ad ad

समाज


एसएसपीको दरबन्दी भएको ठाउँमा सरकारले किन पठायो डीआईजी?

एसएसपीको दरबन्दी भएको ठाउँमा सरकारले किन पठायो डीआईजी?

उजिर कार्की
असार २१, २०७९ मंगलबार १८:३०, काठमाडौँ

सरकारले पदस्थापन भएको २४ घण्टा बित्न नपाउँदै तीन डीआईजीको काज सरुवा गरेको छ, त्यो पनि डीआईजीको दरबन्दी नै नभएको ठाउँमा। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, उपत्यका ट्राफिक महाशाखा र भरतपुर शिक्षालयमा डीआईजीहरुलाई काज सरुवा गरिएको हो। यी तीनै ठाउँको प्रमुखमा दरबन्दी एसएसपीको मात्रै छ। 

विमानस्थलमा डीआईजी श्यामलाल ज्ञवाली, ट्राफिक महाशाखामा मीरा चौधरी र भरतपुर शिक्षालयमा सन्दीप भण्डारीलाई खटाइएको हो। यसअघि उनीहरुको अन्तै पदस्थापन भएको थियो। 

विमानस्थलको जिम्मेवारी पाएका ज्ञवालीको साइबर ब्युरोमा पदस्थापन भएको थियो। डीआईजीको दरबन्दी भएको ब्युरोमा भने एसएसपीले नै निमित्त प्रमुखका रुपमा काम गर्ने भएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएकी डीआईजी मीरा चौधरी ट्राफिक महाशाखा प्रमुखमा काज सरुवा भएकी छन्। यसअघि ट्राफिक महाशाखा प्रमुखमा उमेशराज जोशी कार्यरत थिए। उनी डीआईजीमा बढुवा भएर अन्तै पदस्थापन भएपछि महाशाखा प्रमुख रिक्त भएको हो। 

एसएसपी रिक्त भएको ट्राफिक प्रमुखमा पनि डीआईजी पठाइएको हो। चौधरीले बुधबार महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने भएकी छन्। 

सन्दीप भण्डारीको प्रहरी प्रधान कार्यालय अन्तरगत प्रदेश समन्वय विभागमा पदस्थापन भएको थियो। यहाँ कार्यरत एआईजी पनि गयल छन्। एआईजी विश्वराज पोखरेल आईजीपीविरुद्ध मुद्दा लडिरहेका छन्। बिदा अस्वीकृत भए पनि उनी कार्यालयमा हाजिर भएका छैनन्। मुद्दा हारे साउन २० गते अनिवार्य अवकाशमा जाने भएकाले अब उनी फर्किने सम्भावना कमै छ। 

तर, एआईजीको दरबन्दी रहेको प्रदेश समन्वयमा भने एसएसपीलाई खटाइने भएको छ। यहाँ कार्यरत डीआईजी भण्डारीको भरतपुर शिक्षालयमा काज सरुवा भएको छ।

डीआईजीको दरबन्दी थप्ने तयारी
पहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ट्राफिक महाशाखा र लागुऔषध नियन्त्रण ब्युरो लगायतमा डीआईजीकै दरबन्दी थियो। दरबन्दी कटौती गर्दै यी कार्यालयको प्रमुख एसएसपी रहने निर्णय केपी ओली नेतृत्वको सरकारले गरेको थियो।

ओली सरकारले कटौती गरेका एआईजीका दरबन्दी शेरबहादुर देउवा नेतृत्वको सरकारले बढाउँदै लगेको छ। त्यसो त सुरुमा ३ एआईजीको दरबन्दी बनाएका ओलीले नै पछि २ वटा दरबन्दी थप गरेर ५ पुर्याएका थिए। अहिले देउवाले त्यसलाई ८ मा पु¥याएका छन्। प्राविधिक र्फ प्रहरी अस्पतालमा पनि एआईजी आशा सिंह कार्यरत छिन्। 

सरकारले डीआईजीको पनि दरबन्दी थप्ने संकेत गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले नै नेपाल प्रहरीमा दरबन्दी थप हुने सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्। 

विमानस्थल सुरक्षा र ट्राफिक व्यवस्थापनमा दिनदिनै चुनौती थपिँदै गएकाले डीआईजीको दरबन्दी कटौती गर्न नहुने गृहमन्त्री खाण बताउँछन्। मन्त्रालयका प्रवक्ता सहसचिव फडिन्द्रमणि पोखरेलले पनि अहिले तत्काल दरबन्दी थप नभए पनि सरकार दरबन्दी थप्ने पक्षमा रहेको बताए।

मंगलबार प्रवक्ता पोखरेलले नेपालखबरसँग भने, ‘यी ठाउँमा डीआईजी चाहिन्छ नै। अहिले तत्काल आर्थिक कारणले डीआईजीको दरबन्दी थप नभए पनि ढिलोचाँडो यी कार्यालयमा डीआईजीकै दरबन्दी कायम हुन्छ। पहिले पनि यी कार्यालयमा डीआईजीकै दरबन्दी थियो। अहिले पनि यी स्थानमा जरुरी ठानेर तत्कालका लागि काजमा पठाइएको हो। कामको लोड झन्झनै बढेको छ। तत्काल दरबन्दी सिर्जना गर्न गाह्रो छ। त्यही भएर अहिले काजमा भए पनि खटाइएको हो।’

दरबन्दी नभई यी कार्यालयमा डीआईजीको पदस्थापन गर्न नमिल्ने भएकाले अन्तै पदस्थापन गरेर यहाँ खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

बढुवाका कारण अन्य महत्वपूर्ण कार्यालयहरु प्रमुखविहीन हुँदा यी तीन कार्यालयमा भने दरबन्दीभन्दा माथिल्लो दर्जाका प्रहरी पुग्ने भएका हुन्। विमानस्थल प्रमुख ज्ञवाली र ट्राफिक प्रमुखमा चौधरीले बुधबारदेखि कार्यभार सम्हाल्ने छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .