समाज


सरकारी वकिल कार्यालयमा सन्दीपको रुवाबासी

मोबाइल परीक्षण रिपोर्ट बाँकी, अझै म्याद थपिने
सरकारी वकिल कार्यालयमा सन्दीपको रुवाबासी

फाइल फोटाे


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार २१:३०, काठमाडौँ

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अझै केही दिन हिरासतमा राख्ने प्रहरीको तयारी छ। आइतबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। तर अझै अनुसन्धान नसकिएको भन्दै थप म्याद लिने तयारी प्रहरीले गरेको हो। 

यसअघि नै उनको बयान भने सरकारी वकिल कार्यालयले गराइसकेको छ। सन्दीपको बयान तीन दिन गराइएको थियो। उक्त बयान प्रमाणित पनि भइसकेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं श्रोतले जनाएको छ। 

‘उहाँको बयान तीन दिन बोलाएर गरिसकिएको छ। उक्त बयान प्रमाणित पनि भइसकेको छ। उहाँलाई नै पढ्न दिएर ठिक छनि भनेर उहाँले रुजु गरेपछि बयान प्रमाणित गरिएको हो, अब प्रहरीले अन्य प्रमाण संकलनको काम सकेर हामीकोमा ल्याएपछि अध्ययन गरेर अदालतमा दर्ता गर्छौं’, सरकारी वकिल कार्यालयका अधिकारीले भने।

बयानका क्रममा उनले किशोरीले नै बोलाएर गएको बताएका छन्। क्रिकेटर साथी मार्फत चिनजान भएको र किशोरीले १८ वर्ष माथिको भएको बताएको पनि बयान दिएका छन्। 

‘किशोरीले आफ्नो घरायसी समस्या बताउँदा भावुक भएँ। त्यही भएर उनको आग्रहलाई नकार्न नसकेर नगरकोट गएको हो’, सन्दीपले बयानमा भनेका छन्। राति होटलमा एउटै कोठामा सुते पनि आफू रातभर नसुतेको कुर्सीमै बसेको र किशोरी मात्रै बेडमा सुतेको बताउँदै बलात्कारको आरोपको खण्डन गरेका छन्। 

आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको सन्दीपको बयान छ। बयान दिन जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याउँदा उनी धरधरी रोएका थिए। उनले निक्कै हतोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्।

उमेर भर्खरकै भएकाले दोषी ठहर भए पनि जीन्दगी धेरै भएकाले हतोत्साहित नहुन भन्दै सम्झाएका छन्।  

अहिले सन्दीपलाई प्रहरी बृत्त गौशालामा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानका धेरै पाटो सकिए पनि मोबाइलको अप्रेसन डाटा आउन बाँकी रहेको छ। त्यसबाट मोबाइलको कल डिटेल म्यासेज रिकभर लगायत सबै विवरण निस्कन्छ। त्यसका लागि केही दिन समय लाग्ने प्रहरीले बताएको छ। 

अदालतले भने म्याद थप नगरी अब आउँदा अभियोजन पत्रसहित आउन भनेको थियो। तीन दिनअघि मात्रै अदालतले तेस्रो पटक चार दिनको म्याद दिएको छ। त्यसअघि पहिलो पटक सात दिन र दोस्रो पटक ५ दिनको म्याद दिएको थियो। 

तर, सन्दीपलाई ती किशोरीसँग चिनजान गराउने अर्का क्रिकेटरसँग पनि प्रहरीले सोधपुछ गरेको छैन। यस्तै, यही घटनामा जोडिएका अरु दुई जनासँग पनि सोधपुछ गर्न बाँकी रहेको स्रोतले बतायो।

स्रोतका अनुसार प्रहरीले अहिलेसम्म होटलमा गएको सीसीटिभी फुटेज र किशोरीको नागरिकता मात्रै प्रमाणका रुपमा संकलन गरेको छ। 

‘अहिलेसम्म प्रहरीसँग किशोरी नाबालिग हुन् भन्ने बाहेक अन्य प्रमाण देखिएको छैन। प्रहरीलाई पीडित पक्षले नागरिकता उपलब्ध गराएका छन्। त्यसका आधारमा हेर्दा नाबालिग नै भन्ने देखिन्छ। अन्य प्रमाण हामीले खोजेका छैनौं। मिडियामा जन्म दर्ताको विषयलाई लिएर किशोरीको उमेर १८ वर्ष माथी भन्ने सुनेका छौं तर त्यो प्रमाण हामीसम्म आइसकेको छैन। सायद सन्दीप पक्षले त्यो प्रमाण अदालतमा पेश गर्ला’, अनुसन्धानमा संलग्न अधिकारीले भने। 

सन्दीप लामिछानेविरुद्धको मुद्दामा दुवै पक्षले उमेरलाई नै मुख्य आधार मानेका छन्। १८ वर्षभन्दा कमकी किशोरी भएमा सहमतीमै करणी गरेको भए पनि बलात्कार मानिने भएकाले सरकारी वकिल कार्यालयले किशोरी नाबालिग रहेको र घटना भएको भनिएको बेला सन्दीप त्यहीँ रहेको कुरालाई मुख्य प्रमाण बनाएको छ।

यता सन्दीप लामिछाने पक्षले भने किशोरी १८ वर्ष माथी भएको र नागरिकता लगायत कागजातमा उमेर घटाएको विषयलाई जोड दिने तयारी गरेको छ। 

भदौ २१ गते किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोपमा जाहेरी  दिएकी थिइन्। जाहेरी पर्दा विदेशमै रहेका सन्दीप त्यसको एक महिनापछि नेपाल फर्किएका थिए।

आत्मसमर्पण गर्न आएका सन्दीपलाई प्रहरीले असोज २० गते विमानस्थलबाटै पक्राउ गरेर लगेको थियो। पछिल्लो १५ दिनदेखि उनी हिरासतमा छन्। आगामी साता अदालतमा मुद्दा पेश गरिसक्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .