ad ad

राजनीति


अपाङ्‍गता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन ध्यान दिन आवश्यक : राष्ट्रपति भण्डारी

अपाङ्‍गता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन ध्यान दिन आवश्यक : राष्ट्रपति भण्डारी

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १५:४५, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायले यथेष्ट ध्यान दिनुपर्ने बताएकी छन्।

३१ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुनुपरेको बताइन्।

अपाङ्‍गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सुविधा र अवसरहरूमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्दछ भन्दै राष्ट्रपतिले ‘अपाङ्‍गता भएका व्यक्तिहरूलाई कार्यस्थल, शिक्षण संस्था,  सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर जस्ता स्थानहरूमा सहज पहुँच सुनिश्चित हुने भौतिक संरचना निर्माण गर्न तीन तहका सरकार तथा सम्बद्ध सबैको सक्रियता आवश्यक पर्दछ’ भनेकी छन्।

यस्तो छ राष्ट्रपति भण्डारीको सन्देश
अपाङ्‍गता भएका व्यक्तिहरूको ३१औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
 

अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसंघको अग्रसरतामा तीन दशकअघि प्रारम्भ गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्दछ। अपाङ्गतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणमा समेत रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले हामी सबैलाई अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु।
 

नेपालको संविधानले अपाङ्‍गता भएका नागरिकलाई पहिचान, मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचका साथै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यका सबै क्षेत्रमा विभेदरहित अवसर प्रदान गर्नुपर्ने संविधानको मार्गदर्शन रहेको छ। यसबाट सबै नागरिकले राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता जनाउने मार्ग प्रशस्त भएको छ।
 

संविधानका प्रावधानहरू कार्यान्वयन गर्नका लागि अपाङ्गताको क्षेत्रमा सक्रिय सामाजिक संगठन एवं सरोकारवाला निकायहरूको कार्यलाई समन्वयात्मक रूपले सञ्चालन गर्दै सेवा प्रवाहमा सरलता एवम् एकरूपता ल्याउन तथा अपाङ्‍गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायको यथेष्ट ध्यान जान आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्थामा रहेका अपाङ्‍गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सुविधा र अवसरहरूमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्दछ। साथै, अपाङ्‍गता भएका व्यक्तिहरूलाई कार्यस्थल, शिक्षण संस्था,  सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर जस्ता स्थानहरूमा सहज पहुँच सुनिश्चित हुने भौतिक संरचना निर्माण गर्न तीन तहका सरकार तथा सम्बद्ध सबैको सक्रियता आवश्यक पर्दछ भन्ने मलाई लागेको छ। यसबाट दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्नुका साथै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्न समेत टेवा पुग्नेछ। 
 

अन्तमा, आजको महत्त्वपूर्ण दिनले अपाङ्‍गता भएका व्यक्तिहरू, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपाङ्‍गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र उर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .