चीन सरकारले काठमाडौँमा १ सय २२ जना चिनियाँ नागरिकलाई दुवै देशको संयुक्त कारवाहीमा पक्राउ गरिएको जानकारी दिएको छ।
चीनको विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गेङ सुआङले पक्राउ परेकाहरु सीमापार साइबर अपराधमा संलग्न भएको बताए।
‘मसँग अहिले भएको जानकारीअनुसार ती नागरिकहरु सीमापार साइबर जालसाजीका संदिग्ध हुन्, र त्यस सम्बन्धी विषयमा अहिले अनुसन्धान भइरहेको छ’ प्रवक्ता गेङले भने, ‘यो नेपाल र चीनको प्रहरीले गरेको महत्वपूर्ण कारवाही हो।’
चीनले कानुन कार्यान्वयनसहित, सीमापार अपराध नियन्त्रणमा सहकार्यलाई मजबुत बनाउँदै लगेको पनि उनले बताए।
सोमबार प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
उच्च स्रोतका अनुसार १० दिनअघिदेखि एक चिनियाँ टोली काठमाडौँ आएर उनहरुको गतिविधि निगरानी गरिरहेको थियो।
चीनमा अनलाइन जुवा खेलाउने, अनलाइन मार्फत नै युवतीहरुका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने समेत गरेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले चिनियाँ अधिकारी समेतको सहयोगमा पछिल्लो पक्राउ गरेको हो। प्रहरीले सोमबार थालेको कारबाहीमा समेत नेपालस्थित चिनियाँ दूतावासको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ।
गृह उच्च अधिकारीका अनुसार चिनियाँ दूतावासका विशिष्ट अधिकारीहरुले गृहसँगको समन्वयमा कारबाही अघि बढाएका हुन्।
यो पनि :
कम्बोडिया, भियतनामबाट फुत्केर नेपाल आएका थिए साइबर अपराधमा पक्राउ परेका चिनियाँ

प्रतिक्रिया