नेपाल पत्रकार महासंघ समाचार संकलनका क्रममा बाँके र चितवनका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ बाँके शाखाका अनुसार मंसिर २४ गते शनिबार नेपालगञ्ज म्याराथनको रिर्पोटिङका लागि पुगेका शाखाका पूर्वअध्यक्ष रुद्र सुवेदीसहित खम्ब पुन, रविन्द्र घिमिरे जावेद हल्वाई, गौरव गिरीलगायतका पत्रकारमाथि आयोजक क्रियटिभ हृयाण्ड्सका सौगात विक्रमलगायतले दुर्व्यवहार गरेका थिए।
त्यस्तै मंसिर २५ गते आइतबार महासंघ बाँके शाखाका सहसचिव एवं राप्तीसोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरीलाई राप्तीसोनारी गाउँपालिका–४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा सिक्टा सवडिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिक रूपमा दुर्व्यवहार गर्दै ‘ठीक गरिदिने’ धम्की दिएको बाँके शाखाले जनाएको छ।
यसैगरी महासंघ चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्यलाई मंसिर २५ गते आइतबार नै नारायणगढको क्याम्पाचौरमा भएको सांगीतिक कार्यक्रमको समाचार संकलनका क्रममा कार्यक्रमको जिम्मा लिएको गढी सेकुरिटीका सुरक्षाकर्मीबाट हातपात भएको शाखाले जनाएको छ।
‘नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटना प्रेस स्वतन्त्रताविरोधी हर्कत हुन्’ महासंघले भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ। र, घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares

प्रतिक्रिया