ad ad

समाज


विमल मृत्यु प्रकरण : ८ जना नियन्त्रणमा

विमल मृत्यु प्रकरण : ८ जना नियन्त्रणमा

सुमन पुरी
बैशाख २९, २०७९ बिहिबार १५:१४, विराटनगर

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा मृत भेटिएका एमाले कार्यकर्ता विमल कार्की मृत्यु प्रकरणमा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनाको विषयमा सोधपुछका लागि स्थानीय युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईले बताए। 

राईका अनुसार मिक्वाखोला १ स्थित खोक्लिङको भिरमा कार्की सडक भन्दा २ सय मिटर तल भेटिएका थिए। 

उनको शव पोष्टमार्टमका लागि ल्याइँदै गरेको र थप अनुसन्धान भइरहेको राईले बताए। पोष्टमार्टम रिर्पोट नआएसम्म हत्या भएको हो या लडेर मृत्यु भएको हो भन्न नसकिने डीएसपी राईले बताए। 

उनले घर आएका कार्कीसँग भेटघाट भएकाहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। 

उनले भने, ‘अनुसन्धान भइरहेको छ घटनाको सत्य तथ्य चाँडै बाहिर ल्याउने छौँ।’ 

मिक्वाखोला वडा नम्बर १ का वडाअध्यक्ष अमृत बहादुर लिम्बूले विमल हिजो मात्रै गाउँ आएको बताए। उनी एक्साभेटर चालक थिए। 

कार्की एक्साभेटर चलाउन गाउँभन्दा बाहिर रहेको र हिजो मात्रै गाउँ फर्किएकाले हत्या भएको हो या लडेर मृत्यु भएको हो भन्न सक्ने अवस्था नरहेको लिम्बूले बताए। 

उनले मृतक विमलको एउटा हात भाँचिएको र शरीरमा चोट पटक देखिएको जानकारी दिए। 

मिक्वाखोला गाँउपालिकाका अध्यक्ष रामकुमार साँवाले मृतक कार्की एमालेका कार्यकर्ता रहेको बताए। 

उनले भने, ‘कार्की एमालेका कार्यकर्ता हुन्। मत हाल्न गाउँ आएका बेला उनी मृत फेला परेका छन्। घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन हामीले भनेका छौँ।’ 

यसअघि एमाले नेता योगेश भट्टराईले अपहरणपछि यातना दिएर  विमलको हत्या गरिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .