ad ad

समाज


उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधन प्रदूषण परीक्षणमा फेल

उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधन प्रदूषण परीक्षणमा फेल

फाइल फोटाे


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १५:१२, काठमाडौँ

काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारी साधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ।

शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो।

आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा वारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ। 

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए। उनले प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने बताए। 

उनले भने, ‘वातावरण संरक्षण ऐन अनुसार सवारी साधनहरुले तोकिएको मापदण्डमा वायु प्रदूषण गरिरहेको छ की छैन भनेर हामीले हेरेको हो। काठमाडौं उपत्यका लगायत धेरै ठाउँमा हिउँदको समयमा वायु प्रदूषण अलि बढ्ने र त्यसमा सवारीसाधनको प्रदूषण पनि अलि बढ्ने भएकाले हामीले यो अभियान शुरु गरेका छौँ। आज हामीले प्रदूषण परीक्षण मात्रै गरेका छौँ। फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएका छौँ। उहाँहरुले बनाएर पुनः वातावरण विभागमा आएर पुनः परीक्षण गराएर पास भएपछि उहाँहरुका कागजपत्रहरु फिर्ता गरिन्छ।’ 

उनले परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए। महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरु प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए। उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरवाही नगर्न आग्रह गरे।

उनले थपे, ‘पहिलो पटकलाई हामीले अहिले जरिवाना गरेका छैनौँ। अहिले पठाएका गाडीहरु पुनः अर्को पटक परीक्षण गर्दा फेल भयो भने वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम वातावरण विभागको महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिबाना हुनसक्ने भन्ने छ। हामी कडाईका साथ कारबाही गर्छौं। चालकहरुले भर्खरै जँचाएको हो भनेका छन्, अब त्यो प्रवृत्ति नहोस् भनेर परीक्षण गरेका हौँ। विगतमा परीक्षण गरिसकेपछि दुरुस्त अवस्थामा नराख्ने प्रवृत्ति देखिएकाले एक पटक दुरुस्त राख्न अवसर दिन्छौँ। त्यसपछि पनि लापरवाही गर्नुभयो भने कारबाही हुन्छ। प्रदूषणसँगै यान्त्रिक अवस्थाका बारेमा र कागजातपत्रको बारेमा पनि ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको छ।’

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ। यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ। यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ। जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६÷६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ। 

त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ। जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ।

परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्वन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .