ad ad

समाज


भाइबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउने पर्व ‘भातृद्वितीया’

भाइबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउने पर्व ‘भातृद्वितीया’

जयन्त ठाकुर
कात्तिक १०, २०७९ बिहिबार १६:९, जनकपुरधाम

भाइबहिनीको पर्वहरुमध्ये भातृद्वितीया पर्वको विशिष्ट महत्व छ। भातृद्वितीया पर्व कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन हिन्दु धमावलम्वीहरुले मनाउने गर्छन्। 

भातृद्वितीयालाई यमद्वितीयाका नामले समेत बुझिन्छ। भातृद्वितीया पर्वले भाइबहिनीबीचको प्रेमलाई अझै प्रगाढ बनाउने विश्वास छ। मिथिलाञ्चलमा आज बहिनीले आफ्नो भाइलाई निमन्त्रणा दिई मनाइरहेका छन्।

मिथिलाञ्चलमा यो पर्वका दिन बहिनीले भाइको निधारमा पिठार (चामललाई पानीसँगै पिँधेर बनाइएको लेदो) र सिंदुरको टीका लगाएर  उज्जवल भविष्यको कामना गर्ने गर्छिन्।

भातृद्वितीयाका दिन बहिनीले भाइ आफूभन्दा ठूलो होस् वा कान्छो पूजा गरी निमन्त्रण दिने गर्छिन्। 

सिन्दुर, पिठार, लगाएर कुभिण्डोको फूल, पानको पात, सुपारी र जल भाइको हत्केलामा राखी ‘गंगा नौतैत छथि यमुना के, हम नौतैत छी (भाईको नाम ) भाई के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाइ सभक औरदा बढ़ए’ अर्थात गंगाले यमुनालाई निमन्त्रण दिइन्, गंगा यमुनाको धार जस्तै भाइको आयु बढोस भन्दै हात पखाल्छिन्। बहिनीले पूजा गरेपछि भाइले बहिनीलाई यथाशक्य उपहार दिन्छन् र अन्न ग्रहण गर्छिन्।

भातृद्वितीयामा अरिपनको विशेष महत्व
भातृद्वितीया पर्वको क्रममा बनाइने अरिपन यो पर्वलाई विशेष र पृथक बनाउँछ। यो अरिपन षटदल कमल आकृतिको हुन्छ। 

पिढीको अगाडि कमलको फूल कोरिएको अरिपनमाथि कटोरा राखिएको हुन्छ। अमखोरामा जल राखिएको हुन्छ जसमा पान, सुपारी, कुभिण्डोको फूल आदि राखिएका हुन्छन्। 

त्यही अरिपनमाथि बसाएर भाइलाई पूजा गरिन्छ। दीपावली र छठपर्वकोबीचमै पर्ने यो पर्वले मिथिलाञ्चलवासीको हर्षलाई अझै बढाउँछ। 

दीपावली पर्वलाई लिएर घर आँगन लिपपोत गरिएकै हुन्छ। यद्यपि बहिनी आफ्नो भाइको स्वागतका लागि घर आँगन गाईको गोबरबाट लिपपोत गर्छिन।

भातृद्वितीयाको कथा
यो पर्वबारे एउटा कथा प्रचलित छ। भगवान सूर्य नारायणकी पत्नीको नाम छाया थियो। छायाकै गर्भबाट यमराज र यमुनाको जन्म भएको मानिन्छ। 

यमुना आफ्नो भाइ यमराजलाई अगाध स्नेह गर्थिन्। भनिन्छ यमुनाले पटक पटक आफ्नो भाइ यमसँग आफ्नो घरमाा इष्टमित्रसहित आउन निवेदन गर्थिन।

तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै आउँथे। यसै क्रममा कात्तिक शुक्ल पक्षको द्वितीया तिथि आयो। यमुनाले त्यही दिन भाई यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनवद्ध गरिन्।

यमराजले सोचे, म सबैको प्राण लिन्छु। मलाई कोही घर बोलाउन चाहँदैनन्। बहिनीले यति स्नेहपूर्वक बोलाइरहेपछि उनको स्नेहको मान राख्नु मेरो धर्म हो। 

यमराजलाई आफ्नो घर आएको देखेर यमुना औधी खुशी भइन। यमुना  स्नान र पूजा गरी विभिन्न प्रकारको व्यञ्जन भाइ यमलाई खुवाउन लागिन्। यमुनाद्वारा गरिएको आतिथ्यबाट  यमराज प्रसन्न भएर बहिनीलाई वरदान माग्न भने। 

यमुनाले भाइ यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउन भनिन्। मजस्तै  बहिनीले यो दिनमा आफ्नो भाइलाई आदर सत्कार गरी टीका गर्छिन भने उसलाई तपाईँको भय रहँदैन।

यमराजले तथास्तु भन्दै बरदानसहित यमुनालाई अमूल्य वस्त्राभूषणएर यमलोक फर्के। त्यही दिनबाट भातृद्वितीया पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .