ad ad

राजनीति


प्रतिनिधिसभाको ५ वर्ष : ११ वटा अधिवेशन, ३६२ बैठक, १०२ विधेयक पारित

नागरिकता सहित ४ विधेयक प्रमाणीकरणका लागि बाँकी, कुन अधिवेशनमा के भयो?
प्रतिनिधिसभाको ५ वर्ष : ११ वटा अधिवेशन, ३६२ बैठक, १०२ विधेयक पारित

तस्बिर : संसद सचिवालय।


नेपालखबर
असोज ६, २०७९ बिहिबार ७:२४, काठमाडौँ

प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा ११ वटा अधिवेशनमा जम्मा ३६२ वटा बैठक बसेको छ। ती बैठकहरुबाट १ सय २ वटा विधेयक परित भएको संसद सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभाबाट पारित भएका १०२ विधेयकमध्ये ९७ वटा विधेयक प्रमाणीकरण भइसकेको छ। जसमध्ये नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी छिन्। 

अन्य ४ वटा विधेयक अझै प्रमाणीकरण हुन बाँकी रहेको संसद सचिवालयले जनाएको छ। बुधबार (असोज ५)मा ३ वटा यसअघि पारित भएको कारागार विधेयक गरी ४ वटा विधेयक पारित हुन बाँकी रहेका हुन्।

प्रतिनिधि सभाको प्रथम अधिवेशन २०७४ फागुन २१ गते बसेर २०७४ चैत्र २२ गते अन्त्य भएको थियो। पहिलो अधिवेशनमा जम्मा ११ बैठक बसेको थियो। यो अधिवेशनमा कुनै पनि विधेयक पारित नभएको संसद सचिवालयले जानकारी दिएको छ। 

२०७५ वैशाख २३ गते सुरु भइ २०७५ असोज ११ गते सकिएको दोस्रो अधिवेशनमा ७९ वटा बैठक बसेको थियो। सो अधिवेशनमा २३ वटा विधेयक पारित भएको संसद सचिवालयले जानकारी दिएको छ। तेस्रो अधिवेशन २०७५ पुस १५ मा सुरु भएर २०७५ चैत १० मा ४६ बैठक बसेर सकिएको थियो। तेसा्रे अधिवेशनमा १४ विधेयक पारित भएको थियो।

चौंथो अधिवेशन २०७६ वैशाख १६ मा सुरु भएको थियो भने २०७६ असोज २ गते अन्त्य भएको थियो। सो अवधिमा बसेका ६५ वटा बैठकले १८ वाटा विधेयक पारित भएको जानकारी संसद सचिवालयले दिएको छ। 

पाँचौ अधिवेशन २०७६ पुस ४ मा सुरु भइ २०७६ चैत २४ गते २४ बैठक बसेर सकियो। कोरोनाका कारण बन्दाबन्दी सुरु भएको पाँचौ अधिवेशनमा चार वटा मात्रै विधेयक पारित भए। 

२०७७ वैशाख २६ गते सुरु भएर २०७७ असार १८ गते सम्पन्न छैटौं अधिवेशन २६ बैठक बसेर १० वटा विधेयक पारित गर्यो। २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन भयो। २०७७ फागुन ११ मा पुनर्स्थापित भएपछि २०७७ फागुन २३ मा सुरु भएको सातौं अधिवेशन २०७८ वैशाख ६ गते सम्म चलेको थियो। सो अवधिमा ९ वटा बैठक बसेका थिए भने कुनैपनि विधेयकहरु पारित भएनन्।

२०७८ जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन भयो। २०७८ असार २८ गते दोस्रो पटक पनि प्रतिनिधि सभा पुनर्स्थापित भएपछि आठौं अधिवेशन २०७८ साउन ३ गते सुरु भएको थियो। सो अधिवेशन साउन ३२ गते सम्म चलेको थियो। आठौं अधिवेशनमा १० वटा बैठक बसेको थियो भने कुनैपनि विधेयक पारित भएनन्।

२०७८ भदौ २३ गते नवौं अधिवेशन सुरु भएको थियो। कार्तिक १२ गते सम्म चलेको नवौं अधिवेशनमा १३ वटा बैठक बसे। अधिवेशनभर प्रमुख विपक्षी दल एमालेले सबै बैठकहरु अवरुद्ध गरेको थियो। बैठक अवरुद्ध भएपछि बजेट सम्बन्धी तीन विधेयक पारित भएर अधिवेशन सकिएको थियो।

प्रतिनिधिसभाको दशौं अधिवेशन २०७८ मंसिर २८ मा सुरु भएको थियो। सो अधिवेशन २०७८ चैत १ गते सम्म चलेको थियो। दशौं अधिवेशनमा ११ वटा बैठक बसेको संसद सचिवालयको रेकर्डमा छ। दशौं अधिवेशनमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेका थियो। सो अवरोधका कारण यस अधिवेशनमा कुनैपनि विधेयक पारित भएनन्। 

त्यसपछि, २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि २०७९ जेठ ३ गते एघारौं अधिवेशन सुरु भएको थियो। २०७९ असोज १ गते सम्म चलेको यो अधिवेशनमा कुल ६८ बैठकहरु बसे। यस अधिवशेनमा ३० वटा विधेयकहरु पारित भए भने जरुरी सार्वजनिक महत्वका प्रस्तावहरु सहित स्थगन प्रस्तावमा छलफल हुँदा सभामुखको सहजीकरणमा साझा प्रस्ताव समेत पारित भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .