समाज


चार वर्षपछि सुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य

चार वर्षपछि सुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ८:२६,

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न सुरुवात गरेको छ।

सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर र निजी जग्गा भएको ठाउँमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर लिने गरी शुक्रबारदेखि काम सुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए।

‘स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार सुरु गरेका हौँ। नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भैरव स्मृति जोरपाटी बगैँचाबाट विस्तारको काम सुरुभएको छ, यसपछि सानोबजार क्षेत्र हुँदै अघि बढ्छौँ’, उनले भन।

संरचना हटाउन तीनै तहका निर्वाचित जनप्रतिनिधि सडकमा ओर्लिएका थियो। काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णकुमार राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिहरु संरचना भत्काउने कार्यमा सहभागिता जनाएका थिए।

सो सडक खण्ड विसं २०७५ भदौमा कालोपत्र भइसक्नुपर्ने गरी विस्तारका गर्न चार वर्षअघि ठेक्का भएको थियो। पहिलोपटक थपिएको म्याद गत भदौमा सकिएको थियो। यसपछि आगामी असार मसान्तसम्म काम सक्ने गरी दोस्रोपटक म्याद थपिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

सडक विस्तार हुन नसकेपछि पाँच पटकसम्म सडक मर्मत कार्य भइसकेको आयोजनाले जनाएको छ। सडकमा नाली खोल्न नदिएपछि जति पटक मर्मत गरे पनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्यालले बताए।

करिब सात किमी सडक रु ५४ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो। दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ। सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले किनारा क्षेत्रमा बस्न नसकिने स्थानीयवासी रामचन्द्र खतिवडाको गुनासो छ।

यही बाटो भएर पर्यटकीयस्थल सुन्दरीजल हुँदै चिसापानी, हेलम्बु, लाङटाङलगायत स्थानमा पुग्न सकिन्छ। हेलम्बु, लाङटाङलगायत स्थानमा पदयात्रासमेत गर्न सकिने यो सडक चार वर्षदेखि अलपत्र हुँदा पर्यटकमा नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीको दुःखेसो छ।

स्थानीयवासीले नेपाल भ्रमण वर्ष सन् २०२० अगावै सडक कालोपत्र गर्न विगत एक वर्षदेखि माग गर्दै आएका थिए। भ्रमण वर्ष सुरु हुन एक महिना पनि बाँकी नहुँदा बल्ल काम सुरु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad