समाज


‘आमा-बुबा, काका-काकी र मामा-माइजुलाई तीर्थ लगेका राजन आफन्तसँगै अस्ताए

‘आमा-बुबा, काका-काकी र मामा-माइजुलाई तीर्थ लगेका राजन आफन्तसँगै अस्ताए

ताराको जहाज दुर्घटनामा ज्यान गुमाएका राजन गोले र उनका आफन्तहरु


शैलेन्द्र महतो
जेठ १६, २०७९ सोमबार १७:४१, जनकपुरधाम

स्थानीय तहको निर्वाचन सकिएपछि घुम्न जाने योजना बुन्दै थिए राजन गोले। नेकपा एकीकृत समाजवादी धनुषाका जिल्ला सदस्यसमेत रहेका राजन चुनावको थकाइ मार्न साथीहरुसँग घुम्न जाने या आमाबुबासहित आफन्तजनलाई तीर्थ लैजाने दोधारमा थिए। 

मिथिला नगरपालिका वडा नं. ११ तुल्सीपाटो लोहटा बस्ने ४० वर्षीय राजन गोले ढल्केवरका साथी सोमप्रसाद शर्मासँग यो विषयमा छलफल गर्दै योजना बुन्दै थिए।

चुनाव सकिएपछि राजन पहिला आमाबुवा, मामामाइजू, काकाकाकीलाई तीर्थ घुमाएर साथीभाइसँगै श्रीमती छोराछोरी लिएर भ्रमणमा जाने निष्कर्षमा पुगे। 

उनका लागि मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर तीर्थ यात्राको मुख्य गन्तव्य बन्यो।

गत शुक्रबार बुवा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङलाई लिएर उनी तीर्थ यात्रामा निस्के। 

घरबाट सबैजना गाडीमै काठमाडौं पुगे। त्यहाँबाट शनिबार यति एयरको विमानबाट पोखरा ओर्लिए र होटलमा बसे। आइतबार बिहान ९ : ५५ बजेको तारा एयरको विमानबाट जोमसोम जाने टिकट लिएका थिए। आ

​आइतबार बिहान ६ः५१ बजे आत्मीय मित्र सोमप्रसाद शर्मालाई राजनले फोन गरे। ‘आज हामी मुक्तिनाथ जाँदै छौं। बिहान ९ बजेको तारा एयरको फ्लाइट छ। हामी अब चिया खाएर एअरपोर्टतर्फ झर्छौँ। उहाँहरुलाई आज मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौं फर्कन्छौं। पर्सि जनकपुर आउँछु,’ यति भन्दै राजनले फोन राखेको सोमले सुनाए। यो नै सोमप्रसादसँग राजनको अन्तिम कुराकानी थियो।

उनीहरु पोखराबाट मुस्ताङका लागि चढेको तारा एयरको नाइन एन एईटी विमान उडेको १५ मिनेटपछि अर्थात १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भयो। यो खबरले सनसनी फैलियो। राजनका घरपरिवार इष्ट मित्र गाउँले सशंकित भए।

आइतबार लामो समयसम्म विमान नभेट्दा दुर्घटना नै भएको आशंका भइसकेको थियो। यो खबरले घरपरिवारसँगै गाउँले चिन्तामा डुबे। सम्पर्कविहीन विमानमा राजनको परिवार रहेको थाहा पाएलगत्तै उनको घरमा आफन्त र गाउँले जम्मा हुन थाले। मधेश सरकारका उद्योग वन पर्यटन मन्त्री सत्रुघ्न महतो पनि पुगे। सञ्चारकर्मीले मन्त्री महतोबाट घटनाबारे बुझ्न खोज्दा उनी भावुक भए। 

प्रिय थिए राजन

मन्त्री महतो नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश संसदीय दलका नेता हुन्। राजन समाजवादीका धनुषा जिल्ला समितिको सचिवालय सदस्य थिए। लामो समयदेखि मन्त्री महतोका प्रिय पात्र थिए राजन।

पहिलो संविधानसभामा महतो स्थानीय विकास राज्यमन्त्री हुँदा राजन उनका निजी सचिवालयमा थिए। अहिले पनि मन्त्री महतोको सचिवालयमै थिए राजन।

शोकाकुल आफन्त एवम् गाउँले

‘राजनको घरपरिवारसँग मेरो पारिवारिक सम्बन्ध छ। राजन पहिला पनि म राज्यमन्त्री हुँदा मेरो निजी सचिवालयमा हुनुहुन्थ्यो। अहिले पनि निजी सचिवालयमा हुनु हुन्थ्यो’, मन्त्री महतोले भने,  ‘राजन प्रायः काठमाडौं बस्दा उताको मेरो काम गर्नुहुन्थ्यो। यो प्लेन दुर्घटना अकल्पनीय हो। हामीलाई ठूलो क्षति पुगेको छ। हामी शोकमा डुबेका छौं।’ 

यति ठूलो विपत्तिको कसैले अपेक्षा गरेका थिएनन्। तर सोमबार बिहान तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो। दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जना सवार थिए।

सबैको मृत्यु भएको छ। राजन गोलेसहित उनका परिवारका सातैजनाले दुर्घटनामा ज्यान गुमाएका छन्।  

राजन लामो समयदेखि सामाजिक काममा सक्रिय थिए। उनको घर काठमाडौंको माकलबारीमा पनि छ। श्रीमती दीपा सुवेदी र दुई छोराछोरीसहित राजन काठमाडौं बस्ने गरेका थिए।

आमाबुबासहित आफन्तको हेरचाह, गाउँको समाजिक कार्य र पार्टीको कामले गाउँ आउने जाने गरिरहन्थे। समाज शास्त्रमा स्नातक गरेका राजन काठमाडौं माकलबारी टोल सुधार समितिका सदस्य, धनुषा काठमाडौं सम्पर्क मञ्चका सदस्य, सल्लाहकार सदस्य, आदिबासी जनजाति परिषद सदस्य भएर गरिब उत्पीडितलाई सहयोगसहित समाज सुधारका कार्यक्रमा सक्रिय रहेको उनका साथी सोमले बताए। 

सोमका अनुसार दुर्घटनामा मृत्यु भएका उनका मामा मकरबहादुर तामाङ स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय लोहटामा २५ वर्ष प्रधानाध्यापक रहेर सेवा गरेका थिए। सामुदायिक वनको विभिन्न तहमा रहेर मकरबहादुर चुरे संरक्षण अभियानमा सक्रिय थिए।

अकल्पनीय जहाज दुर्घटनाले आफ्नो आत्मीय मित्र परिवारजनसहित गुमाउनु पर्दा सोम शर्मा शोकमा डुबेका छन्।

 ‘आमाबुबासहित आफन्तलाई तीर्थ घुमाउने र फर्केपछि हामीसँगै पारिवारिक भ्रमण जाने राजनको सपना अधुरै रह्यो। हामीमाथि बज्रपात भएको छ। हामीसँग शोक मनाउनु बाहेक अरु कुनै विकल्प छैन’ सोमप्रसदले भने,  ‘मेरो मित्रसहित उहाँका मृतक आफन्तजन र दुर्घटनामा ज्यान गुमाएकाहरुको बैकुण्ठबास होस्।’ 

सोमप्रसाद शर्मा पनि मन्त्री महतोका लामो समयदेखिका राजनीतिक सल्लाहकार हुन्। अहिले पनि प्रमुख स्वकीय सचिव छन्। उनी एकीकृत समाजवादीका नेतासमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .