ad ad

समाज


यी १६ यात्रु : जसको मुक्तिनाथ दर्शन गर्ने योजना अधुरै रह्यो

यी १६ यात्रु : जसको मुक्तिनाथ दर्शन गर्ने योजना अधुरै रह्यो

विमान दुर्घटनामा परेकाहरुको शव लिन पुगेका वाहन विमानस्थलमा। तस्बिर : विक्रम राई/नेपालखबर


सागर न्यौपाने
जेठ १६, २०७९ सोमबार १९:१४, काठमाडौँ

वैशाख र जेठ महिना न गर्मी, न जाडो। नेपाली मात्रै होइन, विदेशी पनि हिमाली क्षेत्रमा ट्रेकिङ गर्न, घुम्न र बिदाको समय बिताउन यिनै महिना रोज्छन्।

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर नेपाल र भारतका समेत तीर्थयात्रीका लागि प्रमुख गन्तव्य हो। प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्षअघि दर्शन गरेपछि भारतीय धार्मिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ मुक्तिनाथ। 

आइतवार दुर्घटनामा परेको ताराको जहाजमा चारजना भारतीय पनि सवार थिए। उनीहरू पनि मुक्तिनाथ दर्शनकै लागि ताराको जहाजमा पोखरा हुँदै जोमसोम जाँदै  थिए। 

नेपाल र भारतका धार्मिक पर्यटक पुग्ने मुक्तिनाथमा अन्य मुलुकका नागरिक पनि दृश्यावलोकनका लागि जान्छन्।

आइतबार त्यस्तै भयो। गोरखाका गणेशनारायण श्रेष्ठ, श्रीमती रश्मी, दुई छोरीहरू रोजिना र रविना आइतबार बिहान मुक्तिनाथ दर्शन गर्न जाने तयारीमा बसे।

धनुषाको मिथिला नगरपालिका वडा नं. ११ तुल्सी पाटोका राजनकुमार गोले बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ लिएर मुक्तिनाथ तीर्थ यात्रा गर्न शनिबार पोखरा पुगेका थिए।  

नेपाली मात्रै होइन, भारतको महाराष्ट्र प्रान्त ठाणेका ५४ वर्षीय अशोक त्रिपाठी, उनकी पत्नी ५१ वर्षीया वैभवी बांदेकर त्रिपाठी, २२ वर्षीय छोरा धनुष त्रिपाठी र १८ वर्षीया छोरी ऋतिका त्रिपाठी पनि मुक्तिनाथ दर्शन गर्न आइतबार पोखरा पुगेका थिए।

उनीहरुसँगै दुईजना जर्मन नागरिक पनि थिए। पोखराको भ्रमण सकाएर उनीहरु मुक्तिनाथ र माथिल्लो मुस्ताङमा घुमफिर गर्न जान लागेका थिए।

यी सबैजना जोड्दा १८ पुगे। उनीहरुसँगै मिसिएका थिए आइतबार बिदा परे घुम्न निस्किएका यति एयरकै क्याप्टेन वसन्त लामा। उनी पनि जोमसोम पुगेर फर्किने योजनामा थिए। 

लामासहित सबै गर्दा १९ यात्रु भए। उनीहरु सबैजना आइतवार बिहान ९ बजेर ५५ मिनेटमा तारा एयरको ट्वीनअटर विमान चढे।

ताराको नाइन एन एटीई विमान अनुभवी क्याप्टेन प्रभाकरप्रसाद घिमिरेको नेतृत्वमा उडेको थियो। उनीसँगै फस्ट अफिसर को–पाइलट उत्सव पोखरेल पनि थिए। विमान परिचारिका थिइन् किस्मी थापा।

गोरखाका श्रेष्ठ परिवारका ४, धनुषाका गोले परिवारका ७, भारतको महाराष्ट्रका त्रिपाठी परिवारका ५, जर्मन नागरिक २ र एक पाइलट लामासहित २२ जना लिएर तारा एयरको विमान पोखराबाट जोमसोमको लागि उडेको थियो।

उनीहरु पहिलो उडानबाट बिहानै मुक्तिनाथ जाने तयारीमा थिए। तर विमान व्यस्त र मौसम पनि खराब भएकाले उनीहरु तेस्रो उडानमा परे।

तर, उडेको १२ मिनेटमै अर्थात १०:७ मा विमान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकामाथि रहेको बाक्लो बादलमा पस्यो र बाटो भुलेर बेपत्ता भयो।

बेपत्ता विमान सोमबार बिहानै थासाङ गाउँपालिकाका स्थानीयबासी र यार्सा टिप्न जाने युवाहरुले दुर्घटनाग्रस्त अवस्थामा भेट्टाए। 

मुक्तिनाथ दर्शन गर्न गएका तीन घरका १६ जनाको घटनास्थलमै मृत्यु भयो। मुक्तिनाथ दर्शन गर्ने उनीहरुको चाहना पूरा हुन पाएन। दुर्घटनामा परेर २२ जनाकै बाँकी सपना पनि त्यहीँ सकियो।

अब उनीहरुले कहिले पनि भन्ने छैनन्, ‘मुक्तिनाथ तीर्थयात्रा जाऊँ, दर्शन गरौँ।’

मुक्तिनाथ दर्शन गर्नै नपाई मुस्ताङ थासाङको वडा नम्बर २ सानुसरीमा बिलायो १६ जनाको प्राणपखेरु। उनीहरुसँगै ज्यान गुमाएका सबैको शव पोखरा हुँदै काठमाडौं ल्याइसकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .