असार ५ गते नेपाल भित्रिएदेखि नै कमजोर अवस्थामा रहेको मनसुन सक्रिय हुन थालेको छ। जसले गर्दा कम्तीमा ३ दिन देशका धेरै स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
‘अब कम्तीमा ३ दिन यो क्रम जारी रहने देखिएको छ’, आज (आइतबार) बिहान उनले नेपालखबरसँग भने।
मौसमविद् पुडासैनीका अनुसार यो खबर बनाउँदासम्म पनि काठमाडौँ उपत्यकाका थोरै स्थानमा वर्षा जारी छ।
‘आज काठमाडौँ उपत्यकामा पनि मौसम खुल्ने सम्भावना कम छ’, उनले भने, ‘केही समयपछि खुल्लाजस्तो भए पनि फेरि बादल लाग्नेछ र दिउँसोपछि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
मौसमविद् पुडासैनीका अनुसार अहिले मनसुन खासगरी बढी सक्रिय कोसी प्रदेशमा छ। त्यसैले कोसी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। यसैगरी मधेस, बागमती र गण्डकी प्रदेशका पनि एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
हेर्नुहोस् आजका लागि मौसम प्रक्षेपण

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कोसी, मधेस र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही ठाउँ र लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानसम्म फैलिएको छ। देशका बाँकी भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै ठाउँ अर्थात् देशभर अब ३-४ दिनमा मनसुन पुग्ने सम्भावना छ।
हेर्नुहोस् ३ दिनसम्मको मौसम प्रक्षेपण

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया