समाज


जसको बलबुतामा ठडियो काष्ठमण्डप

जसको बलबुतामा ठडियो काष्ठमण्डप

राजेश शाक्य, चन्द्रमान डंगोल, लक्ष्मीभक्त राजचल र मणिन्द्र श्रेष्ठलगायतले काष्ठमण्डप पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्


यज्ञराज जोशी
चैत २१, २०७८ सोमबार २१:४९, काठमाडौँ

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गरिरहँदा परबाट हेरिरहेका ७५ वर्षीय लक्ष्मीभक्त राजचल प्रफुल्लित थिए। 

तीन वर्ष आठ महिना लगाएर पुनर्निर्माण गरिएको काठैकाठको सत्तल काष्ठमण्डपको काममा लक्ष्मीभक्तका तीन पुस्ताले पसिना बगाएको छ। 

भक्तपुर डिबुछोका राजचल परिवारको पुस्तैनी पेसा सिकर्मी हो। लक्ष्मीभक्तले भक्तपुरको ५५ झ्याले दरबार, पनौती, धुलिखेल, बनेपासँगै भारतको काशीमा रहेका मन्दिर तथा पुरातात्विक सम्पदामा काठको काम गर्दै आएका थिए। 

काष्ठमण्डप पुनर्निर्माण समितिले लक्ष्मीभक्तलाई नै काष्ठमण्डप पुनर्निर्माणका बेला सम्पूर्ण वास्तुकला पुरानोसँग दुरुस्त बनाउने जिम्मेवारी सुम्पिएको थियो। 

लक्ष्मीभक्तले आफ्ना दुई छोरा लक्ष्मीप्रसाद र कृष्णप्रसाद, भाइ, भान्जा र भतिजालाई समेत लगाएर काष्ठमण्डपको थाम, निदाल, मेठ र झ्यालका बुट्टा कुँदेका हुन्। आफूहरुको योगदानबाट काष्ठमण्डप पुरानै शैलीमा निर्माण सम्पन्न हुँदा उनी गद्गद् देखिनु स्वाभाविक थियो।

‘हाम्रो बाजेबराजुले यही काम गर्दै आउनुभएको छ। म एक टुक्रा नमुना हेर्यो भने खुरुर्र त्यहीअनुसारको बुट्टा कुँद्न सक्छु,’ लक्ष्मीभक्तले नेपालखबरसँग भने, ‘मेरा छोरा, भाइ, नातिसम्म आएर यहाँ काम गरेका छन्। नेपालको एक धरोहर निर्माणमा हामीले पनि योगदान दिन पायौँ। त्यसमा सन्तोष लागेको छ।’

काष्ठमण्डप पुनर्निर्माण सुरु हुँदा अरुणा नकर्मी हनुमान ढोका हेरचाह अड्डाकी प्रमुख थिइन्। उनले पुनर्निर्माणका क्रममा पुरातत्व विभाग, स्थानीय तथा निर्माण समितिबीच मध्यस्तकर्ताको भूमिका खेलिन्। 

‘पुरातत्वबाट गर्नुपर्ने साथ सहयोग, पुरातात्विक मापदण्ड पुरा गराउन लगाउने विषयमा मेरो भूमिका रह्यो,’ नकर्मीले भनिन्, ‘अहिले लोकार्पण हुँदा सबैलाई खुसी लागेको छ। नमुनाका रुपमा पुरानै शैलीमा पुनर्निर्माण भएको छ। निर्माण सामाग्रीमा पनि सम्झौता नगरिकन पुनर्निर्माण काम सम्पन्न गरेका छौँ। यो खुसी र गर्वको कुरा हो।’

काष्ठमण्डप बनाउन ठूलो काठ पाउन मुस्किल थियो। त्यो चुनौतीको सामना गरे, तत्कालीन वन मन्त्रालयका सहसचिव चन्द्रमान डंगोलले। 

काष्ठमण्डप निर्माणका लागि आवश्यक काठ बजारमा उपलब्ध थिएन। १८–२० फिटका काठ चाहिन्थ्यो। बजारमा काठ नभएपछि जंगलबाट कटान गरेर ल्याउनुपथ्र्यो। 

‘काठ बजारमा छैन। किन्न पनि पाइँदैन भनेर समितिका मान्छेहरु म कहाँ आउनुहुन्थ्यो,’ डंगोलले भने, ‘मैले काठ यहाँयहाँ छ, यसरी जानुपर्छ भनेर निर्माण समितिलाई गाइडेन्स दिएको हो। त्यसमा समन्वयकारी भूमिका निर्वाह गरेको थिएँ। काष्ठमण्डप निर्माणमा वन मन्त्रालयबाट काठ आपूर्तिमा योगदान गर्न पाएँ। त्यसले खुसी दिएको छ।’

डंगोलको समन्वयमा वन मन्त्रालयको सिफारिसमा २०७५ साउनमा मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको ४०० केभी प्रसारण लाइनका लागि काटिने रुख काष्ठमण्डपलाई दिने निर्णय गरेको थियो। उक्त निर्णयपश्चात समितिको सदस्यहरु महोत्तरी, रौतहट पुगेर काठ छनोट गरेका थिए। 

जसका लागि १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ। प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना थिए भने बाँकी टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो। जसमा डंगोलको महत्वपूर्ण भूमिका रह्यो। 

उनलाई तत्कालिन मन्त्री राजेन्द्र महतो तथा टिम्बर कर्पोरेसनका कर्मचारीहरु कमल मैनाली र सुसन सिंहले साथ दिएका थिए। 

आर्किटेक्ट इन्जिनियर मणिन्द्र श्रेष्ठले प्रोजेक्ट म्यानेजरका रुपमा काष्ठमण्डप पुनर्निर्माणमा भूमिका खेले। पुनर्निर्माण समितिभित्रको प्राविधिक समितिको नेतृत्व उनले गरे। 

‘तीन वर्ष बढी पुनर्निर्माणका क्रममा गर्न पाएको सहयात्रा ठूलो पूण्यले पाएको जस्तो महसुस हुन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘जसले सुरुमा यो बनायो। यसको कल्पना गर्यो। वास्तवमा उनीहरु नायक हुन्। हामी पुनर्निर्माण सम्पन्न गरी उनीहरुको निमित्त भएका छौँ।’

प्राविधिक समितिमा रहेका एनी जोसी, विनिता मजगैया, मृतराज शाक्यको नेतृत्व श्रेष्ठले गरेका थिए।

प्रा.डा. प्रेमनाथ मास्के, प्रा.डा. सुदर्शनराज तिवारी, कोशप्रसाद आचार्य, काइ वाईजे, यज्ञमानपति बज्राचार्य, पद्मसुन्दर जोशी, कुलभक्त शाक्य र अरुणा नकर्मीले विज्ञका रुपमा पुनर्निर्माणमा भूमिका खेलेका थिए। 

काष्ठमण्डको पुरातात्विक उत्खनन् गर्ने वैज्ञानिकहरुहरुमा रविन कनिङ्घम र इयान सिम्पसन थिए। यस्तै तुलसीप्रसाद माखास्याले डकर्मीको भूमिका निर्वाह गरेका थिए।

काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व लिएका थिए समिति अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले। सबैको साथसहयोगले पुरानै शैलीमा काष्ठमण्डप निर्माण सम्पन्न गर्न सकेकोमा उनले खुसी व्यक्त गरे। 

२०७२ सालको भूकम्पले ध्वस्त बनेको काष्ठमण्डप सुरुमा १२औँ शताब्दीमा निर्माण भएको विश्वास गरिन्थ्यो। तर, पुनर्निर्माणका क्रममा पाँचौँ शताब्दीको काठ पनि भेटिएपछि यो अझै पुरानो रहेको तथ्य फेला परेको थियो। 

मूल गजुर राख्ने काम गत साउनमै सम्पन्न भइसकेको थियो। साउन दोस्रो साता काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुर भित्र्याइएको हो। गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा. यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो।

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। पुनर्निर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो। निर्माणका लागि कामपाले ११ करोड ५० लाख रुपैयाँ खर्च भएको निर्माण समितिले जनाएको छ। 

ऐतिहासिक मान्यताअनुसार काठमाडौंको नाम यही काष्ठमण्डपबाट रहेको हो। सुरुमा स्थानीयले पुरानै शैलीमा काष्ठमण्डप बनाउनुपर्ने र कङ्क्रिट प्रयोग गर्न नदिने भन्दै विरोध जनाएका थिए। पछि स्थानीयसँगको सहमतिपश्चात पुनर्निर्माण समिति बनाएर काम अघि बढाइएको हो। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिएपछि २०७५ जेठमा महानगरपालिकाले जनताको प्रत्यक्ष सहभागितामा समिति बनाउने निर्णय गरिएको थियो। समितिबाट पारित नक्सा पुरातत्व विभागले स्वीकृत गरेपछि काम अघि बढेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काष्ठमण्डप (मरुसत)को लोकार्पण गरेकी थिइन्। पुनः निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुल्ला गरिएको छ। राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनर्निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गरेकी थिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .