समाज


३४ वर्ष पढाएको विद्यालयलाई ढोगेर बिदा भए नारायण सर

३४ वर्ष पढाएको विद्यालयलाई ढोगेर बिदा भए नारायण सर

यज्ञराज जोशी
चैत १३, २०७८ आइतबार १८:०, काठमाडौँ

माथागढी–३, सराई, पाल्पास्थित दिव्यज्योति माविको प्रवेशद्वारबाहिर घुँडा टेकेर एक व्यक्ति जमिन ढोग्दैछन्।

त्यो तस्बिर थियो, सोही विद्यालयका प्राचार्य नारायण अधिकारी (६०) को। विद्यालयमा ३४ वर्ष बिताएपछि उमेरहदका कारण शुक्रबार उनी सेवानिवृत्त भए। 

‘यसै विद्यालयमा प्रवेश गरेको म यसै विद्यालयबाट निस्किएँ। ३४ वर्ष पढाएको विद्यालयबाट ढोगेर बिदा भएको हुँ,’ अधिकारीले भने, ‘छुट्टिँदाको अनुभव त अलि नमिठो नमिठो हुँदो रहेछ। त्यो दिन म भावुक भएँ तर सामान्यस्तरको विद्यालयलाई सुधारेर अहिलेको अवस्थामा पुर्याएकोमा म खुसी र सन्तुष्ट छु।’

२०४४ सालमा दिव्यज्योति स्कुलमा ७ कक्षासम्म पढाइ हुन्थ्यो। भवन पनि छाप्रोजस्तो थियो। त्यसपछि विद्यालय व्यवस्थापन समितिले ८ कक्षा पढाउने योजना बनायो। 

त्यहीबेला काठमाडौँमा स्नातकोत्तर अध्ययनरत अधिकारी गाउँ पुगेका थिए। त्यो थाहा पाएर व्यवस्थापन समितिले उनलाई अध्यापनको प्रस्ताव गर्यो। घरमा बुबाआमाले पनि आफूहरु एक्लै रहेको भन्दै गाउँमै बस्न सुझाव दिएपछि निजी स्रोतबाट अधिकारीको अध्यापन यात्रा सुरु भयो। 

सुरुमा एक वर्षका लागि मात्रै सम्झौता भएको थियो। तर, त्यसपछि विद्यालयले १० कक्षासम्म पढाइ सुरु गर्ने भयो। अधिकारीले पनि निरन्तरता पाए। 

२०५२ सालमा विद्यालयले अंग्रेजी र गणित शिक्षकका लागि दरबन्दी पायो। निजी स्रोतबाट पढाउन थालेको ६ वर्षपछि शिक्षा कार्यालयले उनलाई अस्थायी शिक्षक नियुक्ति दियो। सँगसँगै सोही वर्ष खुलेको शिक्षक सेवा आयोगको लिखितमा पनि उनले नाम निकाले। 

तर, त्यसबेलाको अस्थिरता र गन्जागोल अवस्थाका कारण २०५७ मा मात्रै अन्तर्वार्ता भयो। अन्तर्वार्ता दिएको तीन वर्षपछि आएको नतिजामा पनि उनी पास भए र अध्यापन थालेको १६ वर्षपछि विद्यालयमा स्थायी शिक्षकका रुपमा काम गर्न थाले।  

अर्को वर्ष स्कुलका तत्कालीन प्राचार्य विदा भएपछि व्यवस्थापन समितिले अधिकारीलाई त्यो जिम्मेवारी सुम्पियो। त्यसपछि विद्यालयमा उनले गरेका सुधार र देखाएका नतिजाले उनलाई सबैको प्रिय बनाउँदै लग्यो। 

‘परिवर्तन मैले भन्नुभन्दा पनि हेर्दा थाहा हुन्छ। त्यतिबेला केही पनि थिएन। कच्ची भवनहरु थिए। शौचालय थिएन। फर्निचरहरु थिएन। खानेपानीको व्यवस्था थिएन,’ अधिकारी भन्छन्, ‘अहिले सबैको सहयोगबाट सबैकुराको व्यवस्था गर्दै नमुना विद्यालय बनाउन सकिएको छ। बिदा हुँदै गर्दा म आफ्नो कार्यकालबाट सन्तुष्ट छु।’ 

उनको कार्यकालमा विद्यालयको तीनतल्ले सुविधासम्पन्न भवन निर्माण भएको छ। त्यससँगै विद्यालय परिसरमा ९ वटा भवन छन्। चार वटा टिनको छाना भएका छन्। बाँकी सबै पक्की हुन। जसमा ८ वटा भवन उनी प्राध्यानाध्यापक भएपछि नै बनेको हो। 

छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय छन। सूचना प्रविधि प्रयोगशाला भनेर कम्प्युटर ल्याब छ। छुट्टै पुस्तकालय छ। विद्यालयका लागि मूलबाट छुट्टै पाइप ल्याएर प्रशस्त पानीको व्यवस्था मिलाइएको छ। विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको छ। 

विद्यालयमा लघु संग्रहालय पनि छ। जहाँ शैक्षिक सामाग्रीसँग आधारित पुराना काठ, माटोका भाँडाकुँडाहरु, पत्थरहरु, तरबारहरु, पुराना हुलाक टिकटलगायत वस्तुहरु देख्न पाइन्छ। त्यहाँ राखिएका आधाआधी सामग्री प्राचार्य अधिकारी आफैँले जुटाएका हुन्।

उनले विद्यालयमा अंग्रेजी भाषामा पनि पढाइ सुरु गराए। अहिले नर्सरीबाट सुरुवात गरेर ३ कक्षासम्म अंग्रेजीमा हुन्छ। बाँकी माथिल्ला कक्षाहरुमा पनि छिट्टै अंग्रेजीमा पढाइ सुरु गर्ने योजना विद्यालयको छ। 

‘म आउँदा सुरुमा विद्यालयमा २०० को हाराहारीमा विद्यार्थी थिए। अंग्रेजीमा पनि पढाइ हुन्छ, पढाइ राम्रो हुन्छ भनेपछि ४५०, ६०० हुँदै अहिले ९५० हाराहारीमा विद्यार्थी छन्,’ अधिकारी भन्छन्। 

सामुदायिक विद्यालयको वृत्तिविकासका लागि समुदायसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने उनी बताउँछन्। समुदायसँग राम्रो सम्बन्ध भएकै कारण सामुदायिक विद्यालयमा शुल्क नलिने नीति हुँदाहुँदै पनि निजी स्रोतबाट शिक्षकलगायतको व्यवस्था गर्न अभिभावक सहयोग शुल्क लिइँदै आएको उनी बताउँछन्।

विद्यालयमा अधिकारी सबैका प्रिय शिक्षक थिए। उनले सहकर्मी शिक्षकहरुसँग कहिले उँचो आवाजमा कुरा गरेनन्। रिसाएनन। शिक्षकलाई खुसी पार्न सके पढाइको गुणस्तर सुधार्न सकिने उनको विश्वास थियो। विद्यार्थीहरुलाई माया गरेर पढाउनुपर्छ भनेर उनले अभियान नै सञ्चालन गरे।

‘शिक्षकहरुलाई खुसी पार्ने नीति लिनुपर्दो रहेछ। शिक्षकहरुको मन सन्तुष्ट भएन भने गुणस्तर र विद्यालय दुवै सुध्रिँदैन,’ उनी भन्छन्, ‘उहाँहरुलाई आवश्यक सामग्रीहरु किनिदिने, विद्यालय सुधारका कार्यक्रममा सामेल गर्ने, सानोतिनो जिम्मेवारीहरु दिने गर्नुपर्छ। मेरो १७ वर्षे प्रध्यानाध्यापकको करिअरमा कसैसँग झगडा परेन। मसँग नबोल्ने, मेरो कुरा काट्ने पनि कोही हुनुहुन्छ जस्तो मलाई लाग्दैन।’ 

अधिकारी शिक्षण पेसालाई जागिरभन्दा पनि सेवा मान्छन्। आफूले पढाएका विद्यार्थीहरु यस्तो भए भनेर देख्न सकिने नतिजामुखी पेसा भएको उनी बताउँछन्। 

‘म अधिकृत वा खरदार भएको भए त्यहाँ आफ्नो अवस्था सुधार गर्थेँ होला तर देखाउनसक्ने योगदान हुँदैन थियो,’ उनी भन्छन्, ‘अहिले मैले पढाएका विद्यार्थीहरु निजामती, स्वास्थ्य, बैंकिङ, अध्यापन लगायत विभिन्न क्षेत्रमा छन्। त्यो देख्दा यो हाम्रो उत्पादन हो, रोपेको फल फल्यो भनेर सन्तुष्ट हुन सकिन्छ।’

No description available.

विद्यालयमा हुँदा स्नातक अध्यापन सुरु गराउने, प्लस टूमा विज्ञान विषय र प्राविधिक विषय पढाउने योजना भने पुरा गर्न सकेनन्। प्रयास गर्दागर्दै पनि त्रिविले सम्बन्धन नदिने तथा प्रक्रियागत झन्झटका कारण ती योजना पुरा हुन नसकेको उनले बताए। 

अध्यापनपछिको सेवानिवृत्त जीवन पनि विद्यालयमा कुनै न कुनै किसिमबाट सेवा गरेरै बिताउने उनको योजना छ। 

‘हेर्दाखेरि पनि म बुढोजस्तो पनि देखिन्नँ। कपाल नफुल्दै मेरो जागिर फुलेको छ,’ ठट्यौली शैलीमा अधिकारीले भने, ‘बाँकी जीवन पनि सामाजिक सेवामा बिताउँछु। विद्यालयले चाहेमा सल्लाहकारलगायत भूमिका रही निरन्तर सहयोग गरिरहनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .