ad ad

समाज


भ्रष्टाचार मुद्दा : अख्तियारको इतिहासमै कम सफलता भएको वर्ष

५० प्रतिशत उजुरी काठमाडौंमा
भ्रष्टाचार मुद्दा : अख्तियारको इतिहासमै कम सफलता भएको वर्ष

नेपालखबर
असोज ६, २०७९ बिहिबार ७:५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ। उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता प्राप्त गरेको हो। उक्त आर्थिक वर्षमा अदालतमा दायर मुद्दामध्ये जम्मा ३८ दशमलव ५१ प्रतिशत मात्रै आयोगको पक्षमा फैसला भएको राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख छ। 

आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले गएको आर्थिक वर्षमा अख्तियारको इतिहासमै सबैभन्दा कम सफलता प्राप्त गरेको स्वीकार गरे। उनले आयोगले नै पैसा दिएको घुस/रिसवत लिन हुँदैन भन्ने आधारमा अदालतले फैसला गरेकाले कम सफलता प्राप्त भएको जिकिर गरे। 

आयोगद्वारा प्राप्त विवरणअनुसार पछिल्लो १३ वर्षको दायर मुद्दामध्ये आव २०७५/७६ मा सबैभन्दा बढी सफलता हासिल गरेको छ। उक्त वर्ष ८८ दशमलव २४ प्रतिशत सफलता प्राप्त गरेको उनले बताए। 

उनका अनुसार त्यसपछि क्रमशः सफलता दर (कसुर स्थापित दर) घट्दो क्रममा देखिएको छ। आव २०७६/७७ मा ८४ दशमलव ८ प्रतिशत, आब ७७/७८ मा ७१ दशमलव ६८ प्रतिशत सफलता प्राप्त गरेकोमा गएको वर्ष घटेर ३८ दशमलव ५१ प्रतिशतमा झरेको हो।

गएको वर्ष कूल छ सय ३९ प्रतिवादी बनाएर १ सय ३१ मुद्दा दर्ता गरेको आयोगले जनाएको छ। उक्त दायर मुद्दामा कूल रु २ अर्ब ७९ करोड बिगो कायम गरी मुद्दा दर्ता भएको भण्डारीले बताए। सबैभन्दा बढी घुस/रिसवतसम्बन्धी ३२ मुद्दा दर्ता गरिएको थियो। त्यस्तै झुटा शैक्षिक प्रमाणपत्रसम्बन्धी ६, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ७, सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी ३५ गैरकानुनी लाभ तथा हानीमा ३४, राजस्व चुहावटमा ५ र अन्यमा १२ मुद्दा दर्ता भएका छन्। 

उक्त दायर मुद्दामध्ये गैरकानुनी लाभ तथा हानी पुर्‍याएको कसुरमा सबैभन्दा बढी ३२२ लाई प्रतिवादी बनाइएको छ। त्यसपछि सार्वजनिक सम्पत्तिको हानि-नोक्सानीमा १ सय ३६ जनाविरुद्ध मुद्दा चलाइएको छ। रिसवत/घुसमा ५२, झुटा शैक्षिक प्रमाणपत्रमा ८, गैरकानुनी सम्पत्तिसम्बन्धीमा १९ राजस्व चुहावटमा ४२ र अन्यमा ६० लाई प्रतिवादी बनाइएको थियो। 

ती मुद्दामा दुई पूर्वमन्त्री, तीन विशिष्ट श्रेणीका कर्मचारी, एक सय १५१ अधिकृत, एक सय ५९ सहायक कर्मचारी र एक सय ५१ जना निर्वाचित मनोनीत प्रतिनिधि प्रतिवादी छन्। मतियाररविचौलिया गरेको आरोपमा एक सय ७४ विरुद्ध मुद्दा दर्ता भएको छ।  

सङ्घीय मामिलामा बढी उजुरी

आयोगले दिएको जानकारीअनुसार अख्तियारमा परेको उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय तहसमेत) विरुद्ध बढी उजुरी परेको छ। आयोगका अनुसार उक्त विषयगत क्षेत्रसम्बन्धी ३३ दशमलव १ प्रतिशत उजुरी परेको छ।

त्यसपछि शिक्षासम्बन्धीमा १५ प्रतिशत उजुरी परेको छ। भूमि प्रशासनमा ७ दशमलव ७, वन तथा वातावरणमा ४ दशमलव ६, स्वास्थ्यसम्बन्धी ४, भौतिक पूर्वाधार तथा यातायातसम्बन्धी ३ दशमलव ९, गृह प्रशासनसम्बन्धी ३ दशमलव ८, पर्यटन उद्योग तथा वाणिज्यमा ३ दशमलव २, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी ३ दशमलव ३, अर्थसम्बन्धी २, कृषि तथा पशुपन्छीमा १ दशमलव ९, नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ५ दशमलव ७, सञ्चार तथा सूचना प्रविधिसम्बन्धी १, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ४ दशमलव ८ र अन्य ३ प्रतिशत उजुरी परेको जनाइएको छ। 

मधेस प्रदेश क्षेत्रका बढी उजुरी

प्रदेशगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी मधेस प्रदेश क्षेत्रका उजुरी छन्। मधेश प्रदेश क्षेत्रका २४ दशमलव २५ प्रतिशत उजुरी परेको छ। त्यसपछि बागमती प्रदेशका २४ दशमलव १३ प्रतिशत उजुरी रहेको आयोगले जनाएको छ। गण्डकी प्रदेशको ७ दशमलव ६२, लुम्बिनी प्रदेशको १४ दशमलव ०१, कर्णाली प्रदेशको ८ दशमलव १८ र सुदूरपश्चिम प्रदेशको १०  दशमलव २० प्रतिशत उजुरी छन्। 

प्राप्त विवरणमा आव २०७८/७९ मा कूल २४ हजार ३ सय ३१ उजुरी परेकामा १७ हजार १ सय ६९ (७०.६ प्रतिशत) उजुरी फर्छ्याेट भएको छ। त्यसमा ८ हजार ९३ उजुरी त्यसको अघिल्लो आर्थिक वर्षका थिए। फर्छ्याेट गर्न बाँकी ७ हजार १ सय ६२ उजुरी अर्को आर्थिक वर्षका लागि सरेको छ। 

५० प्रतिशत उजुरी काठमाडौैँमा 

आयोगले कूल उजुरीमध्ये आधा काठमाडौँको टङ्गालस्थित केन्द्रीय कार्यालयमा परेको जनाएको छ। केन्द्रीय कार्यालयमा कूल २४ हजार ३ सय ३१ उजुरीमध्ये १२ हजार ३ सय आयोगको केन्द्रीय कार्यालयमा परेको छ। सबैभन्दा बढी २७ प्रतिशत लिखित उजुरी परेको प्रवक्ता भण्डारीले जानकारी दिए। 

उजुरी स्रोतका आधारमा विश्लेषण गर्दा हुलाकमार्फत १७, इमेलबाट १७, बेवसाइटबाट १३ दशमलव ३, फोनबाट ४ दशमलव ६, समाचारपत्रमार्फत १ दशमलव ८ तथा फेसबुक, भाइबर, एसएमएसलगायतबाट अन्य उजुरी परेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .