भक्तपुरको ताथलीस्थित इम्पेरियल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ शिक्षा तथा अत्याधुनिक प्रविधिको प्रयोगबारे अन्तरक्रिया गरिएको छ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन, नेपाल सरकारका पूर्व सचिवहरू, वरिष्ठ प्राध्यापक, इन्जिनियर तथा विभिन्न क्षेत्रका प्राविधिक विज्ञहरूको सहभागिता थियो।
कार्यक्रममा नेपालमा इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयसापेक्ष, प्रविधिमैत्री तथा विश्वस्तरीय बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
साथै नेपाली इन्जिनियरिङ स्नातकहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उद्योग तथा श्रम बजारको आवश्यकताअनुरूप पाठ्यक्रमलाई परिमार्जन गर्ने तथा आधुनिक प्रविधिलाई शिक्षण प्रणालीसँग जोड्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका कलेजका प्राचार्य ई. दिपेन्द्र जम्कट्टेलले जानकारी दिए।
छलफलका क्रममा डिजिटल ट्विन, बिल्डिङ इन्फर्मेसन मोडलिङ तथा कृत्रिम बुद्धिमत्ताजस्ता अत्याधुनिक प्रविधिलाई इन्जिनियरिङ शिक्षामा प्रभावकारीरूपमा समावेश गर्ने उपायबारे समेत विचारविमर्श गरिएको थियो।
कलेजका विभागीय प्रमुख ई. रुपेश यादवका अनुसार इम्पेरियल इन्जिनियरिङ कलेजमा स्थापना गरिएको डिजिटल ट्विन तथा बीआईएम प्रयोगशाला नेपालमै नवीन अभ्यासको सुरुआत भएको उल्लेख गर्दै सहभागीहरूले यसको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए।
उक्त प्रयोगशालाले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको व्यावहारिक ज्ञान, अनुसन्धान तथा उद्योगसँग जोडिएको सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरिएको थियो।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा. डा. जीवराज पोखरेल, नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिस्ट्रार ई. दिलीराज रेग्मी, सहरी विकास विभागका पूर्व महानिर्देशक मणिराम गेलाल, भौतिक योजना तथा निर्माण मन्त्रालयका पूर्व सचिव मधुसूदन अधिकारी लगायत वरिष्ठ प्राध्यापक, इन्जिनियर तथा प्राविधिक विज्ञहरूको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिस्ट्रार तथा इम्पेरियल इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत ई. डा. खेमराज जोशीले गरेका थिए।
यस अवसरमा कलेजले पछिल्ला दुई वर्षको अवधिमा सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङका प्रयोगशालालाई अत्याधुनिक प्रविधिसहित स्तरोन्नति गर्नुका साथै डिजिटल ट्विन, बीआईएमलगायतका नवीन प्रविधि भित्र्याएको जानकारी दिइएको थियो।
साथै विद्यार्थीहरूको समग्र विकासका लागि फुटसलसहित खेलकुद पूर्वाधार समेत विस्तार गरिएको कलेजले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा साढे दुई दशकदेखि इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको इम्पेरियल इन्जिनियरिङ कलेजमा हाल सिभिल इन्जिनियरिङमा ९६ सिट, कम्प्युटर इन्जिनियरिङमा ४८ सिट तथा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङमा ४८ सिट रहेको छ।
कलेजले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार आगामी शैक्षिक सत्र २०८३ का लागि भर्ना प्रक्रिया समेत खुला गरेको जनाएको छ।
Shares

प्रतिक्रिया