समाज


एकसाथ प्रहरी निरीक्षकमा भर्ना भए, तीनैजना महानिरीक्षक बने

एकसाथ प्रहरी निरीक्षकमा भर्ना भए, तीनैजना महानिरीक्षक बने

फाइल तस्बिर


उजिर कार्की
चैत ३०, २०७८ बुधबार १३:४६, काठमाडौँ

सामान्यतः एउटै मितिमा प्रहरी निरीक्षकमा भर्ना भएका मध्येबाट एकजना मात्रै प्रहरी नेतृत्वमा पुग्छन्। 

त्यसमध्ये पनि पछिल्लो ब्याचले उछिन्दा कतिपय ब्याचका एकजना पनि आईजीपी नबन्न सक्छन्। 

तर, २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट तीनजनाले नेतृत्व गर्ने अवसर पाएका छन्।

शैलेश थापा क्षेत्री नेपाल प्रहरीको तथा शैलेन्द्र खनाल र पुष्पराम केसी सशस्त्र प्रहरीको नेतृत्वमा पुगेका हुन्। 

केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। 

यसअघि २०७४ चैत २७ गते शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। यो ब्याचबाट पूरा कार्यकाल आईजीपी हुने खनाल मात्रै हुन्। 

त्यसपछि शैलेन्द्र थापा नेपाल प्रहरीको आईजीपीमा नियुक्त भए। २०७७ असारमा नियुक्त भएका थापा बुधबार नियुक्त भएका केसीसँगै अनिवार्य अवकाश हुनेछन्। 

उनीहरु दुवैजना ३० वर्षे सेवाअवधिका कारण वैशाख १९ गतेबाट अवकाशमा जाने छन्। 

खनाल भने ३० वर्षे सेवाअवधि बाँकी भए पनि आईजीपीको चार वर्षे कार्यकाल पूरा भएकाले २१ दिन पहिले अवकाश भएका हुन्। 

नेपाल प्रहरीमै भएको भए यो ब्याचबाट एकजना मात्रै आईजीपी नियुक्त हुन्थे। तर, २०५८ सालमा सशस्त्र प्रहरीको स्थापना भएपछि नेपाल प्रहरी र नेपाली सेनाबाट अधिकृतहरूलाई एक तह ​बढुवा गर्दै लगियो।

त्यतिबेला प्रहरी निरीक्षक नै रहेका शैलेन्द्र खनाल र पुष्पराम केसी पनि डीएसपीमा बढुवा भएर सशस्त्र प्रहरीमा प्रवेश गरे। 

केसी र खनाल २०५८ सालको वैशाखमै डीएसपी भएपनि नेपाल प्रहरीमै रहेका शैलेश थापा भने २०५८ माघ १० गते मात्रै डीएसपी भएका थिए। 

त्यसो त सशस्त्र प्रहरीमा गएका ब्याचीहरु २०६१ वैशाखमा एसपीमा बढुवा हुँदा पनि थापाको भने एसपीमा बढुवा हुने पालै आएको थिएन। थापा एसएसपी भइसक्दा पनि थापा डीएसपी नै थिए। 

२०६७ पुस २० गते शैलेश थापा एसपीमा बढुवा भए। तर एक वर्ष पहिले नै उनका ब्याची खनाल र केसी भने सशस्त्रमा एसएसपी भइसकेका थिए। 

शैलेश थापा २०७४ मा ब्याचबाट एक नम्बरमा एसएसपी बढुवा भए। तर सशस्त्रमा गएका उनका ब्याची एआईजी भइसकेका थिए। 

२०६९ जेठमा खनाल र केसी डीआईजीमा बढुवा भएका थिए। २०७४ वैशाखमा एआईजीमा बढुवा भए। त्यही वर्ष चैतबाट खनाल सशस्त्र प्रहरीको नेतृत्वमा पुगे।

तर, यता नेपाल प्रहरीमा पनि डीआईजीबाट बढुवा छिटो अगाडी बढ्यो। २०७६ चैतमा शैलेश थापा एआईजीमा बढुवा भए।

एआईजी भएको तीन महिनामै थापाले नेपाल प्रहरीको नेतृत्व गर्ने अवसर पाए।

थापाले आफ्ना ब्याचका शैलेन्द्र खनाल र पुष्पराम केसीसँग छोटो समय आईजीपीका रुपमा सहकार्य गर्ने अवसर पाए। 

वैशाख १९ पछि यो ब्याचका सबै प्रहरी अधिकारी अवकाश हुनेछन्। यो ब्याचबाट सशस्त्र प्रहरीमा एआईजी रामशरण पौडेल र केसी मात्रै हुन्।

नेपाल प्रहरीमा अहिले पनि एसएसपीदेखि आईजीपीसम्म छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .