ad ad

समाज


आफ्नो स्वामित्वको सम्पत्ति निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग

आफ्नो स्वामित्वको सम्पत्ति निर्विवाद उपभोग गर्ने व्यवस्था मिलाउन स्काउटको माग

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १५:११, काठमाडौँ

नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। 

स्काउटले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो।

स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि पनि खाली नगराएकोले सो जग्गा खालि गर्नुपर्ने बताइएको छ।

स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भएपनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ।

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले आफूहरुले पटक–पटक सो जग्गा खाली गर्न भनेपनि अटेर गरिएको बताए। अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरुमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालय समेत तोडफोड गरिएको उनले बताए।

स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गरे। उनले बिहीवार नेपाल स्काउट केन्द्रीय कार्यालयको सुरक्षाको लागि बन्द गरिएको गेट प्रहरी प्रशासनको बलमा जबरजस्ती खोलेर तोडफोड भएको बताए।

खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.ले प्रहरी प्रशासनको समेत दुरुपयोग गर्दै नेपाल स्काउट माथि पटक–पटक आक्रमण गरिरहेको अध्यक्ष भण्डारीको भनाई छ। उनले स्काउटको सम्पत्ति कब्जा गर्न खोजिएको भन्दै आफूहरुले कुनैपनि हालतमा त्यस्तो हुन नदिने बताए।

उनले स्काउटमाथि ज्यादती हुँदा र अदातलको समेत अवहेलना हुँदापनि राज्य गम्भीर नभएको आरोप लगाए। उनले  स्काउटको सम्पत्ति फिर्ता गराउन सरकारसँग माग गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .