ad ad

समाज


रविको नागरिकता र राहदानी विवाद : छानबिन अघि बढाउन प्रहरीलाई सीडीओको पत्र

रविको नागरिकता र राहदानी विवाद : छानबिन अघि बढाउन प्रहरीलाई सीडीओको पत्र

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १६:३४, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो नागरिकताबारे प्रहरीले छानबिन थाल्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले महागनरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएर छानबिन गर्न भनेको हो।

प्रशासनले पत्र पठाएपछि आवश्यक प्रक्रिया अघि बढाउने तयारी परिसरले गरेको छ। 

परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले रविको नागरिकता प्रकरणमा छानबिन थाल्न भन्दै प्रशासनले पत्र पठाएको पुष्टि गरे।

रविले विदेशी नागरिकता लिएर पनि नेपाली नागरिकता नत्यागी राहदानीसमेत निकालेको विषयमा निर्वाचनअघि नै उजुरी परेको थियो।

रविविरुद्धको उजुरीमा निर्वाचन आयोग मौन बसेका बेला प्रशासनको निर्देशनअनुसार प्रहरीले छानबिन प्रक्रिया थालेको हो।  

कुनै पनि नेपाली नागरिकले अन्य देशको नागरिकता वा पीआर लिइसकेपछि नेपालको नागरिकता कानुनत: स्वत: खारेज हुन्छ। 

तर लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता नत्यागेको खुलेको छ। उनले विवादमा परेपछि अमेरिकी पीआर त्यागेको बताएका थिए। 

तर उक्त पीआर त्यागेपछि रविले फेरि नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने थियो। तर त्यसो नगरी उनले अमेरिकी नागरिकता लिनुअघिकै नागरिकता निर्वाचन आयोगमा पेश गरेर उम्मेदवार बनेको आरोप छ।

रविविरुद्ध स्वत: खारेजीमा परिसकेको पुरानै नागरिकताका आधारमा चुनावी मैदानमा उत्रिएर जितेको आरोप छ। यससम्बन्धी उजुरी पर्दा पनि निर्वाचन आयोगले हालसम्म कुनै कारबाही नगरी मौनता साँधेको छ।

आयोगले मौनता साँधेपछि रविविरुद्ध सिधै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी परेको थियो। चितवन २ बाट जितेका उनले यस पटक काठमाडौंबाटै मतदान गरेका छन्।

रविले यसअघि नागरिकता प्रकरणमा प्रश्न उठ्दा हुँदै नभएको कुरामा आफूलाई खेद्ने काम भएको गुनासो गरेका थिए। आफूले प्रक्रिया पूरा गरेर निर्वाचनमा उम्मेदवारी दिएको बताएका उनले अमेरिकी नागरिकता पूरै त्यागेको र नेपालको नयाँ नागरिकता लिए नलिएको केही खुलाएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .