समाज


आधुनिकताले छोएन पशुपालक किसानलाई

आधुनिकताले छोएन पशुपालक किसानलाई

डम्मर बुढामगर
मंसिर १३, २०७९ मंगलबार ८:५८, ढोरपाटन

पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गरिरहेका छन्। उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन। 

एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन्। पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन। उनीहरु परम्परागत शैलीमै पशुपालन गरिरहेका छन्। 

स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गरिरहेको पेसा आफूहरूले अँगालेको बताउँछन्। उनी भन्छन्, ‘नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान।’ 

उनले १८  भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पालेका छन्। उनले पशुपालन गर्न थालेको ४२ वर्ष भयो। आफू नौ वर्षको हुँदादेखि गाईभैँसी र भेँडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउँछन्। उनी अहिले ५१ वर्षका भए। 

‘बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ’, उनले भने, ‘मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैँ निको हुन्छन्।’

स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गरेका छन्। उनी आफ्ना पुर्खाले यही पेसा गरेकाले आफूले पनि अँगालेको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ।’ 

उनले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिएका छैनन्, तर पनि यो व्यवसायले उनलाई सन्तुष्टि दिएको छ। परम्परागत प्राणालीबाट पशुपालन गरिरहेका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन। गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उनी आफैँ ओखतीमुलो गर्छन्।अहिले उनको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन्।

‘माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्’, उनले भने, ‘सामान्य रोगको त उपचार म आफैँ पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन्।’ 

आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने उनी बताउँछन्। ‘यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौँ, कहिलेकाहीँ बाघको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ।’

स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गरिन्। सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने उनी बताउँछिन्। सुनारले भनिन्, ‘हामीहरूलाई केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो।’ 

पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांंश समय गोठमै बस्छन्। पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउँछिन्। 

अर्का पशुपालक तुलबहादुर बुढामगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउँछन्। उनले धेरै भेँडाबाख्रा हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताए। उनले भने, ‘थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु, यति धेरैलाई खोरमा बाँध्न सम्भव नै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ।’

निसीखोलामा उनीहरूजस्ता सयौँ पशुपालक छन्। तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट टाढा छन्। गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिङ्गो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad