समाज


सडक विस्तारका लागि गैँडाकोटका तीन हजार रुख काटिने

सडक  विस्तारका लागि गैँडाकोटका तीन हजार रुख काटिने

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ६:२०,

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ।

चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएको हो।

सव डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाका अनुसार सडक विस्तारका लागि गैँडाकोटमा काटिने रुखको छपान सकिएको छ। वन मन्त्रालयबाट आदेश आएपछि छपान भएका रुखको कटान शुरु गरिने कोइरालाले बताए।

रुखलाई दुई तहमा वर्गाीकरण गरी छपानको काम भएको छ। पाँच इञ्च मोटाई भन्दा ठूलो र पाँच इञ्चभन्दा सानो रुखमा विभाजन गरेर छपान गरिएको कोइरालाले बताए।

गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म वनका रुख काटिनेछ। थुम्सीबाट मुकुन्दपुरसम्म हनुमान मन्दिर धार्मिक वन, मुकुन्दसेन सामुदायिक वन, नारायणी सामुदायिक वन र सिद्धीदात्री कोटिहोम धार्मिक वन रहेका छन्। हनुमान मन्दिर धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला ७१२ रुख छपान गरिएको छ भने पाँच इञ्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ। सहायक वन अधिकृत कोइरालाका अनुसार मुकुन्दसेन सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला ८२८ तथा पाँच इञ्चभन्दा साना २०५ रुखमा छपान भएको छ।

त्यसैगरी, नारायणी सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला एक हजार ७१ तथा पाँच इञ्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ। त्यस्तै सिद्धीदात्री कोटीहोम धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला सात तथा पाँच इञ्चभन्दा साना एउटा रुखमा छपान भएको उनले जानकारी दिए। नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि पहिलो खण्डअन्तर्गत नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहाबाट काम शुरु भएको छ।

पूर्व पश्चिम राजमार्गमा पर्ने नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडक विस्तारका लागि दुई खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको छ। पहिलो खण्ड निर्माणको जिम्मा पाएको चाइनिज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रुख छपान गरेसँगै कटानका लागि आदेश कुरेर बसेको छ। रुख कटान आदेश आएसँगै रुख काटेर गैँडाकोटबाट समेत सडक विस्तारको काम शुरु गर्ने कम्पनीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad