँग जोडिएपछि उनले नाम भूमिका श्रेष्ठ र लैंगिक पहिचान महिला राखेर नागरिकता बनाउने योजना बनाइन्। र आफ्नो चाहनाअनुसार पहिचान खोज्न जिल्ला प्रशासन पुगिन्। 

त्यहाँ पनि फरक व्यवहार भएन। उही समाज, उस्तै चेतना। नागरिकता प्रमाण पत्र बनाउन गएको बेला स्थानीय निकाय र जिल्ला प्रशासनका अधिकारीहरूले उनको कुरा बुझेनन्। आफू एलजीबीटीआईक्यू समुदायको हुँ भनेर भन्दा सरकारी अधिकारीहरु मान्न तयार भएनन्।

समय निकै कम थियो। नीलहिरा समाजको एक कार्यक्रममा सहभागी हुन देशबाहिर जानुपर्ने थियो। नागरिकता बनाएलगत्तै चाहिएको थियो राहदानी पनि।

तर, पारलिंगी भएकैले उनको नागरिकता बनेन। उनी पुरानै नाम र पुरुष पहिचानमै नागरिकताको प्रमाणपत्र लिन बाध्य भइन्। सोहीअनुसार राहदानी बनाइन्। 

नागरिकता प्रमाण पत्र र राहदानी पुरुषको, तर आवरण महिलाको। विमानस्थलमा उनलाई केरकार गरियो।

‘विमानस्थलमा केरकार मात्रै भएन, शारीरिक जाँच समेत भयो,’ उनी सम्झिन्छिन्, ‘शिक्षित मानिएकै व्यक्तिबाट पटकपटक अपमान खप्नुपर्दा निकै पीडा भयो।’

लैंगिक पहिचानका आधारमा नागरिकता दिने कानुनी अड्चनका कारण नागरिकको आत्मसम्मानमा चोट पुगिरहेकै छ। 

त्यसैकारण उनले राजनीतिमा प्रवेश गर्ने निर्णय लिइन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइन्।

महिला पहिचानसहितकै नागरिकता बनाउने अठोट डगमगाएको थिएन। प्रशासनका अधिकारीहरू उनको अठोटमा असहमत थिए। बारम्बार उनको लैंगिक पहिचान ‘अन्य’ मा नै राख्न खोजे। तर, उनी पछि हटिनन्। आफ्नो माग मन्त्रिपरिषदमा पुर्याइन्। अन्ततः मागको सुनुवाइ पनि भयो। 

मन्त्रिपरिषदले नै उनको लैंगिक पहिचान परिवर्तन गरी महिलाको नाममा नागरिकता बनाइदिन जिल्ला प्रशासनलाई स्वीकृति दियो। 

लामो संघर्षपछि लैंगिक पहिचान ‘अन्य’ बाट महिला बन्यो। ती दिन सम्झिँदा आज पनि भूमिकाका आँखा रसाउँछन्। 

‘मैले त आफ्नो पहिचानसहितको नागरिकता पाएँ,’ उनी भन्छिन्, ‘तर अबको मेरो लडाइँ लैंगिक अल्पसंख्यक समुदायका साथीहरुका लागि हो। आफूजस्ता अल्पसंख्यकको पहिचान र अधिकारका लागि संघर्षशील रहने अठोट छ।’

अमेरिकी सरकारले प्रदान गरेको साहसी महिला पुरस्कार पाएपछि परिवारसँग भूमिका श्रेष्ठ (अमेरिकी दूतावास)

नेपाली समाजमा महिला र पुरुषबाहेक अर्को समुदाय पनि छ भनेर धेरैलाई थाहा दिन चाहन्छिन्। यही अठोट र आत्मबलले उनले ‘भूमिका’ नामको आत्मकथा लेखेकी छन्। 

त्यस्तै भूमिका ‘मिस पिंक’ प्रतियोगितामा पनि विजयी भएकी छिन्।

‘जित्छु भन्ने त विश्वास नै थिएन तर उत्कृष्टमा छानिएछु,’ भूमिकाले त्यो दिन स्मरण गरिन्, ‘मेरो शिरमा मिस पिंकको ताज थियो। यति खुसी थिएँ कि स्कुटर चढेर घर जाँदा हेल्मेट नलगाई ताज नै लगाएर गएँ।’

भूमिकाले नेपाली फिल्म ‘हाइवे’ र ‘कान्छी’ मा अभिनय पनि गरेकी छन्। 

उनलाई नेपाल सरकारले जनसेवा श्री २०७८ बाट विभूषित समेत गरेको छ।

बाँच्न मुस्किल बनाइदिएका प्रत्येक भोगाइहरुले जीवनमा नयाँनयाँ पाठ सिकाउँदै गएका छन्। जीवनका सबै सफलता महत्वपूर्ण लाग्छन् उनलाई। तर, यसपटक सबैभन्दा महत्वपूर्ण सफलता हात परेको छ– अमेरिकी सरकारले प्रदान गरेको साहसी महिला पुरस्कार।

१५ वर्षयता विश्वभरका ७५ भन्दा बढी देशका महिलालाई प्रदान गरिएको यो पुरस्कार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जीवनमा सुधारका लागि गरेको योगदानको सम्मानस्वरुप उनलाई प्रदान गरिएको हो।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो पुरस्कार नेपालीले प्राप्त गरेको यो लगातार दोस्रो वर्ष हो। गत वर्ष यो पुरस्कार एसिड हमलाविरूद्धको कामका लागि मुस्कान खातुनले पाएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .