समाज


झापाको चारआली जंगलमा दम्पतीको शव फेला

झापाको चारआली जंगलमा दम्पतीको शव फेला

फाइल तस्बिर।


नेपालखबर
पुस ५, २०७९ मंगलबार ८:४३, काठमाडौँ

झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका  शवको पहिचान खुलेको छ। अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो।

लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो। दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

उनका अनुसार पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ। प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ। 

सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ। उनीहरु मेचीनगर–१२ मा डेरा बस्दै आएका थिए।

नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए। सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ। 

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। ‘घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशङ्का गरिएको हो’, उनले भने, ‘शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ।’ 

घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए। दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सोमबार साँझ धरान घोपा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .