राजनीति


राजीनामा पत्र गोजीमै राखेर फर्किए एमालेका मन्त्री

राजीनामा पत्र गोजीमै राखेर फर्किए एमालेका मन्त्री

सुनिता विष्ट
असार ३२, २०८३ बिहिबार १९:४, हेटौंडा

बागमती प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरू राजीनामा पत्र गोजीमै राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्किएका छन्। 

बिहीबार मन्त्रिपरिषद् बैठकपछि एमालेका मन्त्रीहरू मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने तयारीमा थिए। एमाले केन्द्रबाट निर्देशन आएपछि राजीनामाबाट नगरेर फर्किएका हुन्। 

सरकारबाट बाहिरिने तयारीमा रहेका एमालेका ६ मन्त्रीलाई केन्द्रबाट राजीनामा नदिन निर्देशन आएकाले तत्काललाई राजीनामा रोकिएको एमालेका एक मन्त्रीले बताए। ‘माथि शीर्ष तहमा विभिन्न कोणबाट छलफल चलिरहेको अवस्था छ,’ ती मन्त्रीले भने, ‘सोही कारण आज राजीनामा बुझाएनौं।। शीर्ष तहबाट जे निर्देशन आउँछ, सोही अनुरुप अगाडि बढ्छौँ।’ 

एक एमाले नेताका अनुसार, बागमती प्रदेशका मन्त्रीहरूले दिउँसै सामूहिक राजीनामा दिने तयारी गरिसकेका थिए। 

बागमतीमा हाल कायम रहेका १४ मन्त्रालयमा ६ वटा मन्त्रालय कटौती गरेर शुक्रबारदेखि आठ वटा मात्रै कायम गर्न लागिएको छ। मन्त्रिपरिषद् बैठकको निर्णयलाई कार्यान्वयन गराउन भोलिबाटै आठ वटा मन्त्रालय कायम रहने मुख्यमन्त्री बानियाँले बताए। 

उनका अनुसार मन्त्रीको व्यवस्थापन कसरी गर्ने, र आठ वटा मन्त्रालय कायम कसरी गर्ने भन्ने विषयमा सत्तारुढ दल एमालेसँग छलफल गरेर निर्क्यौल भइसकेको छ। तर उनले त्यसलाई खुलाएनन्। 

कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलका अनुसार, आठ वटा मन्त्रालयमा हाल रहेका सबै मन्त्रीहरू रहनेगरी गृहकार्य भइरहेको छ। मन्त्रालयको कार्यक्षेत्र पुनःवितरण र जिम्मेवारी हेरफेरमार्फत मन्त्रीहरूको व्यवस्थापन गर्ने विकल्पमा छलफल भइरहेको पौडेलले बताए। 

एमाले केन्द्रबाट आएको निर्देशनसँगै एमाले मन्त्रीहरूको सरकारबाट तत्काल बाहिरिने तयारी रोकिएको भए पनि बागमती प्रदेशको सत्ता समीकरण र मन्त्रालय पुनःसंरचनासम्बन्धी अन्तिम निर्णय भने पार्टी नेतृत्वको आगामी निर्देशनपछि मात्रै स्पष्ट हुने भएको छ। 

बागमती प्रदेश सरकारमा एमालेबाट हाल वन तथा वातावरणमन्त्री भरत केसी, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, कृषि तथा पशुपन्छी विकासमन्त्री पौडेल, स्वास्थ्यमन्त्री किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad