समाज


१ सय २२ चिनियाँलाई न्यायिक हिरासतमा राख्न छलफल हुँदै, अभद्र व्यवहारमा म्याद थप्ने तयारी

१ सय २२ चिनियाँलाई न्यायिक हिरासतमा राख्न छलफल हुँदै, अभद्र व्यवहारमा म्याद थप्ने तयारी

नेपालखबर
पुस ८, २०७६ मंगलबार ६:५२,

प्रहरीले सोमबार नियन्त्रणमा लिएका १ सय २२ चिनियाँ नागरिकको छानबिन तत्काल नटुङ्गिने भएपछि उनीहरुलाई न्यायिक हिरासतमा कसरी राख्ने भन्ने विषयमा प्रहरीको उच्च तहमा छलफल सुरु भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका वृत्तहरुमा रहेका हिरासत कक्षमा राखिएका उनीहरु विरुद्धको अनुसन्धान निचोडमा पुग्न केही समय लाग्ने भएपछि प्रहरी विकल्पको खोजीमा जुटेको हो।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका सबैलाई एकमुष्ट अभद्र व्यवहारमा म्याद थपेर केही दिन राख्ने विकल्प उत्तम भएको सुझाव धेरै प्रहरी अधिकृतहरुको छ।

यसरी कम्तीमा तीनदेखि ५ दिन हिरासत म्याद लिएमा उनीहरुले गरेको कसुर अनुसार वर्गीकरण गर्न सजिलो हुने प्रहरी अधिकारीहरुको बुझाइ छ।

‘ओभरस्टे, साइबर क्राइम र श्रम स्विकृतिबिना काम जस्ता अपराधका बिषयमा वर्गीकरण भइरहेको छ,’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले भने ‘उनीहरुका साथबाट बरामद विद्युतीय उपकरणको जाँच समेत भइरहेको छ।’

प्रहरीका तीन इकाईले नेपालमा बसेर चीन लगायत अन्य देशमा अपराधमा संलग्न रहेका १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो।

चीनमा अनलाइन जुवा खेलाउने, अनलाइन मार्फतै युवतीहरुका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको रकम समेत ह्याक गर्ने समूह सोमबार पक्राउ परेको हो।

तेस्रो देशमा बसेर चीनमा अनलाइन अपराध गर्नेहरुको संख्या बढेपछि चीन सरकारले तिनीहरुविरुद्ध एकसाथ कारबाही अघि बढाएको हो। प्रहरीले सोमबार थालेको कारबाहीमा समेत नेपालस्थित चिनियाँ दूतावासको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ।

गृह उच्च अधिकारीका अनुसार चिनियाँ दूतावासका वरिष्ठ अधिकारीहरुले गृहसँगको समन्वय गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार बालाजु, महाराजगञ्ज र बुढानीलकष्ठमा रहेका आलिसान घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

ब्युरो प्रमुख डीआईजी निरजबहादुर शाहीले छापा मारेका घरहरुबाट ल्यापटप, मोबाइललगायतका सामाग्री नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको बताए। उनले पक्राउ परेकाहरुको अध्यागमन अपराध, साइबर अपराध र अन्य अपराधको यथार्थ विवरण आएपछि अनुसन्धानले दिशा लिने बताए।

‘अहिले शंकास्पद घरहरुबाट एकसय २२ चिनियाँ पक्राउ भएका छन्,’ डीआईजी शाहीले नेपालखबरसँग भने ‘हामीले दूतावासमा समेत खबर गरेका छौं।’

प्रहरीले नियन्त्रणमा लिइएका १ सय २२ जनालाई सोमबार राति वृत्तहरु र परिसरमा राखेर थप सोधपुछ गरिएको थियो।

प्रहरी टोलीले बाँसबारीका दुई घर, मनमैजुका तीनवटा र बुढानीलकण्ठस्थित एउटा घरमा छापा मारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad