ad ad

समाज


सुदखोरको ठगी धन्दा : महोत्तरीदेखि झापासम्म लगानी, २७ जनामाथि मुद्दा

सुदखोरको ठगी धन्दा : महोत्तरीदेखि झापासम्म लगानी, २७ जनामाथि मुद्दा

शैलेन्द्र महतो
जेठ २९, २०७९ आइतबार ८:४६, जनकपुरधाम

महोत्तरीको भंगहा नगरपालिका-५ सिद्धपुरका नामुद मिटरब्याजी (सुदखोर) अनिरुद्ध साहले ठूलो मात्रामा टाढाटाढा सम्मका व्यक्तिलाई ऋण लगानी गर्ने गरेको पाइएको छ।

उनले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा गरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका हुन्। 
 

गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर उनले चर्को ब्याजमा दिने, १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने गर्दै आएका छन्।

यो धन्दामा अनिरुद्ध मात्र सरिक छैन, उनका दाइ लक्ष्मण साहसहित घरपरिवारका सदस्य पनि यो कुकर्ममा सामेल छन्। उनले आफूसहित परिवारका सदस्यलाई पनि साहुको रुपमा खडा गरी कपाली तमसुक बनाएर ऋण लगानी गर्ने गरेका छन्। 

केही व्यक्तिलाई ऋण नै नदिई कपाली तमसुक बनाएर बिल्लीबाठ गरेको घटना नेपालखबरले खुलासा गरिसकेको छ। कतिपय ऋणीसँग साँवा ब्याजसमेत असुलेर उनले अदालतमा मुद्दा दायर गरी घरघडेरी समेत जफत गरेका छन्। 

अनिरुद्धले अन्य साहु महाजनबाट सस्तोमा तमसुक किनेर मुद्दा चलाउने र ऋणीलाई शोषण गर्दै आएका छन्।

जिल्ला अदालत महोत्तरीमा अनिरुद्धले लेनदेनको धेरै मुद्दा ऋणीमाथि चलाएको पाइएको छ । हालसम्म अनिरुद्धले मात्र अदालतमा २७ वटा लेनदेनको मुद्दा हालेका छन् । उनले मुद्दा चलाएका ऋणी (प्रतिवादी) हरु महोत्तरी, धनुषा, सर्लाहीदेखि झापा जिल्लाका समेत रहेको महोत्तरी जिल्ला अदालतको तथ्यांकमा देखिएको छ। 

जिल्ला अदालत महोत्तरीका रजिष्टार मदन जयसवालका अनुसार अनिरुद्धले दर्ता गराएका २७ वटा मुद्दामध्ये १० वटाको दावी पुगेको छ । १० वटा मुद्दा चालु अवस्थामा छन् भने ५ वटा उनले फिर्ता लिइसकेका छन्। एउटा मुद्दा मिलापत्रमा टुंगिएको छ भने एउटा मुद्दा डिसमिस रहेको राजिष्टार जयसवालले जानकारी दिए। 

दावी पुगेको १० जना ऋणीसँग उनले ब्याजको स्याज र जग्गासमेत हड्पेका छन् । पाँचजनासँग व्याजको स्याज लिएर मुद्दा फिर्ता लिएका छन्।  

यी बाहेक धेरै मिटरब्याजसँग सम्बन्धित घटना अनिरुद्धले आफैँ सुल्झाएका छन् । स्थानीयका अनुसार गाउँमा समेत व्याजको स्याज गरेर उनले असुल उपर गर्ने गरेका छन्। 

कतिलाई पहिला नै घरघडेरी पास गरेर अर्थात दृष्टिबन्धक राखेर ऋण दिन्छन् । जसको छिनोफानो उनको आफ्नै हातबाट हुन्छ। करोडौँको सम्पति ऋणीलाई रुवाउँदै उनले कब्जा गरेको स्थानीय पीडित मोहन महतोले बताए। 

त्यति मात्र होइन, ऋण मिनाहा गरिदिने प्रलोभन दिएर र ऋण तत्कालै तिर्नुपर्ने नभए मुद्दा हालेर उठिबास गराइदिने जस्ता धम्की दिएर केही ऋणी महिलालाई उनले यौन सम्बन्धको लागि दबाब दिएको घटना पनि बाहिरिएको छ। 

मिटरब्याजी धन्धा र ऋणीलाई अत्यधिक शोषण गर्दा विरोध गर्ने अनिरुद्धकी श्रीमती संगीता देवी पनि उनीबाट प्रताडित छन् । चर्को ब्याजमा ऋण दिएर गरिबको उठीवास गराइरहेका अनिरुद्धबाट पत्नी संगीता लामोसमयदेखि हिंसामा पर्दै आएकी हुन्। पति अनिरुद्धको हिंसा सहन नसकेपछि संगीता ११ वर्षीया छोरी चम्पासहित ९ वर्षदेखि महोत्तरीको बलबा नगरपालिका स्थित माइतमा शरण लिएर बस्दै आएकी छन् ।

अनिरुद्धको मिटरब्याजी, ठगी, बेइमानी र परस्त्री गमनजस्ता गतिविधिबाट आजित उनले अंशसहित सम्बन्ध विच्छेद माग गर्दै महोत्तरी जिल्ला अदालतमा मुद्दा समेत हालेकी छन्।  

महोत्तरीका मिटरब्याजी अनुरुद्धबाट उनकी पत्नी पनि पीडित, यातना सहन नसकेपछि ८ वर्षदेखि माइतमा

अनिरुद्धले  मिटरब्याजी ऋणको धन्धा गरी गरिब गुरुवा तथा ऋणीहरुको कराडौंको सम्पति जफत गरेका छन् । उनले अकुत सम्पति पनि सोही धन्धाबाट आर्जन गरेको उनका छिमेकीहरु बताउँछन्। 

झण्डै डेढवर्ष अघि नेपालखबरले लगातार अनिरुद्धको मिटरब्याजी सम्बन्धी कालो धन्धाको खुलासा गरेको थियो । ऋणीहरु न्यायका लागि जागरुक भई एकजुट भएका थिए। मिटरब्याजी अनिरुद्धलाई कारबाही गर्नुपर्ने माग गर्दै पीडितहरु पटक पटक जिल्ला प्रहरी र जिल्ला प्रशासनमा पुगेका थिए। 

ऋणीको डेलिगेशन र  सञ्चार माध्यममा अनिरुद्धको धन्धाको एकपछि अर्को खुलासाले प्रहरी उनीमाथि मुद्दा चलाउन बाध्य भयो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले फागुन २०७७ मा अनिरुद्धविरुद्ध ठगी सम्बन्धी जाहेरी दर्ता गरेको थियो । १४ जना पीडितले सामूहिक रुपमा जाहेरी दिएका थिए। 

तर, जाहेरी दर्ता भएको लामोसमयसम्म प्रहरीले उनलाई पक्राउ गरेन । केही महिना पश्चात प्रहरीले अनिरुद्धविरुद्ध जिल्ला अदालत महोत्तरीमा ठगी मुद्दा दर्ता गराएयो । तर, मुद्दा दर्ता पश्चात पनि उनलाई पक्राउ गर्न प्रहरीले तदारुक्ता नदेखाएको पीडितहरुको गुनासो छ। 

पीडितहरुका अनुसार उनी पैसाको धाक लगाउँदै प्रहरी प्रशासनले केही पनि गर्न नसक्ने भन्दै खुलेआमा घुमिरहे । मुद्दा दर्ता भएको केही महिनापछि जनकपुरको अन्नपूर्ण होटेलमा अनिरुद्धले महोत्तरीका तत्कालीन प्रहरी उपरीक्षकसँग भेट गरेका थिए। 

त्यसको समन्वय एक नेताले गरेका थिए । त्यसपछि केही दिन पश्चात अनिरुद्ध अदालतमा हाजिर भएर १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएका थिए । गरिबको लाचारीको फाइदा उठाउँदै उनले लामो समयदेखि यो धन्धा चलाएका छन्। 

तर पनि कारबाहीको दण्डाबाट उनी अहिलेसम्म उम्किँदै  आएका छन् । अदालतले पनि न्याय दिलाउन  ढिलाई गरेको पीडितहरुको गुनासो छ।  

महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले मिटरब्याजी अनिरुद्धको ठगी सम्बन्धी मुद्दा दर्ता भएर अदालतमा रहेकाले विचाराधीन मुद्दामा प्रहरीले अहिले केही गर्न नमिल्ने बताए।
 
मिटरब्याजी अनिरुद्ध साह लगायतका मिटरब्याजीमाथि कारबाही हुनुपर्ने आवाज शुक्रबार प्रतिनिधिसभा बैठकमा उठेको थियो ।

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले अनिरुद्ध लगायत मिटरब्याजीहरुमाथि कारबाही हुनुपर्ने माग गरेका थिए।

यी हुन् अनिरुद्धले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएका ऋणी

१. आशादेवी बातर, भंगहा नगरपालिका ९, महोत्तरी
२. फेवी देवी, भंगहा नगरपालिका ३
३. भविया देवी, भंगहा नगरपालिका २
४. सुरेन्द्र कापर बरही, भंगहा नगरपालिका ६
५. सज्जन मुखिया, भंगहा नगरपालिका ५
६. राजनारायण यदव, भंगहा नगरपालिका ५
७. रामपृत सदा, भंगहा नगरपालिका ३
८. बेचन धानुक, भंगहा नगरपालिका ५
९. जयनाथ मण्डल, भंगहा नगरपालिका ५
१०. रमेश मण्डल, भंगहा नगरपालिका ५
११. सुनिल यादव, भंगहा नगरपालिका २
१२. चन्दा देवी यादव, भंगहा नगरपालिका ७
१३. जयराम प्रसाद सिंह, बटेश्वर गाउँपालिका २, धनुषा
१४. सन्तोष कुमार महतो, बटेश्वर गाउँपालिका १, धनुषा
१५. गंगाकुमार महता बटेश्वर गाउँपालिका १, धनुषा
१६. भगवतीया थरुनी, भंगहा नगरपालिका २, महोत्तरी
१७. शिवशंकर राय यादव, कविलासी नगरपालिका ८, सर्लाही
१८.जगननाथ प्रसाद सिंह, भंगहा नगरपालिका ३, महोत्तरी
१९. बसिरा खातुन, भंगहा नगरपालिका ५
२०. बंगला देवी, जनकनन्दनी गाउँपालिका, धनुषा
२१. सुवोध मण्डल, भंगहा नगरपालिका ३, महोत्तरी
२२. विमला देवी, भंगहा नगरपालिका ३
२३. सत्यनारायण साह, भंगहा नगरपालिका ७
२४. रामलोचन चमार, भंगहा नगरपालिका ८
२५. समसेर कवारी, भंगहा नगरपालिका ५
२६. मोहन महतो, भंगहा नगरपालिका ४
२७. केशव चौधरी, गयलडुंगा, झापा 

मिटरब्याजी अनुरुद्धको ठगीः ऋण नदिई तमसुक मात्र बनाएर गरिबको उठिबास

तमसुक किनेर मुद्दा चलाउँछन् मिटरब्याजी अनुरुद्ध, ऋणी महिलालाई यौन सम्बन्ध राख्न दबाब

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .