ad ad

समाज


बालिका बलात्कारको डरलाग्दो आँकडा, ५ वर्षमा ८० शिक्षक पक्राउ

बालिका बलात्कारको डरलाग्दो आँकडा, ५ वर्षमा ८० शिक्षक पक्राउ

प्रतिकात्मक तस्बिर (टाइम्सहाइयरएजुकेशन डटकम)


मीना खड्का
चैत १६, २०७८ बुधबार ९:८, काठमाडौँ

घटना १- खोटाङमा माघ महिनामा आफ्नै शिक्षकबाट बालिका बलात्कृत भइन्। १४ वर्षीया बालिका बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परे। पीडितका बुबाले शिक्षकले आफ्नी छोरीलाई बलात्कार गरेको भन्दै दिएको उजुरीका आधारमा आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गर्यो। स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुल्यो।

घटना २- गत असोजमा एक शिक्षकले विराटनगरमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भयो। विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साहले आफूले पढाउने एक नाबालिकालाई बलात्कार गरे। कोरोना कालमा शैक्षिक संस्था बन्द भएपछि पढाइलाई घरमै निरन्तरता दिन ट्युसन पढिरहेकी ति बालिका शिक्षकबाट नै बलात्कृत भइन्। 

घटना ३- दुई वर्षअघि बालिकालाई होटलमा बन्धक बनाई करणी गरेको अभियोगमा पोखराबाट एक शिक्षक पक्राउ परे। ८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा १४ वर्षीया बालिकालाई नियन्त्रणमा लिएर बन्धक बनाई जबर्जस्ती करणी गर्दै आएको आरोपमा विराटनगरका राजेश कनौडियालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गर्यो। 

घटना ४- गत असोज महिनामै डर–त्रास देखाउँदै पटक–पटक दुई बालिका बलात्कार गरेको आरोपमा काभ्रेका एक शिक्षक पक्राउ परे। 

शिक्षण पेसा र शिक्षकको काम बालबालिकालाई सही बाटो देखाइदिने हो। तर बिडम्बना, पछिल्लो तथ्यांकले बालिकाहरु शिक्षकबाटै असुरक्षित रहेको देखाउँछन्।

प्रहरी प्रधान कार्यालयको गत पाँच वर्षको तथ्यांकअनुसार आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा ८० जना शिक्षक पक्राउ परेका छन्। 

आर्थिक वर्ष २०७४/०७५ मा यस्ता बलात्कारका पाँच घटना प्रहरीकोमा दर्ता भएको थियो।  ०७५/०७६ मा ११, ०७६/०७७ मा ४५, ०७७/०७८ मा १५ र यस आर्थिक वर्ष ०७८/०७९ को हालसम्म चार बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्।

यीबाहेक बलात्कृत भएर पनि न्यायका लागि उजुरी नदिएका र यौन दुर्व्यवहार भोगेका घटना धेरै हुने गरेको प्रहरीको भनाइ छ। कतिपय यस्ता घटना समाजमै मिलाइन्छ। जबरजस्ती करणीका कति घटना डरत्रास, धाकधम्की तथा आर्थिक प्रलोभनका कारण बाहिर नआएका अधिकारकर्मी बताउँछन्। 

कस्तो छ सजायको व्यवस्था?
अपराध संहिता २०७४ अनुसार १० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेको प्रमाणित भएमा १६ वर्षदेखि २० वर्ष सम्म जेल सजाय हुने व्यवस्था छ। त्यसैगरी १० देखि १४ वर्षसम्मका बालिकालाई जबरजस्तीकरणी गरेको प्रमाणित भएमा १४ वर्षदेखि १६ वर्षसम्म जेल सजाय हुन्छ।

१४ देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा दोषीलाई १२ देखि १४ वर्र्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ।

१६ वर्ष वा १६ वर्ष भन्दा बढि अठार वर्षमुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुन्छ।

अठार वर्ष वा अठार वर्षभन्दा बढि उमेरकी महिलालाई जबरजस्ती गरेको प्रमाणित भए ७ वर्षदेखि १० वर्र्षसम्म कैद सजाय हुने प्रावधान छ।

यद्यपि, यस्ता घटना न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रयास गरिएको भए पनि त्यो पर्याप्त नभएको अधिकारकर्मीहरु बताउछँन्। 

यौनहिंसा हुनसक्ने क्षेत्रहरूको पहिचान तथा विश्लेषण गरेर लक्षित कार्यक्रमहरू सञ्चालन हुनुपर्ने, जनचेतनामूण्लक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जस्ता आवश्यकता देखिन्छन्। हिंसाको छाप पीडित बालिकाको जीवनभरि बाँकी रहने र त्यसको दुष्परिणाम पीडितले मात्र नभई उसको सन्तानले पनि परोक्ष रूपमा भोग्नुपर्ने हुनाले त्यसको रोकथामका लागि सामाजिक अभियान चलाउनु अहिलेको ठूलो आवश्यकता रहेको विज्ञहरूको भनाइ छ। यसका साथै पीडितहरूलाई मनोपरामर्शको व्यवस्था गर्न पनि बेलाबेला मागहरु हुने गरेका छन्। 

कडा कानुन र सचेतना आवश्यक
समाजशास्त्री डा. मीना उप्रेती सामाजिक शक्तिसंरचना नै बलात्कारको मुख्य कारण हो। 

‘कारण अरुपनि छन् तर शत्तिसंरचनासँग जोडिएको सामाजिक संरचना मुख्य कारण हो। मैले जे गरेपनि समाजले बचाउँछ भन्ने अहम् पुरुषसँग छ,’ उनी भन्छिन्, ‘महिला–पुरुषबीचको समानताका लागि बाधक बनेको सामाजिक सोचको अन्त्य हुन र  समाजका कमजोर सदस्यहरूलाई सुरक्षाको अनुभूति जरुरी छ।’ 

यौन दुर्वयवहार पढाइको विषय नभएको र व्यावहारिक हिसाबले परिवारले पनि यसका बारेमा नसिकाएकाले कलिला बालिकाहरू यौनजन्य हिंसाको सिकार भएको उनले बुझाइ छ। विद्यालयका पाठ्यपुस्तकमा कक्षा १ देखिनै यौन शिक्षाका बारेमा पढाउनुपर्ने उनको मत छ।

‘कतिपय अवस्थामा यौनका विषयहरु शिक्षकले नै पढाउन मन गर्दैनन्। घरमै पढ्नु भनेर टार्ने गरेका पाइन्छ। यसरी कुन ठाउँमा छुँदा हिंसा हुन्छ भन्ने कुराको पनि जानकारी नभएका कारण बालिकाहरू बलात्कार र दुव्र्यवहारको सिकार हुन्छन्। अपरिपक्व बालिकाहरूलाई हिंसा के हो, कसरी यसको प्रतिरोध गर्ने भनेर सिकाउन जरुरी छ,’ उप्रेतीले नेपालखबरसँग भनिन्, ‘घरपरिवार र कक्षाहरूबाटै यौनजन्य हिंसाबारे पढाइ सुरू गर्ने हो भने बालिकाहरूलाई सचेत बनाउन सकिन्छ।’

हिंसा न्यूनीकरणमा परिवारको ठूलो हात हुने उनको भनाइ छ। 

‘एउटी महिलाले बलात्कार घटना सार्वजनिक गर्दा हाम्रो समाजमा मद्दत गर्नेभन्दा बहिष्कार गर्ने धेरै भेटिन्छन्,’ उनी भन्छिन्, ‘बेइज्जतीको डरले परिवारले नै बहिर ल्याउनु हुँदैन भनेर सिकाउँछ। यो गलत हो। यतिमात्रै होइन, प्रत्येक घर, कार्यालय, विद्यालय, गाडीहरुमा आचारसहिंता र सूचना टाँस्न सके सार्वजानिक स्थानमा हुने केही हिंसामा कमी आउन सक्छ। अपराधीलाई हुने कानुनी सजायको विषयमा हिंसा हुन सक्ने प्रत्येक ठाँउमा आचारसहिंता र सूचना टास्नुपर्छ।’

मानिसहरूमा चेतना अभिवृद्धि भएकाले बलात्कारका घटनाहरू सार्वजनिक हुने क्रम बढे पनि कानुन भने अझै कमजोर रहेको उनको टिप्पणी छ।

‘कतिपय पीडितले समस्या बाहिर ल्याउँदैनन्। बलात्कारपछि हत्या गरिन्छ। कतिपय घटना ज्यानै गएपछि थाहा हुन्छ। बलात्कार गरेर हत्या गर्ने घटना सामान्य होइन। बलात्कारका घटनामा पनि महिलालाई दोष लगाउने र बलात्कारीलाई तारिखमा छाड्नेजस्ता मानसिकता रहुन्जेल यी समस्या समाधान हुँदैनन्। कानुन प्रभावकारी र व्यावहारिक नहुनाको कारण पनि बलात्कारका घटना बढेको हो। यसकारण पनि यो समस्या भित्रभित्रै भुसको आगो सल्केको जस्तो भएको छ,’ उनले भनिन्, ‘कानुक कडा भएर मात्रै हुँदैन पीडितलाई चाँडै न्याय दिनुपर्छ र पीडकलाई कानुनी कार्बाही हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .