धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा निरन्तर पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, धादिङले बिहीबार साँझ सूचना जारी गर्दै राजमार्ग दुईतर्फी अवरुद्ध भएको जनाएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएको सूचनामा उल्लेख छ।
प्रशासन कार्यालयका अनुसार पहिरोका कारण सडक क्षेत्रमा उच्च जोखिम कायम रहेकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गरिएको हो। काठमाडौँ भित्रिने तथा बाहिरिने सवारी साधनलाई वैकल्पिक व्यवस्था अपनाउन र सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु, सवारी चालक तथा सरोकारवालालाई आवश्यक सहयोग, समन्वय र जानकारीका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया