समाज


किन रोकिँदैन वर्षैपिच्छे सयभन्दा धेरैको ज्यान लिने टिपर आतंक?

किन रोकिँदैन वर्षैपिच्छे सयभन्दा धेरैको ज्यान लिने टिपर आतंक?

राधिका अधिकारी
चैत २२, २०७८ मंगलबार १७:५३, काठमाडौँ

गत चैत १६ गते काठमाडौंको गोकर्णेश्वरमा टिपरले किचेर दुई बालिकाको मृत्यु भयो। बुबासँग मोटरसाइकलमा स्कुल पढ्न हिँडेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङले श्वेतवाराही मन्दिरनजिकै अन्तिम स्वास फेरे। टिपरको ठक्करबाट आफ्ना दुई कलिला छोरीको मृत्यु भएको दृश्य हेर्न बाध्य बाबु रोहन तामाङ अंगभंग भए। 

स्थानीय र परिवारले दुई दिनसम्म बालिकाहरुको शव उठाएनन्। टिपर मालिकले क्षतीपूर्ति स्वरुप ४५ लाख दिने भए। घाइते रोहनको उपचार खर्च बेहोर्ने सहमतिपछि सडकबाट शव उठ्यो। तर एकै पटक आफ्ना दुई सन्तान गुमाएका बाबुआमा पीडाबाट उठ्न कति समय लाग्ला, कसैलाई थाहा छैन।

दुर्घटनापछि पनि चालकले होसियारी अपनाएको भए एउटी बच्चीको ज्यान जोगिन सक्ने स्थिति रहेको प्रत्यक्षदर्शीले बताएका छन्। दुई छोरी गुमाएकी आमा अझै अर्धचेत अवस्थामा छिन्। 

२०७८ फागुनमा दाङको पाखापानीमा साइकलमा सवार यात्रीलाई टिपरले ठक्कर दियो। रा१ख १२८६ नम्बरको टिपरले ठक्कर दिँदा ४० वर्षीया डिला पौडेलको मृत्यु भयो।  साइकलमा सवार पौडेलको मृत्युपछि केही दिन सडक तनावग्रस्त बन्यो। परिवार र टिपर धनीबीच वार्ता भयो। क्षतिपूर्तिपछि घटना सेलायो।

२०७८ चैतमा टिपरको ठक्करबाट नेपालगञ्जमा ६५ वर्षीय वीरबल भण्डारीको मृत्यु भयो। भे १ क ६५७ नम्बरको टिपरले ठक्कर दिँदा हुम्लाबाट नेपालगञ्ज आएका भण्डारीको मृत्यु भयो। भण्डारीको मृत्युपछि स्थानीयले सडक अवरुद्ध गरे। उचित क्षतिपूर्ति र कारबाहीको माग गरे। सहमतिपछि आन्दोलन रोकियो।

टिपरको यस्तो आतंक सुरु भएको वर्षौँ भइसकेको छ। जसका कारण वर्षेनि सयभन्दा बढीको ज्यान जाने गरेको प्रहरीको भनाइ छ। कुनैकुनै दुर्घटनापछि यो आतंकविरुद्ध आवाज उठ्ने गरे पनि टिपरका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को ११ महिनामा देशभर ५ हजार ७ सय ५१ सवारी दुर्घटनामध्ये ४ सय १५ टिपर तथा ट्रक दुर्घटना भएका छन्। सो वर्ष टिपर दुर्घटनामा मात्रै  १ सय ६८ जनाले ज्यान गुमाएका थिए।

२०७५/२०७६ मा देशभर ७ सय १९ टिपर दुर्घटना भए। २०७६/७७ मा ७ सय ८० टिपर दुर्घटना भएको देखिन्छ। बागमतीमा सबैभन्दा धेरै ८८ टिपर दुर्घटना भए।

२०७७/२०७८ मा मात्रै देशभर ५ सय २ टिपर दुर्घटना भएको ट्राफिक महाशाखाले जनाएको छ। जसमध्ये इटहरीमा सबैभन्दा धेरै टिपर दुर्घटना भएका छन्। सुदूरपश्चिम र कर्णालीमा ५/५ टिपर दुर्घटना भएको प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ। टिपर लगायत सवारी दुर्घटनामा २०७७/२०७८ मा देशभर १ हजार ८ सय ८८ जनाले ज्यान गुमाएका छन्। यो वर्ष दुर्घटनामा ज्यान गुमाउने बालबालिकाको संख्या १ हजार ३४ जना रहेका छन्। 

टिपरबाट ज्यान गुमाउनेमध्ये अधिकांश मोटरसाइकल, स्कुटर चालक तथा पैदल यात्री छन्।

प्रहरी महाशाखाको तथ्यांक हेर्ने हो भने ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रामा धेरै टिपर दुर्घटना भएको देखिन्छ। मरुभूमि, चट्टानी बाटो तथा ‘अफरोड’का लागि बनाइएका टिपर व्यस्त र मध्ये सहरमा कुदाउँदा दुर्घटना बढिरहेको प्रहरी महाशाखाले जनाएको छ। एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) नभएका, ठूला पांग्रा भएका, ६ सिलिन्डर सहित हाइड्रोलिक इन्जिनयुक्त यस्ता टिपरहरू सहरी बाटोमा गुडाउनु प्राविधिक रुपमै गलत भएको विज्ञहरु बताउँछन्। 

चालकले दायाँबायाँ र टायरसम्म सजिलै देख्न सक्ने ढोका, चारैतिरको दृश्य देख्न सकिने ‘३६० डिग्री क्यामेरा’, आकस्मिक ब्रेक प्रणाली, अगाडिपछाडि रहेका गाडीको दुरी थाहा हुने सेन्सरजस्ता कुनै विषेशता नभएका र राम्रोसँग मर्मत समेत नगरिएका टिपर कुदाउने गरिएकाले दुर्घटना बढेको महाशाखा बताउँछ। 

‘ग्राउन्ड क्लियरेन्स’ बढी भएका कारण टिपर चालकले दायाँबायाँ वा अगाडि दुई मिटरसम्म नदेख्ने भएकाले पनि बढी दुर्घटना हुने गरेको छ। 

त्यस्तै, उचित प्रशिक्षण नपाएका, ट्राफिक नियम नमान्ने टिपर चालक, भारी सवारीको गति कति हुने भन्ने मापदण्डको अभावले पनि दुर्घटना बढेको छ। तीव्र गतिकम सवारी कुदाउनेलाई विभिन्न सिन्डिकेटको आडमा कारबाही नदिने अवस्था समेत छ।

नेपालमा मुख्य सहरका व्यस्त सडकमा दैनिक करिब ८ हजार टिपर दिउँसो पनि कुद्ने गरेका छन्।

टिपरका कारण अत्याधिक दुर्घटना बढेपछि २०७५ असार २७ मा गृह मन्त्रालयले उपत्यकाका तीन सहरमा दिउँसो टिपर चलाउन नपाउने नियम बनाएको थियो। राति ८ बजेपछि मात्रै उपत्यकाका सडकमा टिपर कुद्न पाउने भनिए पनि बिहान कति बजेसम्म कुदाउन पाउने भनेर निर्धारण गरिएको थिएन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .