अछाममा तीन दशकअघिसम्म छोरीचेलीलाई पढाउने चलन थिएन। पढ्छु भनेर विद्रोह गरे पनि परिवारको कमजोर आर्थिक अवस्थाले रोक्थ्यो।
पढ्ने रहर साँचेर पनि अलपत्र परेका पुराना सपनालाई पूरा गर्न जुटेकी छन्, अछामको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद।
पढ्ने रहर र सिक्ने चाहनालाई न त उमेरले छेक्छ, न त कुनै समस्याले रोक्न सक्छ। इच्छाशक्ति भए जसरी पनि पढ्न सकिन्छ। यसकै उदाहरण बनेकी छन्, ३९ वर्षीय लक्ष्मी।
सानोमा टाढैबाट विद्यालय हेरेर चित्त बुझाएकी उनी अहिले अन्य किशोरीसँगै एसइई दिइरहेकी छन्।
अचेल बिहानै उठेर परीक्षा केन्द्रतिर निस्कनु उनको दैनिकी भएको छ। स्कुलबाट फर्केर उनी हतारहतार पालिकामा पुग्छिन्।
लक्ष्मीलाई अहिले दोहोरो तनाव छ। एकातिर एसइई चलिरहेको छ, अर्कातिर वैशाख ३० गते स्थानीय तहको निर्वाचन आउँदैछ।
‘भर्खरै परीक्षा सकेर घर आएँ। अब खाना खाएर कार्यालयतिर जानुछ,’ लक्ष्मीले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘पालिका अध्यक्षका लागि मेरो उम्मेदवारी छ। पार्टीमा छलफल भइरहेको छ, भोलिसम्म टुंगो लाग्छ।’
उनले गत शुक्रबारदेखि सुरु माध्यमिक तह एसइई परीक्षा ढकारी गाउँपालिका वडा नं. २ को कालिका माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दिइरहेकी छन्।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट ढकारी गाउँपालिका उपाध्यक्ष बनेकी साउदले आमाबुबाको कमजोर आर्थिक अवस्था र छोरी नपढाउने चलनका कारण विद्यालय शिक्षा लिन पाइनन्।
‘परिवारको कमजोर आर्थिक अवस्था, टाढाको विद्यालय र छोरी चेलीलाई धेरै नपढाइ बेलैमा बिहे गरिदिने कारण बालककालमा अध्ययन गर्ने अवसर जुरेन,’ उनले भनिन्, ‘अहिले पढ्ने मौका पाउँदा खुसी लागेको छ।’
त्यतिबेला गाउँमा ५ कक्षासम्मको विद्यालय थियो। तर छोरालाई पढाउने, छोरीलाई नपढाउने चलन समाजमा व्याप्त रहेको उनले सुनाइन्।
‘छोरी त खेतबारीकै काम गर्ने, कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई वस्तु चराउँदै बस्थे,’ साउदले भनिन्, ‘म जेठी छोरी थिएँ, त्यसैले ठूलो जिम्मेवारी थियो।’
भारतको गोवामा जन्मिएकी लक्ष्मीको बाल्यकाल अछामको मंगलसेनमा भाइबहिनी हुर्काउँदै, आमाबुबालाई सघाउँदै बित्यो।
सामान्य परिवारमा हुर्किएकी उनले त्यसबेला प्रौढ शिक्षा पढिन्। परिवारमा निकै संघर्ष गरेर गाउँकै ज्ञानदीप प्राविबाट ५ कक्षा उत्तीर्ण गर्दा उनी १७ वर्षकी थिइन्। त्यसलगत्तै १८ वर्षको उमेरमा विवाह भयो।
त्यसताका परिवारले रोजेकै केटासँग विवाह गरिदिने चलन थियो। तर, उनले आफैँले चाहेको रोजेर विवाह गरेकी थिइन्। ‘त्यसताका हामीले मोबाइल फोन कस्तो हुन्छ देखेका थिएनौँ, चिठीबाट कुरा हुन्थ्यो,’ उनी सम्झिन्छिन्।
पढ्ने रहर हुँदाहुँदै बिहेपछि उनी घरायसी समस्यामा रोकिइन्। विद्यालय छुटेपछि बिहे गरेकी उनले छोराछोरी हुर्काउँर्दै पढिन्। परिवारको जिम्मेवारीसँगै पालिका उपाध्यक्षको जिम्मेवारी थपियो। जनप्रतिनिधि भएपछि पनि उनले निरन्तर कक्षा ९ र १० पढिन्।
पति प्रकाश सावदको साथले थप शिक्षाको अवसर मिलेको छ। ‘दृढ इच्छाशक्ति र परिवारको साथ पाए असम्भव भन्ने केही नहुने रहेछ’, उनी भन्छिन्।
लक्ष्मीले पालिका उपाध्यक्ष भएदेखि नै निरन्तर ९ र १० उत्तीर्ण गरेकी हुन्। उपाध्यक्ष भइसकेपछि शिक्षाको महत्व बुझिन्।
पढेका र नपढेकाबीचको अन्तर अनि जनप्रतिनिधि भएपछि बुझिन्। पढ्दाको सजिला, असजिला नजिकैबाट नियालिन्। तालिम, गोष्ठीमा जाँदा पढ्नुपर्छ भन्ने सोच आइरह्यो।
‘सानै उमेरमा विवाह भए पनि मैले पढाइको रहर त्यागेकी थिइनँ’, उनी भन्छिन्, ‘पालिका उपाध्यक्षको जिम्मेवारी पाएपछि झन् शिक्षाको महत्व बुझेँ।’
अझै पनि उनी पढाइलाई निरन्तरता दिन चाहन्छिन्। ‘नियमित स्कुल जान अब गाह्रो छैन’, लक्ष्मी भन्छिन्, ‘पढ्न श्रीमान् र ससुरासँगै सिङ्गो परिवारको साथ छ। समाजले जे भने पनि क्याम्पस गएर पढ्छु भन्ने लाग्छ, थप हौसला मिलेको छ।’
कुनै समय सार्वजनिक कार्यक्रममा बस्न र बोल्न डराउने लक्ष्मी यतिबेला सिंगो पालिका हाँक्न तम्सिएकी छन्। टिकट पाउने दाबेदारका रुपमा उनकै नाम अगाडि छ।
साउदले पढ्नलाई उमेरले कहिले नछेक्ने बताउँदै उच्च शिक्षाको इच्छा रहेको बताइन्। आगामी दिनहरुमा पढाइलाई निरन्तरता दिने योजना उनले सुनाइन्। उनी अनुगमनका क्रममा पनि बेलाबेला विद्यालय पुगिरहन्छिन्।
कुनै बेला छोराछोरी पढाएर के हुन्छ भन्ने बस्तीबाट अहिले बदलिएका छन्। मानिस उनै हुन् तर सोचमा परिवर्तन आएको छ। आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन थालेका छन्। यो देख्दा लक्ष्मीलाई खुसी लाग्छ।
‘अहिलेका छोरीले पाएको अवसर मैले ३० वर्षअघि पाएको भए धेरै गर्थेँ। अहिलेका छोरीहरू छोराभन्दा ट्यालेन्ट छन्,’ उनले भनिन्, ‘छोराले जस्तै सपना देख्ने आँट छोरीसँग पनि छ। संख्यात्मक
हिसाबले पनि विद्यालयमा छोरीहरू नै धेरै छन्। सक्रियता पनि कम छैन।’
अहिले उनीसँगै परिक्षा दिइरहेका छोरीहरू देख्दा आफूलाई गर्व लाग्ने उनी बताउँछिन्।
‘कक्षाकोठामा पुरुषभन्दा बढी महिला ट्यालेन्ट छन्। छोरीहरूले छोराले भन्दा धेरै गर्न सक्छन् भन्ने लाग्छ’, उनी भन्छिन्, ‘परीक्षा हलमा पनि छोरीहरू अनुशासित देखिन्छन्। समयमै लेखिसकेर हलबाट निस्कन्छन्। यो देख्दा निकै गर्व लाग्छ।’
Shares
प्रतिक्रिया