समाज


कक्षा १० मा पढ्ने सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

कक्षा १० मा पढ्ने सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १३:१३, धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन्। 

दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए।

‘कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभयो, त्यसपछि गाडी निर्माण गर्न  सकिन्छ भन्ने लाग्यो । अनि दुवै जना मिलेर गाडी बनाएका हौँ’, अर्का विद्यार्थी अधिकारीले भने, ‘हामीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गरेका हौँ।’

केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री  प्रयोग गरेर गाडी तयार गरिएको हो । गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान ग¥यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ। 

सहयोग प्राप्त भए अहिलेको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उनीहरु बताउँछन्। बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ। 

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले  प्रभावित भएको बताए। ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उनको भनाई छ।

गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ। अध्यक्ष उप्रेतीले उहाँहरुलाई नगदसहित सम्मान गरेका हुन्। 

गाडी प्रदर्शन कार्यक्रममा पुग्नुभएका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाएका थिए। 

गाडी बनाउनुभन्दा पहिला उहाँहरुले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .