कारोबार


निजी क्षेत्रको गुनासोपछि प्रधानमन्त्रीले बोलाए गभर्नर, के-के भयो मौद्रिक नीतिबारे छलफल

निजी क्षेत्रको गुनासोपछि प्रधानमन्त्रीले बोलाए गभर्नर, के-के भयो मौद्रिक नीतिबारे छलफल

नेपालखबर
असार ३२, २०८३ बिहिबार १८:४४, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन निर्देशन दिएका छन्। 

प्रधानमन्त्री शाहले आज गभर्नर पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिषरिषद्‌को कार्यालयमा बोलाएर छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। 

‘मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन प्रधानमन्त्रीले सुझाव दिनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो। 

प्रधानमन्त्री शाहले गभर्नरसँग करिब एक घण्टा छलफल गरेका थिए। 

यसअघि प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीहरुसँग छलफल गरेका थिए। उद्योगी व्यवसायीहरूले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले बैंकिङ र व्यवसायिक क्षेत्रको समस्या सम्बोधन नगरेको गुनासो गरेका थिए। 

प्रधानमन्त्री शाहले असार २४ मा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिहरूसँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए। उक्त छलफलमा उद्योग व्यवसायीहरूले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निजी क्षेत्रले उठाएको माग सम्बोधन नगरेको भनेर प्रधानमन्त्रीसँग गुनासो गरेका थिए। 

त्यसदिन प्रधानमन्त्रीले भोलिपल्ट नै गभर्नरसहित उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको अध्यक्षसहितको छलफल राख्ने बताएका थिए। तर, गभर्नर पौडेल विदेशमा भएका कारण अन्तिम समयमा आएर उक्त छलफल रद्द भएको थियो।

उक्त छलफलमा प्रधानमन्त्री शाहले मौद्रिक नीतिले अप्ठ्यारो पारेको विषयमा राष्ट्र बैंकलाई मौद्रिक नीति नै संशोधन गर्न लगाउने आश्वासन दिएको असार २४ मा छलफलमा सहभागी भएका एक व्यवसायीले बताए।  

प्रधानमन्त्री शाहले आज गभर्नरलाई बोलाएर निजी क्षेत्रले राखेको गुनासोका बारेमा छलफल गरेका हुन्। प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने भएकाले मौद्रिक नीतिलाई सोही अनुसार कार्यान्वयन गर्न गभर्नरलाई भनेका छन्। 

‘प्रधानमन्त्रीज्यूले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिनुभयो,’ प्रधानमन्त्री सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।  

मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्रीले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

‘मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्रीज्यूले गभर्नरलाई आग्रह गर्नुभएको छ,’ सचिवालयले भनेको छ।

यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा  सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नु पनि प्रधानमन्त्रीले गभर्नरलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्रीको कुरा सुनेपछि गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीको सचिवालयका अधिकारीले बताए। 

‘उहाँले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गर्नुभयो,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो। 

सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता पौडेलले प्रधानमन्त्रीसँग व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad