ad ad

समाज


सिंह आईजीपी बनेपछि ‘मरेतुल्य’ भएका विश्वराज सोमबारको बहसपछि उत्साहित

सिंह आईजीपी बनेपछि ‘मरेतुल्य’ भएका विश्वराज सोमबारको बहसपछि उत्साहित

उजिर कार्की
जेठ ३०, २०७९ सोमबार २०:०, काठमाडौँ

सर्वोच्चको पूर्ण इजलास नम्बर १, सोमबार बिहान ११ बज्दा खचाखच भइसकेको थियो। दोश्रो तलामा रहेको फराकिलो इजलासभित्र नअटेका कानुन व्यवसायी, प्रहरी, आफन्त र पत्रकार बाहिर पनि भरिभराउ थिए। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडाल रहेको यो इजलासमा धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध परेको रिटको पेसी तोकिएको थियो। 

अवकाश भइसकेका तीन डीआईजीको रिट पनि सँगै राखिएकाले रिट निवेदक नै चार जना थिए। अवकाश भइसकेका तीन डीआईजी र एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका थिए। तीनवटा रिटको सुनुवाइपछि यी रिटको पालो थियो ‘घ’ नम्बरमा। 

अरु रिटको सुनुवाइ हुँदै एआईजी विश्वराज पोखरेल, पूर्वडीआईजी घनश्याम अर्याल र ईश्वरबाबु कार्की इजलासमा उपस्थित भइसकेका थिए। अर्का निवेदक पूर्वडीआईजी प्रकाशजंग कार्की भने सर्वोच्च गएनन्। 

सोमबार पेसी तोकिसक्दा पनि सुनुवाइ हुन्छ भन्ने निश्चित थिएन। इजलासमै पुगेका कानुन व्यवसायीहरु दुई कारणले सशंकित थिए। एउटा, न्यायाधीश कुमार चुडाल इजलासमा पर्नु। अर्को अधिवक्ता भूमिनन्द चुडालले बहसका लागि वकालतनामा बुझाउनु। 

यसअघि जेठ १७ गते पनि इजलासमा न्यायाधीश चुडाल थिए। विश्वम्भरप्रसाद श्रेष्ठ र उनको संयुक्त इजलासमा त्यो दिनको पेसी तोकिएको थियो। तर सुनुवाइ हुन सकेन। कारण थियो अवकाश भइसकेका तीन डीआईजीको रिट पनि लगाउमा राखियो। अर्थात् त्यसको पनि सँगै सुनुवाइ गर्ने गरी तोकियो। 

त्यो रिटको असर एआईजी पोखरेलको रिटमा पर्यो। म्याद तामेली र लिखित जवाफ आइनसकेकाले डीआईजीको रिटमा सुनुवाइ गर्न मिल्ने अवस्था भएन। 

बिदा सकिएको र अवकाशको मिति पनि नजिकिँदै जाँदा विश्वराजको तनाव बढ्दै छ। जेठ २४ मा बिदा सकिएका उनले थप बिदा पाएनन्। धिरजलाई आईजीपी मानेर उनी कार्यालयमा हाजिर हुन तयार छैनन्। 

अर्कोतर्फ सर्वोच्चले रिटको छिटो छिनोफानो नगरे साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन्। एआईजीको ५६ वर्षे उमेर हदका कारण पहिल्यै घर जानु पर्ने अवस्थामा छन्। आईजीपी भए आगामी चैतसम्म सेवामा रहन पाउँछन्। 

उनी १७ गते पनि सुनुवाइका लागि इजलासमा उपस्थित भइसकेका थिए। तर न्यायाधीशले त्यो दिन सुनुवाइ नहुने बताए। त्यसपछि हतास देखिएका पोखरेलले इजलासमै गुनासो पोखे। 

मेरो केही भन्नुछ भन्दै इजलासमा विश्वराजले भने, ‘यसरी त म मारमा पर्ने भएँ श्रीमान्। आउँदो साउन २० गते अवकाशमा जान्छु। मलाई त्यसअघि नै न्याय दिनु पर्यो। मैले न्याय नपाउने अवस्था नआओस्। पदमा हुँदै न्याय मिलोस् भन्ने आशा गरेको छु।’

अन्तरिम आदेश नपाएका विश्वराजलाई शंका लाग्यो– यसैगरी साउन २० कटाउने खेल पो हो कि! बहसका लागि इजलासमा पुगेका उनका कानुन व्यवसायी पनि ‘डीआईजीको रिट लगाउमा राख्दा बर्बाद पर्यो’ भन्दै फर्किए। 

अदालतले पछि डीआईजीको रिटमा ७ दिनभित्र म्याद तामेल गर्न र ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै अर्को सुनुवाइ जेठ ३० गतेका लागि सार्न नपाउने गरी तोकेको थियो। 

इजलासबाट बाहिरिएपछि आफ्ना कानुन व्यवसायी र आफन्तको माझमा उनी निराश सुनिए। त्यसअघि वैशाख २२ गते पनि दुई दिन लगाएर प्रारम्भिक सुनुवाइ गरेको सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएन। अर्को पेसी झण्डै एक महिना पछाडि धकेलिदियो। यसबाट उनलाई झड्का लागेको थियो। 

त्यो दिन पनि उनी खुसी थिएनन्। इजलासको पछाडि निराश मुद्रामा देखिन्थे। खाजा खाने समयमा प्रहरी प्रशासनको भवनमा जान्थे। चिनजानकै सँग पनि हतपत बोल्दैनथे। फर्किएर पनि अन्तिम बेन्चमा बसेर बहस सुने। 

बहसको अन्तिममा न्यायाधीशसँग समय माग गरे। न्यायाधीश सुष्मालता माथेमाले अनुमति दिएपछि इजलासमा उनले भने, ‘२९ वर्षको सेवा अवधिमा आईजीपी नियुक्तिले म मरेतुल्य भएको छु श्रीमान्। ममाथि अन्याय भयो। मभन्दा झण्डै डेढ वर्षपछि एआईजी भएका, मैले नै फूली लगाइदिएकालाई आईजीपी बनाइयो।’

उनले भावुक हुँदै थपे, ‘सरकारको यो निर्णय संगठनमा भोलिका दिनमा जति पनि प्रमुख हुन्छु भनेर आउनेहरुको सपना जतिबेला पनि निमोठिन सक्छ भन्ने उदाहरण हो।’

तर, सोमबार सर्वोच्चमा उनको हाउभाउ फरक थियो। यसअघि घाँडो बनेको डीआईजीको रिटको सुनुवाइमा पनि आईजीपी धिरजप्रताप सिंहको आलोचना भइरहेको थियो। त्यसले पनि उनलाई उत्साहित बनाएको थियो। पहिल्यै एआईजी भइसकेका विश्वराजको त्यहाँ आलोचना भएन।

तीन डीआईजी पक्षका कानुन व्यवसायीले पनि अवकाश भइसकेकाहरुभन्दा सिंह कनिष्ट भएको दाबी गरिरहेका थिए। सिंहलाई त्यतिबेला एआईजी बनाउनु नै गलत थियो भन्ने उनीहरुले इजलासमा तर्क गरे। 

उनीहरुका विपक्षीमध्ये धेरैले बहस नै गरेनन्। बहस गरेका कानुन व्यवसायीले भने रिट निवेदक अवकाशमा गइसकेको र सेवा नै नगरेको पदको सुविधा लिन नमिल्ने बताए। 

डीआईजी पक्षका कानुन व्यवसायीले उनीहरुको अवकाश भइसके पनि एआईजी सरहको सुविधा दिनु पर्ने माग गरेका छन्। बहालमा रहँदै रिट दिएकाले ‘अब ढिला भयो न्याय पाउँदैनौ’ भन्नु गलत हुने तीन डीआईजीका पक्षबाट बहस गर्ने कानुन व्यवसायीको जोड छ। 

आईजीपीको पक्षबाट बहस गर्ने कानुन व्यवसायीले भने अवकाश भइसकेकाले सेवा नै नगरेको पदको सुविधा दिन नहुने बताए। 

सोमबार अन्त्यमा डेढ घण्टा विश्वराज पोखरेलको रिटमा बहस सुरु भएको छ। अझै आधा दिन उनी पक्षकै कानुन व्यवसायीले बहस गर्न इजलासमा समय माग गरेका छन्। पोखरेल पक्षका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस थाल्नुअघि आज बहस गरेपछि अर्को आधा दिन आफूहरुको लागि चाहिने बताए। न्यायाधीशले त्यसमा विमित जनाएनन्। 

सोमबार एआईजी विश्वराजको पक्षबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेलले १७ महिनापहिले एआईजी भएको व्यक्ति हुँदाहुँदै एक महिनापहिले मात्रै एआईजी भएका सिंहलाई आईजीपी बनाउनु गलत भएको बताए। 

कार्य सम्पादन मूल्यांकनमा पनि पोखरेल नै अगाडि रहेको उनको दाबी छ। सर्वोच्चले पोखरेललाई आईजीपी नियुक्त गर्नु भनेर परमादेश जारी गर्नु पर्ने माग गरे।  

सोमबार बहस नसकिएपछि यो रिट हेर्दाहेर्दैमा राखिएको छ। ठिक ५ बजे इजलास अधिकृतले भने, ‘अब असार ५ गते आइतबार अर्को सुनुवाइ हुन्छ।’ 

त्यसपछि आफन्त र कानुन व्यवसायीसँग गफिँदै पोखरेल सर्वोच्च प्रांगणमा झरे। त्यहाँ केहीबेर गफिएपछि उज्यालो अनुहार लाएर उनी बाहिरिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .